मानव तस्करीमा जोडिएका कोशीका पूर्वमन्त्री अधिकारीलाई पार्टीले स्पष्टीकरण सोध्यो, प्रहरीले ल्याएन छानबिनमा

मानव तस्करीमा जोडिएका कोशीका पूर्वमन्त्री अधिकारीलाई पार्टीले स्पष्टीकरण सोध्यो, प्रहरीले ल्याएन छानबिनमा

काठमाडौँ : मानव तस्करीमा जोडिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीबारे उनको पार्टी एमाले सक्रिय देखिन्छ। तर अपराध अनुसन्धान गरिरहेको प्रहरीले भने उनलाई औपचारिक अनुसन्धानको दायरामा ल्याएको छैन।

मन्त्रीपरिषद्बाट निर्णय नै नगराई व्यक्तिगत रूपमा जापान हिँडेका उनी डिपोर्ट भएर नेपाल फर्किएपछि नक्कली कागजको भरमा तीन जनालाई जापान प्रवेश गराउने प्रयास गरेको आरोप लागेको छ उनीमाथि।

प्रहरीको मानव तस्करीमा संलग्न रहेको आरोपमा हिरासतमा ६ जनालाई राखेर अनुसन्धान गरिरहेको छ। उनीहरूको साथबाट फेला परेको सरकारी परिचय पत्र नक्कली भएको खुलिसकेको छ।

मानव तस्करीमा संलग्नको आरोप लागेसँगै अधिकारीले मन्त्रीपदबाट राजीनामा दिएर आफूलाई शङ्का लागेपछि जापानको अध्यागमनबाट फर्किएर आएको र यता प्रहरीलाई आफैँले जानकारी दिएको दाबी गरेका थिए।

तर उनीसहित तीन जनालाई जापानको अध्यागमनले नेपाल डिपोर्ट गरेको थियो। नक्कली सरकारी कागजको भरमा जापान जान हिँडेका तीन जनालाई प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरे पनि तत्कालीन मन्त्री अधिकारीलाई भने छाडेको थियो।

पक्राउ परेका तीन जनाको बयानको आधारमा थप तीन जना पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानमा तीन जनाले १० देखि १३ लाखसम्म बुझाएर जापान गएको खुलिसकेको छ। दुई जनाको साथमा फेला परेको कोशी कानुन मन्त्रालयको कर्मचारीको परिचय पत्र अनि एक जनाको साथमा फेला परेको वडा सदस्यको परिचय पत्र नक्कली भएको कोशी प्रदेश सरकार र सम्बन्धित वडाबाट पुष्टि भइसक्यो।

यो पनि : 

जापानबाट औपचारिक निमन्त्रणा नआएको, कार्यक्रममा उनी अतिथि नरहेको, उनी जापान जानेबारे कोशी सरकारले कुनै निर्णय नगरेको र जापानमा रहेको नेपाली दूतावासका अधिकारीलाई समेत जानकारी नगराई उनी तीन जनासहित जापान गएकोमा कुनै शङ्का रहेन। तै पनि प्रहरीले उनलाई अझै औपचारिक रूपमा अनुसन्धानको दायरामा ल्याएको छैन।

उता पार्टीले भने उनलाई स्पष्टीकरण सोधिसकेको छ। एमालेको कोशी प्रदेशले उनलाई घटनामा संलग्नताबारे स्पष्टीकरण सोधेकोमा उनले जवाफसँगै छानबिन नसकिएसम्म पार्टीको जिम्मेवारीबाट मुक्त गर्न आग्रह समेत गरेका छन्। अधिकारी पार्टीको कोशी प्रदेशको सदस्य हुन्।

कात्तिक २३, २०८१ शुक्रबार २२:४०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।