‘पूर्ण बहादुरको सारङ्गी’ हाउसफुल देखेर ब्याक भयो ‘मिसिङ : केटी हराएको सूचना’ को टिम, कात्तिक ३० मा रिलिज नहुने

‘पूर्ण बहादुरको सारङ्गी’ हाउसफुल देखेर ब्याक भयो ‘मिसिङ : केटी हराएको सूचना’ को टिम, कात्तिक ३० मा रिलिज नहुने

काठमाडौँ : ‘मिसिङ केटी हराएको सूचना’ को  निर्माण टिमले रिलिज मिति रद्द गरेको छ। निर्माण टिमले कात्तिक ३० मा फिल्म रिलिज गर्ने भन्दै प्रचार गरेको थियो।

शुक्रवार फिल्मको टिमले सामाजिक सञ्जालमा हलमा लागिरहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण टिमलाई बधाई दिँदै केटी हराएको सूचनाको रिलिज मिति रद्द गरिएको उल्लेख गरेको छ। अर्को मिति तोकेको छैन।

‘पूर्ण बहादुरको सारङ्गी’ले दर्शकको अभूतपूर्व साथ पाइरहेको अवस्थामा नयाँ फिल्म आउँदा सिनेमा हलले नयाँ फिल्मलाई समेत शो बाँडफाँड गर्नुपर्ने अवस्थाको सृजना हुँदा दर्शकको साथ प्राप्त फिल्मलाई समेत असर पर्ने सम्भावना रहने भएकाले इतिहास कायम गर्ने बाटोमा रहेको फिल्मलाई सहज बनाइदिनु सबैको दायित्व भएको भन्दै ‘केटी हराएको सूचना’को प्रदर्शन मिति पोष्टपोन्ड गरिएको’ निर्माण टिमले उल्लेख गरेको छ।

बिहीबारबाट दोस्रो सातामा प्रवेश गरेको  ‘पूर्ण बहादुरको सारङ्गी’ हाउसफुल चलिरहेको छ। अधिकांश शोहरु फिल्मले लिएको र दर्शकहरूको अकुपेन्सी पनि राम्रो रहेकाले नयाँ रिलिज हुने फिल्मलाई त्यसको नकारात्मक असर पर्ने जोखिम हुन्छ नै। सोही जोखिम देखेर निर्माण टिम रिलिजबाट ब्याक भएको देखिन्छ।

दीपेन्द्र गौचनको निर्देशन रहेको फिल्ममा श्रृष्टी श्रेष्ठ र नाजिर हुसेन मुख्य भुमिकामा छन्। सोही मितिमा अर्को नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ रिलिज हुँदैछ। फिल्मको निर्माण टिम ट्रेलर रिलिज गरेर प्रचारमा सक्रिय देखिन्छ। फिल्मको ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहेको छ। यो फिल्ममा दक्षीण भारतीय कलाकारसँगै नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, रेखा थापा लगायतका नेपाली कलाकारहरु  छन्।

कात्तिक २३, २०८१ शुक्रबार २१:४७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।