क्षतिग्रस्त विपी राजमार्ग पुनः निर्माणमा सात अर्ब लाग्ने, जाइकाले सुरु गर्‍यो स्थलगत अध्ययन

क्षतिग्रस्त विपी राजमार्ग पुनः निर्माणमा सात अर्ब लाग्ने, जाइकाले सुरु गर्‍यो स्थलगत अध्ययन

काभ्रे : असोजमा आएको बाढी पहिरोबाट क्षतिग्रस्त विपी राजमार्ग पुनः निर्माण गर्न जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक टोलीले स्थलगत अध्ययन सुरु गरेको छ। तर जाइकाले सडक पुनर्निर्माणमा सहयोग गर्ने वा नगर्ने निर्णय भइसकेको छैन।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार जाइकाको टोलीले कात्तिक दोस्रो साता र बिहीबार गरेर दुई पटक सडक क्षेत्रको अवस्थाबारे निरीक्षण गर्यो। जाइकाको प्राविधिक टोलीद्वारा दुई पटक अवलोकन निरीक्षण भइसकेको र आगामी डिसेम्बर पहिलो हप्तासम्ममा प्रतिवेदनसहित निर्णय आउने कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए।

उनका अनुसार जाइकाको निरीक्षण–प्रतिवेदनसँगै नेपाल सरकारले पनि पुनः निर्माणको तयारी गरिरहेको छ।  राजमार्ग पुनः निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुता युताकासँग भेटेर सहयोगबारे छलफल गरेका थिए।

‘जाइकाको प्रतिक्रियाको पर्खाइमा पनि छौँ, डिसेम्बर पहिलो हप्तासम्ममा जाइकाको निर्णय आएपछि निर्माण थालिनेछ’, इन्जिनियर योगेशले भने, ‘पुनः निर्माणका ढिला गर्ने पक्षमा छैनौँ, नेपाल सरकारद्वारा तत्कालै निर्माण थाल्ने गरी सरोकारवाला निकायसँग छलफलसँगै सर्वे र डिजाइनको तयारी पनि सुरु भैसकेको छ।’

जाइकाले निर्माण नगरे करिब दुई महिनाभित्र डिभिजन सडक कार्यालयले नै  सडकको पुनः निर्माण गर्न सुरु गर्ने उनले बताए।  उक्त राजमार्गको सडक पुनः निर्माण गर्न सात अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)अन्तर्गत काभ्रेपलान्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडक खण्डको अधिकांश सडक क्षतिग्रस्त छ। बाढी पहिरोले अवरुद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइए पनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले असोज ३० गते देखिनै साँझ छ बजेदेखि १० घण्टा (रातको समय) यातायात सञ्चालनमामा रोक लगाउँदै आएको छ।

केन्द्रीय राजधानी काठमाडौँलाई मध्य पहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुने गरी सञ्चालनमा ल्याइएको छ। 

योगेशका अनुसार प्रधानमन्त्री ओलीसँग राजमार्ग पुनःनिर्माणबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले थप छलफल भइरहेको छ। बाढी पहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको उक्त राजमार्ग सडक विभाग, डिभिजन कार्यालय, राजमार्गअन्तर्गतका स्थानीय तहहरू, नेपाली सेनालगायत सुरक्षाकर्मी तथा स्थानीयको निरन्तरको पहलमा असोज २५ गतेबाट सञ्चालन गरिएको हो।    

पछिल्लो पटक राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको रोशी गाउँपालिका-९ मङ्गलटारस्थित बोक्सीकुनामा डाइभर्सन बनाएसँगै उक्त स्थानमा हाल एकतर्फी सञ्चालनमा ल्याइएको योगेशले बताए।

उनका अनुसार बाढी पहिरोले राजमार्गको काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–६ र रोशी–७ को सीमास्थल चौकीडाँडामा बगाएको करिब दुई सय मिटर सडक पनि अस्थायी रूपमा एकतर्फी खुलाइएको छ।

बाढी पहिरोले चौकीडाँडादेखि सिन्धुलीको सिमास्थल नेपालथोकसम्म क्षति पुर्याएपछि उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक सञ्चालनका लागि राजमार्गको सडक, पुल र कल्भर्टहरू बगेको स्थानमा अस्थायी संरचना निर्माण गरिएको छ। धेरैजसो स्थानमा खोला फर्काएर तथा खोलाको बाटो सोझ्याएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै अस्थायी सडक बनाइएको छ।    

पुनः निर्माण सडक दुई लेनको हुने जनाइएको छ। भत्किएको ठाउँमा खोलाको बगरमै दुई लेनको पुल बनाउने वा भित्ता काटेर सडक बनाउने वा तलबाटै पर्खाल उठाएर सडक तयार गर्ने भन्ने तीन वटा अवधारणामा छलफल भइरहेको योगशले बताए। उनका अनुसार भत्किएका स्थानमा आवश्यकताअनुसार सयदेखि एक सय ५० मिटरसम्मका पुल ठाउँ ठाउँमा बन्नेछन्।    

कार्यालयका अनुसार रोशी खोलाको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म २१ किलोमिटर सडक खण्डको १४ स्थानमा करिब दस किलोमिटर सडक क्षतिग्रस्त गराएको थियो।

राजमार्गको कुल एक सय ६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको कार्यालयले जनाएको छ।

जाइकाद्वारा निर्मित उक्त राजमार्ग सडक निर्माण गर्दा प्रति किलोमिटर ३५ करोड लागत लागेको थियो। जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३-५४ बाट विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो।

राजमार्ग खण्ड खण्ड विभाजन गरी विक्रम संवत् २०७२ असार १८ मा निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। तत्कालीन अवस्थामा जापान सरकारको २६ बिलियन जापानी येन र नेपाल सरकारको १ दशमलव १ बिलियन (जापानी येन) लागतका उक्त राजमार्ग निर्माण भएको थियो।    

राजकुमार पराजुली/रासस   

कात्तिक २३, २०८१ शुक्रबार २०:५९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।