१२ वर्ष अगाडि सुरुङ खनेर झुम्का कारागारबाट भागेका विनायकलाई गोली हानेर समात्यो प्रहरीले
सुनसरी : सुनसरीको झुम्का कारागारमा रहेका चन्द्रशेखर भनिने विनायक यादव २०६९ कात्तिक २३ मा सुरुङ खनेर फरार भए। २०६५ वैशाख १६ मा सुनसरीको प्रकाशपुरका स्थानीय केशव कार्कीलाई गोली हानेर मारेको अभियोगमा उनी कारागारमा थिए।
कात्तिकमा उनीसहित ११ जनाले कारागारभित्र सुरुङ खनेर बेलुका भागेका थिए। कैदी नभेटिएपछि खोजी गर्दा उनीहरू कारागारको दक्षिणपट्टिको पर्खालको भित्री भागबाट सुरुङ खनेर भागेको खुलेको थियो।
यसरी भागेकामध्ये कोही फेला परेका थिएनन्। विनायकबारे प्रहरीले सूचना पाएपछि बिहीबार राति जिल्ला प्रहरी कार्यालय सुनसरीको टोली उनलाई पक्राउ गर्न खटिएको थियो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाका अनुसार कोशी गाउँपालिका-८ को पथरचट्टानमा उनी रहेको सूचनाको आधारमा प्रहरी पुगेको थियो।
यादव हतियारसहित रहेको सूचनाको आधारमा पहिला उनलाई घेरा हालेर प्रहरीले एक राउन्ड गोली हानेर पक्राउ गरेको थियो। शुक्रवार पत्रकार सम्मेलनमा उनलाई सार्वजनिक गर्दै प्रहरीले विनायकलाई जिल्ला अदालत सुनसरीमा बुझाएर पुनः कारागार पठाउने जानकारी दियो।
कात्तिक २३, २०८१ शुक्रबार २०:३०:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।