पाथीभरामा केबलकार बनाउने विषयमा झडप, दुई सुरक्षाकर्मीसहित ६ जना घाइते

पाथीभरामा केबलकार बनाउने विषयमा झडप, दुई सुरक्षाकर्मीसहित ६ जना घाइते

फुङ्लिङ : ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्ने विषयमा भएको विवादमा झडपहुँदा छ जना घाइते भएका छन्। शुक्रवार केबलकार बनाउने पक्ष र बनाउन नदिने पक्षबी भएको झडपमा दुई जना सुरक्षाकर्मीसहित ६ जना घाइते भएका हुन्।

केबलकार निर्माणको लागि शिलान्यास गर्न लगिएको एक्स्काभेटरलाई विपक्षमा रहेकाहरूले अवरोध गरेपछि झडप भएको हो। स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्स्पेक्टर विवेक बस्नेत नेतृत्वको प्रहरी टोलीले एक्स्काभेटर अपरेटरबाट प्रमुख जिल्ला अधिकारीको निर्देशनमा चाबी नियन्त्रणमा लिएको थियो। त्यसपछि केबलकार निर्माण पक्ष र विपक्षबीच झडप भएको थियो।

केबलकार बन्न नदिने पक्षमा रहेकाहरूले ढुङ्गाले हान्दा केबलकारको पक्षका दुई, विपक्षका एक र एक जना स्थानीय घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार केबलकार पक्षधर फुङ्लिङ नगरपालिका—४ का ४० वर्षीय दामोदर अधिकारी, मेरिङदेन गाउँपालिका–४ का २६ वर्षीय कुमार शेर्पा, विपक्षका फुङ्लिङ नगरपालिका–४ बस्ने ४५ वर्षीय चन्द्र मादेन घाइते भए हुन्।

फक्ताङलुङ गाउँपालिका–५ का अर्जुन लिम्बू, सुरक्षणकर्मीतर्फ सशस्त्र प्रहरी डिगेन्द्र ओली र प्रहरी जवान अभिनास माझी समेत घाइते भए। घाइतेलाई जिल्ला अस्पताललगायत स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

धार्मिक क्षेत्रमा केबलकार बनाउन लागेको भन्दै सो क्षेत्रका एक पक्ष विरोधमा छन् भने स्थानीय तहका नेतृत्वकर्तासहितका केही स्थानीय पक्षमा छन्। केबलकारका लागि रुख काट्ने विषयमा समेत सो क्षेत्रमा विवाद हुने गरेको छ।

कात्तिक २३, २०८१ शुक्रबार २०:१७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।