जातका कुरा : शिक्षक सेवा आयोगमा 'खुल्ला'मा नाम निकालेका उत्तमलाई 'दलित' शब्दै मन पर्दैन

जातका कुरा : शिक्षक सेवा आयोगमा 'खुल्ला'मा नाम निकालेका उत्तमलाई 'दलित' शब्दै मन पर्दैन

शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि २०७१ सालतिर सुर्खेतका उत्तम विक प्युठानको झिम्रुकस्थित बलभद्र उच्च माविमा पढाउन गए। शारीरिक रूपमा दृष्टिविहीन, त्यसमा पनि भर्खरै शिक्षण पेसामा लागेका थिए उत्तम।

अनि, त्यति सजिलो पो कहाँ थियो र!

जब उत्तमले नियुक्ति लिएर त्यहाँ जाने तर्खर गरे, उता विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जिल्ला शिक्षा कार्यालयमा पुगिसकेका थिए। उनीहरूको माग थियो, 'ती आउन लागेका दृष्टिविहीन शिक्षक (उत्तम)ले पढाउन सक्दैनन्, उनलाई हाम्रो स्कुलमा नराखिइदिनुस्।'

तर, जिल्ला शिक्षा प्रमुखले उल्टै झपारेर पठाइदिए प्रधानाध्यापक र अध्यक्षलाई।

उनले भनेका थिए, 'खुलामा नाम निकालेका टिचर हुन्, त्यसैले उहाँको हकमा केही गर्न मिल्दैन। उल्टै तपाईँहरूको चैँ सरुवा गर्न नपरोस्।'

त्यसपछि उत्तमले त्यहीँ पढाउन थाले। सुरुका केही महिना ती प्रधानाध्यापक र विव्यस अध्यक्षले कयौंपटक छड्के चेक गरे। त्यो कुरा उत्तमले थाहै पाएनन् तर, आफ्नो तर्फबाट शतप्रतिशत दिने कोसिस गरिरहे। लामो समयको प्रयासपछि उनको मेहनतले सार्थकता पायो।

'पटक पटक छड्के गरिरहनुभयो, मैले पढाइ राम्रो गरेपछि कन्भिन्स हुनुभएछ, अलिपछि त तपाईँजस्तो टिचर हाम्लाई चाहिन्छ भन्दै त्यहाँबाट सरुवा दिन पनि गाह्रो मान्नुभयो,’ उनले सम्झिए।

OOO

३३ वर्षअघि सुर्खेतको गुर्वाकोटमा जन्मिएका हुन् उत्तम। ८ वर्षकै उमेरदेखि होस्टेलमा बसेर पढेका उनले बाल्यकालमा जातीय विभेदको तीतो अनुभव गर्नु परेन। तर, होस्टेलमै भए पनि साथीकोमा जाँदा बाहिरै बसेर खानुपर्ने, नाम छोडेर कामी भन्दै बोलाउने जस्ता विभेदबाट भने उनी उम्किन पाएनन्।

स्थानीय शिखर माविबाट कखरा सिकेका उत्तमले त्यही विद्यालयबाट ०६४ मा एसएलसी पास गरे। सुर्खेतकै उनले शिक्षा क्याम्पसबाट आइएड भर्ना भएर ०६७ मा सक्काए। त्यसपछि उनले त्यही क्याम्पसबाट स्नातक तह अध्ययन थाले। विभिन्न अप्ठ्यारा र अड्चनकाबीच उत्तमले ०७४ मा स्नातक सक्काए।

एसएलसी दिएपछि उत्तमले सुर्खेतको जागरण एफएममा रेडियो तालिम लिए। तालिम उत्कृष्ट भएपछि त्यहीँ जागिर गर्ने मौका पनि पाए। तर, राम्रो सेवा सुविधा नभएपछि उनले केही समयमै त्यो जागिर छोडिदिए।

OOO

पहिल्यैदेखि उत्तमको रुचि राजनीति गर्छु नै भन्ने थियो। राजनीतिमार्फत सांसद बन्न चाहन्थे उनी। त्यसको लागि उनी अनेरास्ववियुमा आबद्ध पनि भए।

उनी कक्षा ९ देखिनै अनेरास्ववियुमा थिए। बोल्ने कला राम्रो भएकाले अनेरास्ववियुले आफ्नो सङ्गठनमा अटाएको थियो उत्तमलाई।

२०६८ साल, त्यसबेला उत्तम शिक्षा क्याम्पस पढिरहेका थिए। उनी अनेरास्ववियुको क्याम्पस कमिटी सदस्य थिए। त्यही क्रममा सिङ्गो कमिटी पुनर्निर्माण गर्ने समय आयो, उत्तमले सचिवमा दाबी राखे। तर, क्षमता र योग्यताले भरिपूर्ण भए पनि उत्तमको शारीरिक अवस्था बाधक बन्यो।

'धेरै आकाङ्क्षी छन्, यता-उता दौडिनुपर्छ तपाईँलाई गाह्रो हुन्छ, माइन्युट पनि लेख्नुपर्छ भनियो,’ उत्तम सम्झिन्छन्, ‘पछि उनीहरूले अर्कैलाई सचिव बनाए।'

उनको मन कुँडियो। उनलाई लाग्यो-म जत्तिकै क्षमता, योग्यता नभएकोलाई सचिव बनाए, शारीरिक अशक्तताकै कारण मलाई हटाइयो। त्यसपछि उनले स्वतन्त्र विद्यार्थी युनियनमा जान प्रयत्न गरे। फेरि पनि अनेरास्ववियुले उत्तमलाई स्ववियुको लागि योग्य देखेन।

०६९ मा अनेरास्ववियु जिल्ला कमिटी सदस्य भएपछि उनले राजनीतिमा विराम लगाए।

उत्तमै शब्दमा, 'जिल्लामा भए पनि बैठकमा नबोलाउने, राजनीतिमा लागेर हामीलाई सांसद बनाउने पनि हैनन् भन्ने लागेर छोडेँ।'

OOO

०६९ तिर स्नातक पढ्दै थिए उत्तम। त्यहीबेला शिक्षक लाइसेन्सको आवेदन खुल्यो। उनले फारम भरेर पास पनि गरे। त्यसको एक वर्षपछि शिक्षक सेवा प्रावितर्फको आयोगको परीक्षा दिए।

आरक्षण प्रणाली अन्तर्गत खुल्ला, दलित र अपाङ्गतातर्फ फर्म भर्ने विकल्प थियो उत्तमलाई। नभन्दै, उनले तीनै वटा विकल्प उपयोग गरे।

संयोगवश, लिखिततर्फ उत्तमको खुला, दलित र अपाङ्गता तीन वटामा नाम निस्कियो। त्यसमध्ये सबैभन्दा बढी अङ्क खुलातर्फमा आएको थियो। त्यही भएर उनी अन्तर्वार्ता पनि खुलातर्फबाटै सिफारिस भए। उनी उत्तीर्ण भए पनि।

त्यसपछि उत्तमको परिचय नै बदलियो। पहिला दलित भनेर जिस्काउने साथीहरूले नै 'खुल्ला' भन्न थाले। उनलाई साथीहरूले भन्थे, 'अब यसलाई दलित भन्नू हुँदैन है, यो त खुला भइसक्यो।'

OOO

दलित हुनु अनि त्यसमा पनि दृष्टिविहीन हुनु। विभेद भोगाइका थुप्रै घटनाहरू उत्तमसँग छन्। त्यसमध्ये एउटा घटनाले उत्तमको मन पोलिरहन्छ।

उनी ०७४ तिर सरुवाकै सिलसिला सुर्खेतको नेपाल राष्ट्रिय माविमा पुगेका थिए। स्कुलको वरिपरिको बस्ती ठकुरीहरूको थियो। त्यहाँ भने उनले शारीरिक अशक्त भएर हैन, दलित भएको कारण विभेद भोगे।

किनभने, उत्तमले त्यहाँ कोठा डेरामा पाएनन्। तर, जे भए पनि जागिर त गर्नै पर्थ्यो। एक घण्टाको दुरीमा कोठा लिए। त्यहीँ बसेर जसोतसो ६ महिना पढाए। पालिकामा कुरा उठाए, जातकै कारण कोठा नपाएको उजुरी गरे। त्यसपछि उत्तमले त्यहाँबाट पनि सरुवा लिए।

'जागिरको दौरानमा त्योभन्दा अगाडिसम्म शारीरिक विभेद खेप्नुपर्यो, नेरा माविमा आएपछि गाउँलेबाट जातीय विभेद भोगेँ। हुन त शिक्षण सम्मानित पेसा हो, मैले चैँ शिक्षणकै दौरानमा दोहोरो विभेद भोगिरहेँ, लामो समय शिक्षण यात्रा यसैगरी चल्यो नि, उनले सुनाए।

OOO

'अपाङ्ग भएरै नाम निस्कियो। नत्र खुलामा भए कहाँ सक्थ्यो र…!' धेरैले आज पनि आरक्षणबाट नाम निकालेकाहरूलाई यसै भन्ने गरेको उत्तमको अनुभव छ।

त्यसैले पनि होला, आरक्षण आफैँमा राम्रो प्रणाली भए पनि यसले थप विभेद, हेला र होच्याई बढेको उनले सुनाए।

हुन पनि उत्तमको अनुभव नै त्यस्तै रह्यो। ०७९ मा निमाविको आयोग खुल्यो। उत्तमले फेरि फर्म भरे, उसैगरी खुला, दलित र अपाङ्गतामा। उनले उसैगरी तीनतर्फ लिखितमा नाम निकाले अनि सिफारिस चाहिँ खुलातर्फबाट भए। फेरि पनि खुलामा सबैभन्दा बढी अङ्क आएको थियो।

त्यसैले होला, आरक्षण प्रणालीप्रति उत्तमको खासै दिलचस्पी छैन। किन त्यस्तो त?

'अबको १० वर्षसम्म आरक्षण दिनुपर्छ नै। तर, लामो समयको लागि आरक्षणमै अल्झिनु हुँदैन। मान्छेहरूले आज पनि दलितको कोटाबाट आएको, अपाङ्गको कोटाबाट आएको भनेपछि नाक खुम्च्याउँछन्। तर, खुलाबाट आएको भन्दा सम्मान गर्छन्। यसले पनि विभेद गरिरहेकै छ नि, उत्तमले सुनाए।

OOO

दलित भन्ने शब्द नै मन पराउँदैनन् उत्तम। दलितले कामै गर्न सक्दैनन्, क्षमता नै हुँदैन, अलिअलि उँभो लागेकाहरू पनि आरक्षणको भर्याङ चढेर माथि पुगेको भन्ने मानसिकता व्याप्त रहेकाले शब्दै हटाउन पाए राम्रो हुन्थ्यो कि भन्ने लागेको रहेछ उनलाई।

'दलित शब्द भनेको दलाइएको, हेपिएको भन्ने छ। राजनीतिक दलहरूले पनि यही रूपमा प्रयोग गरिरहेको देखिन्छ, हामी दलित भनेको हेपिएको मात्रै पनि हैन नि,' उत्तमलाई यस्तो लाग्छ।

लामो समय शिक्षण पेसामा आबद्ध रहेका उत्तमलाई नेपालको शिक्षा प्रणालीले दलित तथा अपाङ्गता समुदायलाई कत्ति पनि समेट्न नसकेकोमा चिन्ता छ।

उत्तमको विचारमा सामुदायिक विद्यालयमा प्राथमिक तहदेखि दलित, महिला, अपाङ्गहरूको समस्यालाई उठान गर्नुपर्थ्यो अनि मात्र बालबालिकाको मस्तिष्कमा सकारात्मक सन्देश जान्थ्यो। यसले गर्दा समाज रूपान्तरणमा टेवा पुग्थ्यो तर, त्यो छैन।

'पहिला त अन्धो, बहिरो भनेर लेखिन्थ्यो, त्यो बदलिएन दृष्टिविहीन, सुस्त श्रवण भन्नेसम्म भएको छ। तर, हाम्रो समुदायको हकहितका कुरा चैँ पाठ्यक्रममा समेटिएको छैन, यो दुखलाग्दो कुरा हो, उनले भने, अझ दलितको कुरा गर्ने हो भने त अहिलेसम्म मैले कुनै पनि पाठमा दलितको विषय भेटेकै छैन।'

OOO

यिनीहरू चढ्छन्, भाडा दिन मान्दैनन् वा डिस्काउन्ट माग्छन् भनेर गाडी नरोक्ने अनि होटेल, पसलहरूमा माग्ने आएको सोचेर सामान नै नदेखाइदिनेजस्ता विभेद उनले दिनानुदिन भोगिरहेको बताउँछन्।

त्यसैले पनि आफूजस्तै दृष्टिविहीनहरूको हकहितमा बहस पैरवी गरिरहेका छन् उत्तम।

त्यसका लागि दलित अपाङ्गता भएका व्यक्तिहरूलाई एकीकृत गर्न बनेको संस्था जिडानमा आबद्ध भएर आफूजस्तै शारीरिक अशक्त भएकाहरूको हक अधिकारमा बहस पैरवी गरिरहेका छन्।

नेत्रहीन युवासंघ सुर्खेतको अध्यक्ष भएर काम गर्न थालेको लामो समय भएको छ। त्यहाँ रहेर उनले अपंगता भएका व्यक्तिहरूलाई यौन तथा प्रजनन शिक्षाबारे एड्भोकेसी गराइरहेका छन्।

त्यसअन्तर्गत अहिलेसम्म पाँच सय बढी अपंगता भएकाहरूलाई यौन तथा प्रजनन स्वास्थ्यबारे अभिमुखीकरण गराइसकेको उनले सुनाए।

जातका कुरा

कात्तिक २३, २०८१ शुक्रबार १९:००:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।