निरौला र पाण्डे सर्वोच्चको न्यायाधीशमा अनुमोदित, न्यायालयको विश्वास बढाउने कार्य योजना
काठमाडौँ : सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम संसदीय समितिले अनुमोदन गरेको छ।
संसदीय सुनुवाइ समितिको शुक्रवारको बैठकले न्यायाधीशमा सिफारिस निरौला र पाण्डेको नाम अनुमोदन गरेको हो।
न्याय परिषद्को असोज ११ को बैठकले उच्च अदालत पाटनका दुई न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो।
शुक्रवार उनीहरूबारे आएको उजुरीबारे सुनुवाइ भएको थियो। सुनुवाइ पछि नै समितिले दुवैको नाम अनुमोदन गरेको थियो।
शुक्रवार नै दुवै प्रस्तावित न्यायाधीशहरुले संसदीय समितिमा आफ्नो कार्य योजना पेस गरेका थिए। उनीहरूको कार्य योजनामा न्यायपालिकाप्रतिको आस्था र विश्वास अभिवृद्धि गर्न भरोसायोग्य कदम चाल्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन्।
न्यायाधीशका लागि न्यायपालिकाको नीति, सुधार योजना र नेतृत्वको कार्य योजना भन्दा अर्को छुट्टै वा पृथक् योजना नहुने भन्दै उनीहरूले प्रधान न्यायाधीशको न्यायिक नेतृत्वमा सिङ्गो न्यायपालिका रहने हुँदा नेतृत्वले लिने नीति, योजना र कार्यक्रमहरूको कार्यान्वयन गरी नेतृत्वलाई सहयोग गर्नु आफ्नो दायित्व रहेको उल्लेख छ।
स्वतन्त्र न्यायपालिकाको मूल्य र मान्यतालाई आत्मसात् गर्दै निष्ठा र ईमान्दारीकासाथ न्याय सम्पादन गर्ने र न्यायपालिका र नेतृत्वले लिएका नीतिहरूको आफ्नो तहबाट कार्यान्वयनमा सहयोग र सहजीकरण गर्ने उनीहरूको कार्य योजनामा उल्लेख छ।
न्यायिक सुशासनको स्थापना बेगर न्यायिक कार्य सम्पादन प्रभावकारी हुन नसक्ने भन्दै उनीहरूले न्यायिक सुशासनका लागि न्यायाधीशको आचार संहिताबाट निर्देशित हुने कुरामा स्पष्ट प्रतिबद्धता रहेको उल्लेख छ।
न्यायाधीश आचार संहिता र अदालतमा कार्यरत कर्मचारीको आचार संहिताको कार्यान्वयनमा नेतृत्वलाई सहयोग गर्ने, सुशासन विपरीतका गतिविधिको सूक्ष्म अनुगमन तथा निगरानीको संयन्त्र गठन गरी काम गरिने, न्यायपालिकाको स्वतन्त्रता, स्वायत्ततालगायतका न्यायिक मूल्य मान्यताका मापदण्डको विकास र कार्यान्वयनमा जोड रहने उनीहरूको कार्य योजनामा उल्लेख छ।
अदालतमा बिचौलियाको नियन्त्रणका लागि छुट्टै कानुन निर्माणको लागि पहल गर्ने प्रधान न्यायाधीशले समितिसमक्ष पेस गरेको कार्य योजनाको कार्यान्वयनमा सकारात्मक र सहयोगी भूमिका रहने कार्य योजनामा उल्लेख छ।
कात्तिक २३, २०८१ शुक्रबार १८:१४:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।