हवाई भाडा बढेपछि वैदेशिक रोजगारीमा जान दिल्ली विमानस्थल प्रयोग गर्न दिने तयारी
काठमाडौँ : नेपालबाट अन्तर्राष्ट्रिय उडानका हवाई भाडा बढेपछि सरकारले वैदेशिक रोजगारीमा जानेहरूका लागि भारतको दिल्ली विमानस्थल प्रयोग गर्न दिनेबारे छलफल सुरु गरेको छ। वैदेशिक रोजगारीको आवरणमा मानव तस्करी बढेपछि सरकारले वैदेशिक रोजगारीका लागि दिल्ली विमानस्थलको प्रयोगमा रोक लगाएको थियो।
विमानस्थलको ट्याक्सी वे विस्तारका लागि रातीको समय विमानस्थल १० घण्टा बन्द भएपछि अन्तर्राष्ट्रिय उडानको भाडा बढेको थियो।
शुक्रवार संस्कृति पर्यटन तथा नागरिक मन्त्री बद्री पाण्डेले भाडा वृद्धिका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मर्कामा परेको भन्दै परराष्ट्र मन्त्री आरजू राणा देउवा, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारीसहित वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिहरूसँगे हवाई भाडा वृद्धिका बारेमा छलफल गरेका थिए।
छलफलमा वैदेशिक रोजगारीमा जानेहरूका लागि नयाँ दिल्लीस्थित विमानस्थल प्रयोग गर्न यसअघि लगाइएको रोक खुला गर्ने तथा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडानका लागि सहजीकरण गर्नेबारे छलफल भएको थियो।
विमानस्थलको ट्याक्सी वे विस्तारका लागि रातीको समय विमानस्थल बन्द भएको बहानामा केही विमान कम्पनीहरूले कार्टेलिङ गरेको हुन सक्ने भन्दै बैदैशिक रोजगारसँग सम्बद्ध व्यवसायीहरूले यस विषयमा सरकारले निर्मम भएर निर्णय गर्नु पर्ने कुरामा जोड दिएका थिए।
छलफलका क्रममा लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएनका अध्यक्ष दीपक थापाले नेपालबाट अन्ताराष्ट्रिय हवाई भाडामा अस्वाभाविक रूपमा वृद्धि भई रहेको र यसमा एयरलाइन्स कम्पनीहरू र केही ट्राभल एजेन्सीहरूको हात ठुलो हात रहेको बताए।
छलफलमा उनले भने, गरिब श्रमिकहरू सामान्यभन्दा चार गुणा बढी हवाई मूल्यमा टिकट किन्न बाध्य बनाएको छ । यस विषयमा सरकारले कडा कदम चाल्न जरुरी छ।
छलफलका क्रममा परराष्ट्र मन्त्री आरजु राणा देउवाले हवाई टिकमा कटौती हुँदा सबैभन्दा बढी सरकारलाई नै घाटा भएको उल्लेख गरिन्।
उनले पर्यटनमन्त्रीको अध्यक्षतामा पुनः बैठक बसेर समस्या टुङ्ग्याउने उल्लेख गर्दै तत्काललाई यात्रुहरूलाई मध्यनजर गर्दै दिल्लीबाट उडान भर्नका लागि दूतावासमार्फत पहल गर्नका लागि अनुरोध गर्ने समेत गरेको बताइन्।
त्यसैगरी श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले यसअघि भारतको नयाँ दिल्लीबाट नेपालीहरू श्रम गन्तव्यमा जाने गरेको भए पनि म्यानपावर व्यवसायीहरूकै आग्रहमा मानव तस्करी बढेको गुनासोपछि रोक लगाएको बताए।
मन्त्री भण्डारीले भैरहवा र पोखरा विमानस्थलबाट हवाई उडान भर्न आग्रह गरेका थिए।
संस्कृति, पर्यटन तथा नागरिक मन्त्रीसन्त्री बद्री पाण्डेले दशैं तिहारको समयमा बाढी पहिरोका कारण हवाई चाप बढ्दा आन्तरिक उडानको टिकटको मूल्य बढेको उल्लेख गरे।
मन्त्री पाण्डेले भने, ‘यस अघि दशैं तिहारको समयमा बाढी पहिरोका कारण हवाई भाडा वृद्धि हुन पुग्यो। हाल त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तार गर्नका लागि विमानस्थलमा रातीको समयमा हुने उडान समय घटाएको विषयलाई लिएर हवाई टिकमा वृद्धि भएको छ। धावनमार्गको विस्तारको सूचना बाहिरिएसँगै एयरलाइन्सकम्पनीहरुले उडान कटौती गर्ने योजना बनाइसक्नु भएको थियो। पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइट डाइभर्ड गर्न थालिएको हाल तीनचारवटा विमान कम्पनीले जाने तयारी गरिरहेका र केही गइरहेका छन्।’
कात्तिक २३, २०८१ शुक्रबार १८:००:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।