विज्ञप्ति निकालेर मनाङेले भने ‘आफैँ अदालतमा उपस्थित हुन्छु’

विज्ञप्ति निकालेर मनाङेले भने ‘आफैँ अदालतमा उपस्थित हुन्छु’

काठमाडौँ : मिलन गुरुङ ( चक्रे मिलन) लाई धारिलो हतियारले हानेर हत्या प्रयास गरेको अभियोगमा सर्वोच्च अदालतबाट उच्च अदालतको फैसला सदर गरेसँगै सम्पर्कहीन भएका गण्डकीका प्रदेश सांसद राजीव गुरुङ ( दीपक मनाङे)ले फैसलाको पूर्ण पाठ आएपछि आफैँ अदालतमा उपस्थित हुने दाबी गरेका छन्।

उनले शुक्रवार विज्ञप्ति निकाल्दै विभिन्न अखबार र सामाजिक सञ्जालमा आफ्नो बारेमा लेखिएका समाचार र टिका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको कात्तिक २० मा फैसला भएको विषय आफ्नो कानुन व्यवसायी मार्फत थाहा पाएको बताएका छन्।

फैसलाबारे जानकारी पाएपछि कानुन व्यवसायीलाई फैसलाको नक्कल सार्न पठाएको र अदालतबाट फैसलाको पाठ तयार नभएको जानकारी आएको उनले दाबी गरेका छन्।

फैसला आउँदाको दिनदेखि सञ्चार माध्ययमहरुबाट तारन्तार आइरहेका कलहरूले गर्दा केही समयका लागि आफूले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको दाबी गर्दै उनले यही विषयलाई लिएर विभिन्न सञ्चार माध्ययमहरुमा भ्रामक समाचारहरू सम्प्रेषण भइरहेको दाबी गरे।

फैसला लगत्तै प्रहरीले उनलाई कारागार चलान गर्न खोजिरहेको छ। तर फेला पार्न सकेको छैन। उनले विज्ञप्तिमा सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ लिखित रूपमा प्राप्त भएपछि अदालतमा स्वयम् उपस्थित हुने दाबी गरेका छन्।

कात्तिक २३, २०८१ शुक्रबार १७:४७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।