मितेरी सहकारी अपचलनमा फरार ज्योतिको नाममा रेड कर्नर नोटिस जारी

मितेरी सहकारी अपचलनमा फरार ज्योतिको नाममा रेड कर्नर नोटिस जारी

काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ जोडिएको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाको अनुसन्धानकोक्रममा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिस अनुसार प्रहरी प्रधान कार्यालयमा रहेको एनसिबीको संयोजनमा इन्टरपोलले रेड नोटिस जारी गरेको हो।

गुरुङ धनराजकी पूर्व श्रीमती हुन्। सहकारीको रकम अपचलन गरेको सार्वजनिक भएसँगै ज्योति फरार भएकी थिइन्। अनुसन्धानकोक्रममा खोजीमा रहेका व्यक्ति आफ्नो देश बाहिर पुगेको प्रमाणको आधारमा पक्राउमा सहजीकरण गर्न इन्टरपोलबाट नोटिस जारी हुन्छ। तर नोटिस जारी हुँदैमा पक्राउ नै पर्ने पक्का भने हुन्न।

मितेरी सहकारीको रकम हिनामिनामा कांग्रेसका उपसभापति गुरुङ समेत जोडिएका छन्। उनले सम्बन्धविच्छेद भइसकेकाले उनले गर्ने गतिविधिमा आफू संलग्न नरहेको दाबी गर्दै आएका छन्।

तर सम्बन्धविच्छेदपछि पनि उनले सहकारीको पैसा तिरेको खुलेपछि दुवैको सम्बन्धविच्छेद कागजी मात्रै भएको शङ्का बढाएको छ। उनले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग एक करोड बढी पैसा लिएको समेत खुल्यो। दुवैले सो रकम ऋण भएको दाबी गर्दै आएका छन्।

ज्योतिबहादुर भण्डारी सहकारीका सदस्य नभए पनि ऋण प्रवाह भएको आधारमा प्रहरीले उनलाई खोजी गरेको हो।

कात्तिक २३, २०८१ शुक्रबार १६:५३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।