‘अलीपे प्लस’का प्रयोगकर्ताले अब ‘नेपालपे’ क्यूआरबाट भुक्तानी गर्न सक्ने
काठमाडौं : नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल), डिजिटल पेमेन्ट तथा वित्तीय टेक्नोलोजी लिडर एण्ट इन्टरनेशनलले नेपालपे क्यूआर र अलीपे प्लसबीच क्रस-बोर्डर भुक्तानीको शुरुवात भएको छ।
सिंगापुर फिनटेक फेस्टिभल २०२४ को ग्लोबल प्ल्याटफर्ममा दक्षिणपूर्वी एसिया, अष्ट्रेलिया तथा न्युजिल्याण्डका एण्ट इन्टरनेशनलका महाप्रबन्धक एडवर्ड यू र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान, एनसीएचएलका अध्यक्ष विश्रुत थापा तथा एण्ट इन्टरनेशनलका अध्यक्ष डगलस फेगिनको उपस्थितिमा यो घोषणा गरिएको हो।
उक्त घोषणापछि चिनियाँ मेनल्याण्ड लगायत हङकङ एसएआर चीन, मकाउ एसएआर चीन, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया र इटाली लगायत १० देश तथा क्षेत्रका यात्रुहरूले आफ्नो डोमेस्टिक इ वालेट तथा मोबाईल बैंकिङ्ग एप मार्फत नेपालका अन्तरआबद्ध नेपालपे क्यूआरको नेटवर्क सहित ८७५,००० भन्दा बढी मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन्।
अलीपे प्लसका साझेदारहरू मेनल्यान्ड चीनमा अलीपे, हङकङमा अलीपेएचके, इटालीमा टीनाबा, मकाओमा एमपे, मलेसियामा माईपीबी, मंगोलियामा हाइपे, फिलिपिन्समा जीक्यास, सिंगापुरमा चांगी पे र ओसीबीसी डिजिटल, दक्षिण कोरियामा नाभर पे र टस पे र थाइल्यान्डमा ट्रुमनीबाट नेपालपे क्यूआरमार्फत क्रस बोर्डर भुक्तानी गर्न सक्नेछन्।
एण्ट इन्टरनेशन र एनसीएचएलबीच मे २०२४ मा प्रारम्भिक सामझदारीपत्रमा हस्ताक्षर भई नेपाल राष्ट्र बैंकको आवश्यक स्वीकृति पश्चात् क्रस-बोर्डर क्यूआर भुक्तानी सेवा शुरुवात गरिएको हो। नेपालपे र अन्तरआवद्ध क्यूआरले क्रस बोर्डर भुक्तानीका लागि र नेपालको रिटेल पेमेन्ट सिस्टमलाई विश्वव्यापी रुपमा चिनाउन यस साझेदारीले ठूलो अवसर प्रदान गर्ने अपेक्षा एनसीएचएलको छ।
यस व्यवस्थाले नेपाललाई आफ्नो रोजाइको गन्तव्य बनाएका विभिन्न देशका पर्यटकहरूले नेपालको मर्चेन्टहरुलाई सहजै क्रस-बोर्डर डिजिटल भुक्तानी गर्न सक्ने भएको छ। नेपाल पे क्यूआर लगाइएका स्ट्यान्डराइज्ड क्यूआर पेमेन्टहरूले नेपालको पर्यटन क्षेत्र विकासको लागि महत्वपूर्ण भूमिका खेल्नेर आगामी वर्षमा पर्यटन क्षेत्र अझ फस्टाउने अपेक्षा सहित नेपाल र विश्वभरका साझेदारहरू र मर्चेन्टहरूलाई सहयोग गर्ने अपेक्षा गरिएको छ।
कात्तिक २३, २०८१ शुक्रबार १३:५५:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।