बुटवलको पर्यटकीय गन्तव्य बन्दै ‘मणिमुकुन्द सेन उद्यान’
बुटवल : ऐतिहासिक, पुरातात्त्विक, सामरिक र धार्मिक महत्वले भरिएको एउटै पर्यटकीय स्थल विरलै पाउन सकिएला। तर, बुटवलको मणिमुकुन्द सेन उद्यान यी सबै महत्त्वले पूर्ण छ। एउटै यी चारवटै क्षेत्रलाई जोडेर फूलबारीलाई आकर्षक पर्यटकीय स्थलको रूपमा विकास गरिएको छ।
मणिमुकुन्द सेन उद्यान बुटवलको पश्चिम उत्तरतर्फ जितगढी किल्ला र पुरानो बटौली बजारको माथिल्लो भागमा अवस्थित छ। बुटवल उपमहानगरपालिका संरक्षक रहेको मणिमुकुन्द सेन उद्यान, चुरेको शिरमा रहेको ऐतिहासिकस्थल नुवाकोट पैदलमार्गको प्रस्थान विन्दु पनि हो।
तत्कालीन पाल्पाली राजा रुद्र सेनका जेठा छोरा मुकुन्द सेन विक्रम संवत् १५७५ मा पाल्पाका राजा भए। विक्रम संवत् १६१० मा देवघाटमा तपस्यामा लीन भई सिद्धि प्राप्ति गरेपछि मुकुन्द सेनलाईमुनि मुकुन्द हुँदै मणिमुकुन्द भन्न थालियो।
राजकाजमा पोख्त राजा मणिमुकुन्द सेनले बुटवलमा शीतकालीन तथा पाल्पा र रूपन्देहीको सीमाक्षेत्र नुवाकोटमा गृष्मकालीन दरबार निर्माण गरी राज्य चलाएका थिए।
उद्यानको पश्चिमतर्फ कुनामा मणिमुकुन्द सेनले निर्माण गरेको त्यही शीतकालीन दरबारको भग्नावशेष छ। झण्डै ६ सय वर्ष पहिले निर्माण गरिएको दरबारको भग्नावशेषलाई पुरातत्व विभागले संरक्षण गर्दै आएको छ।
वरिपरी फलामे बार हालेर सुरक्षित गरिएको दरबारको भग्नावेशषको नियमित रेखदेखको काम भने मणिमुकुन्द सेन उद्यान संरक्षण समितिले गर्दै आएको छ।
सेन वंशका राजाहरुले रंगमहलका रुपमा प्रयोग गरेको यो दरबार १७औं शताब्दीमा जितगढीमा भएको अंग्रेज फौजसँगको युद्धमा नेपाली सैनिकहरुले प्रयोग गरेका थिए। त्यहि युद्धको क्रममा अंग्रेज फौजको आक्रमणमा दरबार भत्किएको थियो भन्ने इतिहास छ।
मणिमुकुन्द सेनले बुटवलमा निर्माण गरेको शीतकालीन दरबारको संरक्षण गर्दै जाँदा मणिमुकुन्द सेन उद्यान अर्थात जनजिब्रोको भाषामा बुटवल फूलबारी बनेको हो।
बुटवलका समाजसेवी उद्यमी र राजनितीकर्मीहरूको संरक्षण, बिकास एवं प्रवर्द्धनको सोच र परिकल्पनाबाट मणिमुकुन्द सेन उद्यान अहिले आकर्षक पर्यटकीय स्थल बनेको छ।
‘फूलबारी’ नाम राखेर २०३६ सालमा स्थापित भए पनि डेढ दशकसम्म व्यवस्थित हुन नसकेको यो पार्कलाई २०५४ सालमा मणिमुकुन्द सेन उद्यान नामाकरण गरियो। पार्कको नामाकरणसँगै गठन गरिएको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिले संचालन र व्यवस्थापन गर्न थालेपछि भने फूलबारीले विकासमा फड्को मारेको अध्यक्ष माधव नेपाल बताउँछन्।
करिब २० हेक्टर क्षेत्रफलमा फैलिएको उद्यानमा तिनाउ किनारको पहरामा बंगारा भेटिएका मावनपूर्खा रामापिथेकसको पूर्णकदको प्रतिमा राखिएको छ।
शान्ति र विरताको सन्देश सहित मायादेवी, गौतम बुद्ध, मणिमुकुन्द सेन, कर्णेल उजिरसिंह थापा, यादवनाथ आलोक, दशरथ चन्द, तारापति भट्टराई, बसिर मिया, जीवराज आश्रित, सूर्यप्रसाद घिमिरे र चोकबहादुर गुरुङका अर्धकदका शालिक राखेर बुटवल स्मारक निर्माण गरिएको छ।
उद्यानको पूर्वी उत्तर कुनामा प्रेमको प्रतिकको रुपमा मूना मदन बाटिका शुसोभित रहेको छ। मणिमुकुन्द सेनको इतिहासलाई जीवन्त र स्मरणीय राख्न मणिमुकुन्दको पूर्ण कदको घोडसवार शालिक निर्माण गरिएको छ। जसले उद्यानको आकर्षण त बढाएको छ नै, यहाँको ऐतिहासिक महत्व पनि उजागर गरेको छ।
उद्यान परिसरमा मणिमुकुन्द सेनकै पालामा निर्मित शिवमन्दिरलाई प्यागोडा शैलीमा पुनर्निर्माण गरि आकर्षक बनाइएको छ। दरबारको भग्नावशेष नजिकै रहेको स्वामीनारायण मन्दिरले धार्मिक पर्यटकहरूलाई आकर्षण गरिरहेको छ।
विष्णुपादुकाका रूपमा चिनिने स्वामीनारायण मन्दिर दर्शनका लागि प्रत्येक वर्ष वैशाख र जेठमा भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा तीर्थयात्रीहरू आउने गर्छन्।
उद्यानमा चितुवा, चरि बाघ, भालु, बाँदर, बंदेल, स्याल, वनबिरालो, सेतो मुसा, हरिण, नीलगाई, जरायो, मृग, अजिंगर, खरायो, कछुवा लगायत जनावर र अष्ट्रिज, चिल, उल्लु, मयुर, सुगा, ढुकुर, परेवालगायत चराचुरुङगी संरक्षण गरि मिनि चिडियाखाना बनेको छ।
मजारस्थान र पछिल्लो समय निर्माण गरिएका कुडुले घर र सन्चो विसन्चो केन्द्रले उद्यानको आकर्षणलाई थपेको छ।
चुरे पहाडको काखमा बोटबिरुवाको हरियाली र रंगीचंगी फूलका बाटिका सहितको प्राकृतिक छटाले भरिएको यो उद्यान, बुटवल बजारको उखरमाउलो गर्मी छल्ने उपयुक्त विकल्प बनिरहेको छ।
उद्यानभित्र पर्यटकहरूलाई आकर्षित गर्न विभिन्न वाटिका र बाल उद्यान निर्माण गरिएका छन्। संघ संस्था र समुदायले आयोजना गर्ने कार्यक्रम, वनभोज, विवाह, भेटघाटका लागि फूलबारी पहिलो रोजाइ बन्ने गरेको छ।
विभिन्न चाडपर्व, उत्सव, नयाँ वर्ष तथा सार्वजनिक विदाका दिन अवलोकनको लागि यहाँ हजारौं पर्यटकहरू आउने गर्छन्। हरेक उमेर समूहका मानिसहरूलाई उत्तिकै आकर्षित गर्ने यो पार्क चलचित्र र म्युजिक भिडिओ छायांकनका लागि रोजाइमा पर्ने गरेको छ।
नेपालकै उत्कृष्ट मध्येमा पर्ने मणिमुकुन्द सेन उद्यानको लुकेको अर्को पक्ष यहाँको सुरुङमार्ग हो। नुवाकोट र जितगढीसँग गाँसिएको उद्यानदेखि जितगढीसम्म करिब ६ सय मिटर लामो सुरुङमार्ग रहेको विभिन्न तथ्यहरूले देखाएको छ।
समर सौन्दर्यका नायक कर्णेल उजिरसिंह थापाको नेतृत्वमा तत्कालिन इष्टइन्डीया कम्पनीको अंग्रेज फौजसँग जितगढीमा युद्ध लड्दा नेपाली फौज जितगढीदेखि मणिमुकुन्द सेन दरबारसम्म सुरुङमार्ग बाटै पुग्थे भन्ने इतिहास छ।
जितगढी किल्लामा सुरुङ मार्गको उत्खनन् गरि अवलोकन गर्न मिल्ने बनाईएको छ। मणिमुकुन्दसेन उद्यानतर्फ भने उत्खनन् हुन सकेको छैन्।
ऐतिहासिक मात्र होईन राष्ट्रियतासँग समेत जोडिएको जितगढी र चुरेको शिरमा रहेको नुवाकोटलाई जोडेर मणिमुकुन्द सेन उद्यानलाई नेपालकै उत्कृष्ट पर्यटकिय स्थल बनाउने मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष माधव नेपालले बताए।
समितिको व्यवस्थापनमा संचालन भईरहेको यो उद्यान सयौं प्रजातीको बोटविरुवाहरूको बगैंचा बनेको छ। जसलाई बोटानिकल विषयको अध्ययन गर्ने थलो बनाउन सकिने सम्भावना देखिन्छ।
कात्तिक २२, २०८१ शुक्रबार १२:५८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।