नेपाल प्रिमियर लिग ‘स्टार स्पोर्ट्स’बाट ब्रोडकास्ट हुने !

नेपाल प्रिमियर लिग ‘स्टार स्पोर्ट्स’बाट ब्रोडकास्ट हुने !

काठमाडौं : मंसिर १५ गतेबाट शुरु हुने नेपाल प्रिमियर लिगका लागि फ्रेन्चाइज टिमहरुले तयारी गरिरहेका छन्।

टिमले विदेशी खेलाडीको अनुबन्धको चरणलाई अन्तिम चरणमा पुर्याएका छन् भने केही विदेशी कोच र मेन्टरसमेत नेपाल आइसकेका छन्।

यसैबीच दक्षिण अफ्रिकी खेलाडी समेत रहेका एनपिएलकै सबैभन्दा महंगो टोली पोखरा एभेन्जर्सका मेन्टर जोन्टी रोड्स नेपाल आइसकेका छन्।

यसैबीच टोलीहरुले आफ्नो जर्सी सार्वजनिक कार्यक्रम गरिरहेका छन्। पोखराले बिहीबार एक कार्यक्रमका बीच जर्सी सार्वजनिक गरिसकेको छ भने कर्णाली याक्सले पनि आज जर्सी सार्वजनिक गर्दैछ।

केही दिनअघि याक्सले फेस अफ कर्णाली भन्दै नायिका स्वस्तिमा खड्कालाई टिममा आबद्ध गरायो। यसका अलावा अन्य टिमहरुले पनि आफ्नो तयारीलाई तीव्रता दिएका छन्।

एनपिएलका लागि टोलीहरुले ट्यालेन्ट हन्ट समेत गर्न लागेका छन्। जसका लागि विभिन्न टोलीहरुले स्थान र समयसहित नेपाल क्रिकेट संघको निगरानीमा रहेर त्यसको मापदण्ड समेत तय गरिसकेका छन्।

यसैबीच प्रतियोगिताका खेलहरू भारतको स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने भएको छ। बिहीबार पोखरा एभेन्जर्सले पोखरामा गरेको पत्रकार सम्मेलनमा टिमका अध्यक्ष सुबोध त्रिपाठीले यसबारे जानकारी गराएका हुन्।

लगानी उठाउने सन्दर्भमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा उनले ब्रोडकास्ट राइट्स लगायतका मुख्य प्रायोजकको रकमबाट आधा रकम क्यानले आठवटा टिमलाई भाग लगाउने उल्लेख गरेका हुन्। सोही क्रममा ब्रोडकास्टरको बारेमा पनि उनले खुलाएका हुन्।

‘क्यानले ब्रोडकास्टिङ राइट्स र विज्ञापनबाट जुटाएको आधा पैसा आठ वटा टिमलाई बाँड्छ,’ त्रिपाठीले भने, ‘क्यानले हामीलाई जानकारी दिए अनुसार स्टार स्पोर्ट्सले यसको ब्रोडकास्ट गर्नेछ।’

यद्यपि नेपाल क्रिकेट संघ र नेपाल प्रिमियर लिगले आधिकारिक रूपमा यसबारे जानकारी गराइसकेको छैन।

पहिलो सिजनका लागि हरेक टोलीको ७ देखि १० करोड रुपैयाँ खर्च हुने नेपाल क्रिकेट संघले बताउँदै आएको छ।

कात्तिक २३, २०८१ शुक्रबार ११:४२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।