अपडेट : सत्र किलोमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो, एक जनाको अवस्था अझै गम्भीर
चितवन : नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा बिहान भएको दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
विहान चार जनाको मृत्यु भएकोमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा घाइते भएका पाँच जनामध्ये एक जनाको अवस्था गम्भीर छ।
आज बिहान तीन बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा गोरखा आरुघाट गाउँपालिका-१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।
दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको भरतपुर अस्पताल र तीन जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
कात्तिक २२, २०८१ शुक्रबार १०:४६:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।