उपनिर्वाचनका लागि कांग्रेसले कर्णालीका दुई जिल्लामा टुङ्ग्यायो उम्मेदवार, एमाले र माओवादीको बाँकी

उपनिर्वाचनका लागि कांग्रेसले कर्णालीका दुई जिल्लामा टुङ्ग्यायो उम्मेदवार, एमाले र माओवादीको बाँकी

सुर्खेत : मंसिर १६ मा हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले जाजरकोट र दैलेखमा उम्मेदवार टुङ्ग्याएको छ। कांग्रेसले जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखको उम्मेदवारका लागि इन्द्रा चन्द सिंहको नाम टुङ्ग्याएको  कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले जानकारी दिए।

सभापति शाहीले भने, ‘नगरपालिकाको टिकट पार्टीको प्रदेश संसदीय बोर्डले टुङ्ग्याउँछ भने गाउँपालिका र अन्य वडाको जिल्लाको संसदीय बोर्डले टुङ्ग्याउँछ। सोही अनुसार प्रदेशको कार्यक्षेत्रमा पर्ने एउटा नगरपालिकाको नाम टुंगियो। अरूको जिल्लाले टुङ्ग्याउने छन्।’ 

नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको ०८० कार्तिक १७ मा भूकम्पमा परी मृत्यु भएपछि उपप्रमुख पद रिक्त थियो। उनी नेपाली कांग्रेसबाट निर्वाचित भएकी थिइन्। यसअघि त्यहाँ एमालेले सुनिता बोहोरालाई सिफारिस गरिसकेको छ।

त्यस्तै, जाजरकोटको कुशे गाउँपालिका-७, को वडाअध्यक्षमा खम्बबहादुर सिंहको नाम सिफारिस भएको कांग्रेस जाजरकोटका सभापति एवं कर्णाली प्रदेश सभा सदस्य बेदराज सिंहले जानकारी दिए। खम्बबहादुर यसअघिको निर्वाचनमा पराजित भएका थिए। 

वडाध्यक्ष मनबहादुर घर्तीको ०७९ असारमा मृत्यु भएको थियो। घर्ती माओवादीका तर्फबाट उम्मेदवार बनेर निर्वाचन जितेका थिए। 

उता, बिहीबार बसेको जिल्ला कार्यसमिति दैलेखको बैठकले महावु गाउँपालिकाको अध्यक्षको लागि झलकबहादुर भण्डारी र दुल्लू नगरपालिका-१३ को अध्यक्ष पदका लागि रेशम बहादुर शाहीको नाम टुङ्ग्याएको जिल्ला सभापति मणिराम रेग्मीले जानकारी दिए।
 
महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको ०७९ माघ २७ मा हृदयघातका कारण निधन भएको थियो। उनी कांग्रेसबाट निर्वाचित भएका थिए। 

माओवादीले भने यही कात्तिक २५ मा सबै पालिका र वडाको नाम टुंगो लगाउने कर्णाली प्रदेश कमिटीकी अध्यक्ष विमला केसीले बताइन्।

‘लगभग हाम्रो सबै पालिकाको नाम टुंगो लगाइसकेको छ,’ उनले भनिन्, ‘२५ गते सबै फाइनल भइसक्छ।’

एमालेले पनि बाँकी रहेका पालिका र वडामा २५ गतेभित्र उम्मेदवारको नामावली टुंगो लगाइसक्ने जनाएको छ। 

कर्णालीका ६ जिल्लाका आठ स्थानीय तहमा उपनिर्वाचन हुँदैछ। जाजरकोट नलगाड नगरपालिकामा उपप्रमुख, दैलेखको महावु गाउँपालिकामा अध्यक्ष, हुम्ला सर्केगाड गाउँपालिकामा उपाध्यक्ष र विभिन्न पालिकामा पाँच वडाध्यक्ष गरी आठ पदमा उपनिर्वाचन हुँदैछ।  

दैलेखको दुल्लु नगरपालिका-१३, कालीकोटको तिलागुफा नगरपालिका-४, जाजरकोटको कुसे गाउँपालिका-७, डोल्पाको त्रिपुराुन्दरी नगरपालिका-५ र रुकुमश्चिमको सानीभेरी गाउँपालिका-५, मा वडाअध्यक्षमा उपनिर्वाचन हुनेछ।  

कात्तिक २२, २०८१ बिहीबार २१:२५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।