करेन्ट लागेर नेपाली सेनाका लेसनायक दियालको मृत्यु, दुई जना घाइते

करेन्ट लागेर नेपाली सेनाका लेसनायक दियालको मृत्यु, दुई जना घाइते

बागमती : मकवानपुरको भीमफेदी गाउँपालिका-८ दोभानस्थित नेपाली सेनाको सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा कार्यरत एक जनाको करेन्ट लागेर मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 

क्याम्पभित्र कार्यरत रहेका बेला सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन बिजुलीको तारमा पाइपले छुँदा करेन्ट लागेर डडेल्धुराको गन्याधुरा गाउँपालिका-१ निवासी २९ वर्षीय पदमबहादुर दियालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए। मृतक दियाल लेसनायक पदमा कार्यरत थिए। 

करेन्ट लागेर डडेल्धुराको अमरगढी नगरपालिका-२ निवासी २९ वर्षीय लेसनायक विनोद केसी र पाल्पा रामपुर नगरपालिका-६ निवासी २१ वर्षीय सिपाही युवराज कुमाल घाइते भएको डिएसपी अर्यालले बताए। 

घाइते दुवै जनालाई उपचारका लागि हेलिकप्टरमार्फत आर्मी अस्पताल छाउनी काठमाडाैँ पठाइएको र मृतकको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडाैँ पठाइएको छ।  

कात्तिक २२, २०८१ बिहीबार १९:११:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।