छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो

छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो

झापा : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य  दिई मनाइएको छ। निराहार व्रत बसेकाले मेची नदी किनारमा सजाइएको घाटमा विभिन्न परिकार राखिएका डालीहरू हातमा उठाएर अस्ताउँदो सूर्यलाई अर्घ्य  दिए।   

पूजाआजामा मधेश तथा पहाडीलगायतका विभिन्न समुदायका सहभागी थिए। विशेष पूजाको अवसरमा उनीहरुले सूर्य र छठी माताको आराधानासमेत गरेका थिए। 

छठमा उपवास बसी पूजाआजा गर्नाले परिवारमा सुख, समृद्धिका साथै सन्तान प्राप्ति र रोग ब्याधीसमेत निको हुने श्रद्धालु भक्तजनहरुको विश्वास छ। उनीहरुले मेची नदीमा पूजा गरी प्रसादका रुपमा आज बासका सामग्रीको अर्घ्य  दिइ केरा, ठेकुवा, स्याउ, भसुवा, उखुलगायत परिकार चढाएका थिए। 

सत्य र अहिंसाप्रति मानव रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो। पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपतीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त अज्ञातवास सफल होस भनी सूर्य देवलाई आराधना गरिएको थियो। 

त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोक कथनअनुसार सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको विश्वास छ। 

उदाउँदो सूर्यलाई अर्घ्य दिने दिन भोलि कात्तिक २३ मा  पनि प्रदेशभर सार्वजनिक बिदा दिइएको छ।  

कात्तिक २२, २०८१ बिहीबार १८:५१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।