स्थानीय तह उपनिर्वाचनमा कुन-कुन दलले भाग लिँदै छन्, कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन्?
काठमाडौं : विविध कारणले रिक्त बनेका स्थानीय तहमा मंसिर १६ मा उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगले स्थानीय तहका विभिन्न ४४ रिक्त पदमा उपनिर्वाचन गर्न लागेको हो।
जसमध्ये जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ वटा पद रिक्त छ। निर्वाचन आयोगले ओखलढुंगा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि चुनाव गर्न लागेको हो।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-३, झापाको कन्काइ नगरपालिका-६, तेह्रथुमको लालीगुराँस नगरपालिका-८, सुनसरीको गढी गाउँपलिका-६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका-५, उदयपुरको त्रियुगा नगरपालिका- १२ र बेलका नगरपालिका-९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र ४ वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ।
त्यस्तै, धनुषाको धनुषाधाम नगरपालिका-१, महोत्तरीको रामगोपालपुर नगरपालिका-२, रौतहटको ईशनाथ नगरपालिका-७, राजपुर नगरपालिका-६ र गढीमाई नगरपालिका-८ को वडाध्यक्ष पदका लागि पनि निर्वाचन हुनेछ ।
काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नम्बर १ र ४, काठमाडौँ महानगरपालिका वडा नम्बर १६, नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २, मकवानपुरको हेटौँडा नगरपालिका वडा नम्बर १२, गोरखाको गोरखा नगरपालिका वडा नम्बर ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४, रुकुम (पूर्वी) पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ र कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष पदमा निर्वाचन हुने आयोगका सूचना अधिकृत सुमन घिमिरेले जानकारी दिए।
दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४, जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५, रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका वडा नम्बर ५, बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाअध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ।
मंसिर २ मा उम्मेदवारी दर्ता
उपनिर्वाचनका लागि मङ्सिर २ मा उम्मेदवारी दर्ता गर्नुपर्नेछ। मंसिर २ को बिहान १० देखि अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने छ भने सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ।
आयोगका अनुसार २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहमा रिक्त रहेको पदमा महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिइएको छ।
मंसिर ३ को बिहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपरान्ह ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ को साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ।
मंसिर ५ को बिहान ९ देखि अपरान्ह १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छ भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। मंसिर १६ को बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान हुनेछ।
कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन्?
निर्वाचन आयोगले उम्मेदवारको मनोयनपत्र दर्ता भएको मितिदेखि निर्वाचन परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवारले गर्न पाउने खर्चको हद तोकेको छ।
नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले चार लाख ५० हजार, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले ३ लाख ५० हजार, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले ५० हजार रूपैयाँसम्म खर्च गर्न सक्नेछ।
महानगरपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले ३ लाख, नगरपालिका वडाध्यक्ष पदका उम्मेदवारले २ लाख र गाउँपालिकाका वडाअध्यक्षले एक लाख ५० हजार रुपैयाँ खर्च गर्न सक्नेछ।
आयोगले यही कात्तिक १ गते आसन्न स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय तोकेको छ। उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहनेछ।
वडाअध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगले जनाएको छ।
उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता
उपनिर्वाचनका लागि आयोगमा २५ राजनीतिक दल दर्ता भएका छन्। आयोगमा दर्ता भएका २६ राजनीतिक दलमध्ये रीत पूरा भएका २५ दल दर्ता गरिएका आयोगले जनाएको छ।
उपनिर्वाचनमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टी र नेपाल मजदुर किसान पार्टीले सहभागिता जनाउने छन्।
यसैगरी मंगोल नेशनल अर्गनाइजेसन, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन एकता पार्टी, समावेशी समाजवादी पार्टी नेपाल, हाम्रो नेपाली पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाली कांग्रेस (बीपी), राष्ट्रिय मातृभूमि पार्टी, जनमत पार्टी र नेपाली जनता दल दर्ता भएका छन्।
-अशोक घिमिरे/रासस
कात्तिक २२, २०८१ बिहीबार १८:३४:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।