राष्ट्रपति पौडेलले गरे छठी माताको पूजा
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ छठ पर्व २०८१ का अवसरमा छठी माताको पूजा-आराधना गरेका छन्।
राष्ट्रपति पौडेलले काठमाडौंको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थल पुगेर बिहीबार अपराह्न छठी माताको पूजाअर्चना गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घ्य दान गरेका थिए।
राष्ट्रपति पौडेल सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिरअघि बागमती किनारमा निर्माण गरिएको छठ पूजास्थल पुगेका थिए। त्यहाँ उनले सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरे।
उनले गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थल पुगेर पूजा-आराधना गरे। गुहृेश्वरी र कमलपोखरीमा राष्ट्रपति पौडेललाई छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए।
कात्तिक २२, २०८१ बिहीबार १८:१२:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।