गायक सीतारामको हिजोको कुरा : घरको ढलान गर्नलाई पैसा नभएपछि ‘गौरादहको बजारमा’लाई ५० हजारमा बेचें

गायक सीतारामको हिजोको कुरा : घरको ढलान गर्नलाई पैसा नभएपछि ‘गौरादहको बजारमा’लाई ५० हजारमा बेचें

रेडियो नेपालमा ३५ वर्ष बिताएका गायक सीताराम ताजपुरिया आफ्नै गाउँ झापाको गौरादहमा फर्किएका छन्। उनले रेडियो नेपालमा गायनका अलावा बिहान-बेलुका 'तपाईंको फर्माइस'लगायतका कार्यक्रम चलाएर २३ वर्ष बिताए। बुढेसकाल लागेपछि श्रीमतीलाई लिएर गौरादह चोकबाट अलिकति पर तल तलाको घर बनाएर बस्दै आएका छन्। गौरादहको बजारमा, छिटको साडी लगायत २ सय वटा भन्दा बढि गीत गाएका गायक सीताराम अहिले आँखा पनि मधुरो देख्न थालेछन्। 

वि.स.२०१५ सालमा आदर्श गाउँ पञ्चायत गौरादहमै जन्मिएका हुन् सिताराम। उनको बाल्यकाल यही गौरादहमा नै बित्यो। स्कुलमा हुँदा साथीभाइलाई गीत गाउँदै सुनाएका उनले ३७ सालमा एसएलसी पास गरे। त्यसपछि रेडियोमा आफ्नो गीत बजे कस्तो सुनिन्थ्यो भन्ने उनलाई लाग्यो। आमा उनी सानो छँदै बितेपछि हजुरआमा, भाउजूको छत्रछायामा हुर्किए। 

सीतारामले रेडियो नेपालमा गीत गाउनका लागि प्रधानपञ्च र अञ्चलाधीशबाट सिफारिस राजधानी पसे। कोही नचिनेको हुनाले उनको बास रत्नपार्कको फलैचा जस्तोमा भयो। गायक राम थापासँग भेट भएपछि उनले रेडियो नेपालमा गायनमा परीक्षा पास गरे। त्यसपछि उनले धमाधम आफ्नै भाषाको र नेपाली गीत गाए। 

‘गौरादहको बजारमा’ बोलको गीत गाएपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन। उनका अधिकांश गीतहरू चर्चामा रहे। तत्कालीन राजा वीरेन्द्रले नारायण हिटीमा नै बोलाएर राष्ट्रिय कलाकारको उपाधि दिँदा उनको खुशीको सिमाना रहेन। रेडियो नेपालमा गायनमा अस्थायी मुखियाको जागिर सुरु गरेका उनले स्थायी रुपमा बढुवा हुँदै गए। उनले प्रतिष्ठित गायन अधिकृतपछि भने अवकाश लिए। ३७ सालमा काठमाडौं हिँडेका उनले रेडियो नेपालमै ३५ वर्षभन्दा लामो समय जागिर खाए। 

उनले उकेराकर्मी भोला अधिकारीसँग आफूले भोगेको तीता-मीठा अनुभव उकेराको कोलम हिजोको कुरामा यसरी सुनाए :

000

हामी स्कुल पढ्दा छोरीलाई पढाएर के काम भन्थे अभिभावक
मैले थाहा पाउँदासम्म यो गाउँलाई आदर्श गाउँ पञ्चायत गौरादह भनिन्थ्यो। मान्छेहरू अहिलेका जस्तो टाठा-बाठा थिएनन्। एकदमै इमान्दार थिए। स्कुल पनि नजिकै थियो। मैले जनता माध्यमिक विद्यालयबाट पढ्न थालेको हो। एउटा कक्षा कोठामा ४०/५० जना विद्यार्थीहरू हुन्थे। छोराछोरी सबै बराबरी जस्तै नै पढ्थे। तर, हाम्रो ताजपुरिया समुदायका अभिभावकहरू छोरीलाई पढ्न पठाउँदैन थिए। 'किन पढ्ने, पढेर के गर्ने' गार्जेनहरूको बोली यस्तो थियो।

त्यो समयमा छोरीलाई पढाएर के काम भन्ने गर्नुहुन्थ्यो। त्यही भएर धेरैले पढेनन्। तर क्षेत्री-बाहुन, राई-लिम्बू, अग्रवाललगायत अरू समुदायका चेलीहरू पढ्न आउँथे। स्कुलको पढाई अहिलेको जस्तो नरम कहाँ थियो र त्यतिबेला! ९ क्विन्टल चिनीको मूल्य एक रूपैयाँ हुँदा एक केजीको कति रूपैयाँ पर्यो? भन्दा फ्याट्टै उत्तर दिनुपर्यो। नदिए भाटो। अहिलेको जस्तो कहाँ क्याल्कुलेटर थियो र? केही थिएन। मुखैले उत्तर दिनुपर्थ्यो। त्यतिबेलाको पढाई कडा थियो।

मलाई अहिले पनि धेरै कुराहरू याद छ, विद्यार्थीहरूमा अनुशासन थियो, शिक्षकसँग सबै डराउँथे। यही मेसोमा मैले ३७ सालमा एसएलसी पास गरें। एसएलसी दिएपछि मलाई रेडियो नेपालमा गीत गाउने इच्छा बढ्यो। म गीत गाउनका लागि काठमाडौं जान्छु भनेर कुरा निकाल्दा मेरो हजुरआमाले 'रन्*डो  हुने भइस् अब' भनेको मलाई अझै याद छ। उहाँको भनाई के थियो भने केटी मान्छे गायिका भयो भने रन्*डी हुन्छन् अनि केटा मान्छे 'रन्*डो हुन्छन्। 

उहाँले साँच्चै भन्नुभएको हो की, जिस्किनु भएको हो थाहा भएन। तर, त्यतिबेला हजुरआमाले भनेको यो कुरा बेलाबेला सम्झन्छु। र, हाँस्छु।

रेडियो नेपालमा गीत गाउनका लागि प्रधानपञ्चदेखि अञ्चलाधीशको सिफारिस पत्र
रेडियो नेपालमा गीत गाउन सिधै जाँदा पाइँदैन थियो। त्यतिबेला गाउँ पञ्चायतदेखि अञ्चलको सिफारिस पत्र चाहिन्थ्यो। त्यसबेला नरबहादुर बस्नेत हुनुहुन्थ्यो प्रधानपञ्च। उहाँले फलानालाई गीत गाउन दिनु भनेर रेडियो नेपाललाई पत्र लेखिदिनुभयो। हामी गरिब परिवारको मान्छे, सिफारिस पत्र लेखेपछि ती प्रधानपञ्चसँग मैले गाडी भाडा पनि मागें। नभन्दै उहाँले एक सय २५ रुपैया दिनुभयो। अनि त्यो सिफारिस पत्र र पैसा पाएको कुरा साथीभाइहरूलाई देखाउन थाले, खुसीले।

यसरी पत्र देखाउन थालेपछि साथीहरूले 'गाउँ पञ्चायतले दिएर कहाँ हुन्छ। जिल्लाबाट लगेको भए पो हुन्छ' भन्न थाले। अनि त मलाई अब रातभरि निन्द्रा लाग्न लागेन। कहिले उज्यालो होला र जिल्ला जाउँ भन्ने भइसक्यो। अनेक कुराहरू मनमा खेलाउँदा-खेलाउँदै उज्यालो होला जस्तो भयो। अनि जुरुक्कै उठेर पाडाजुगी हिँडेरै पुगें। त्यतिबेला पाडाजुगी निस्किने बाटो पनि घनघोर जंगल थियो। 

त्यसपछि जिल्लाको सिफारिस बनाउन चन्द्रगढी गएँ। त्यहाँ पुगेपछि 'मलाई सिफारिस पत्र देला कि नदेला, आफू त आदिवासी परियो, बोल्न त राम्रोसँग आउँदैन, के को गीत गाउन जान्दछ' भन्ने लागिरह्यो। नभन्दै त्यस्तै भयो पनि। त्यतिबेलाको सिडिओको नाम अहिले पनि मलाई याद छ। सिडिओ दानबहादुर शाही हुनुहुन्थ्यो भने अञ्चलाधीश लिलाराज बिष्ट।

अनि मैले उहाँहरूलाई भेटेपछि 'हजुरहरूसामु बिन्ती बिसाउन आको, एउटा सिफारिस चाहिया थियो' भनें। 'के को लागि हो?' भन्नुभयो। मैले काठमाडौंलाई भनें। जबाफमा उहाँहरूले गीत नसुनिकन सिफारिस दिन नमिल्ने भन्नुभयो। उहाँहरूले भनेको कुरा पनि सत्य हो नि। अनि मैले गीत गाउँछु भनें। त्यसपछि त्यहाँ सिडिओदेखि अञ्चलाधीश सबै मेरो गीत सुन्न भेला हुनुभयो। 

सबैजना भेला भएपछि 'ए, भाइ नै हो गीत गाउन जान लाग्या' भनेर सोध्न थाले। मैले हो भनेर जबाफ दिएँ। त्यसपछि उहाँहरूले चिया खाऊँ भन्दै सम्मान स्वरूप सोफामा राख्नुभयो। अनि फेरि मैले उहाँहरूलाई सोधें, पहिला लोक गीत सुनाउ कि आधुनिक? उहाँहरूले लोकगीत नै सुनाउनु भनेपछि त्यो बेला अञ्चलाधीशको अफिसमा ‘धानको बेला सुनौली खेतैमा’ भन्ने गीत सुनाएँ। गीत सबैले मन पराउनुभयो। मलाई आमा अनि हजुरआमाले लोक गीत गाउन सिकाउनुभएको थियो। मैले मज्जाले गाएँ। 

त्यतिले मात्र नपुगेपछि मैले आधुनिक गीत सुनाएँ, ‘म आफ्नै आँखाबाट झरेको छु ,झरेको पातलाई जसले टेके पनि हुन्छ’। यो गीत सुनेपछि मलाई तुरुन्तै सिफारिस पत्र लेखिदिनुभयो। त्यहाँ पनि मैले 'मसँग त पैसा छैन,य सो भाडा पाउन पाए पनि हुन्थ्यो' भनें। उहाँहरूले पनि मलाई एक सय २५ रूपैयाँ दिनुभयो।

त्यसबेला काठमाडौं जाँदाको फुलभाडा ७५ रूपैयाँ थियो, भनसुन गर्दा ५०/६० मा लैजान्थे। मसँग २ सय ५० रूपैयाँ भयो। मेरो आमा म सानो छँदै बित्नुभएको, मलाई त्यति राम्रो सम्झना पनि छैन। काठमाडौं जाने भनेपछि मेरो भाउजूले कताबाट खोजखाज गरेर ५२ रूपैयाँ दिनुभयो। त्यसपछि ठूल्ठूला पोका पारेर मुराई (भुजा), चिउरा कीराले खाको झोलामा पोको पारेर त्यसैमा हाल्दिनुभयो। त्यही लिएर म काठमाडौं हिँडेको। त्यसबेलादेखि झण्डै ४० वर्ष काठमाडौंमै बसें। अहिले ४/५ वर्ष भयो, गौरादहमै बस्या छु।

मान्छे नचिन्दा रत्नपार्कको पूर्वपट्टि रहेको छातामा बास
गीत गाउनका लागि काठमाडौं हिँडेको म, न कसैसँग चिनजान छ, न त् बास बस्ने ठाउँ नै। त्यो रत्नपार्कमा पूर्वपट्टि एउटा सिमेन्टीको छाता जस्तो छ, त्यहीं बसें। त्यो भाउजूले हाल्दिनुभएको खास्टो ओछ्याउथें अनि त्यसैलाई ओड्थें। मेरो १५/२० दिन त डेरै त्यही छाता भो। यहाँ बस्दा बस्दा भाउजूले हाल्दिनुभएको मुराई पनि सिद्धियो। बिस्तारै पैसा पनि सिद्धिन लागि सक्यो। घर जाउँ भने पनि के जाइ भो र, गीत रेकर्ड गर्न आएको मान्छे! 

नभन्दै राम थापा दाइलाई भेटें। दाइ म गीत रेकर्ड गर्न आएको भनेर सुनाएँ। उहाँले 'सबै कागजपत्र लिएर आउ' भन्नुभयो। मैले त्यसै गरें। उहाँले सोधेपछि मैले गीत पनि तयार भएको बताएँ। अनि गीतको लागि स्वर परीक्षामा सहभागी भएँ। पहिला लोकगीत र पछि आधुनिक गीतको परीक्षा दिएँ। नभन्दै दुई वटै गीतमा पास पनि भएँ। यो ३७ सालकै कुरा हो। 

३८ सालमा त म अस्थायी रुपमा मुखियाको जागिर नै खाएँ, रेडियो नेपालमा। त्यतिबेला मेरो जागिरको तलब भन्ने हो भने २४५ रूपैयाँ थियो। रेडियो नेपालमा बिना पारिश्रमिक काम लगाउँदैन थिए। त्यतिबेला गीत गाउने गायक-गायिका तथा संगीतकारलाई २० रूपैयाँ पारिश्रमिक रेडियो नेपालले दिन्थ्यो। मैले अस्थायी हुँदै यसमा जागिर ३५ वर्षसम्म खाएँ।

घरमा ढलान गर्न पैसा नपुग्दा ५० हजारमा गीत बेचें
मैले रेडियो नेपालमा स्वर परीक्षा पास गरेपछि राम थापा दाइले आफ्नै भाषाको गीत गाउ भन्नुभयो। मैले मौका पाउँदा किन छोड्थे र? मलाई आमाले आफ्नै भाषाको गीत सिकाएर पठाउनुभएको थियो। नेपाली भाषामा 'काली-काली भए पनि राम्री छौ' भन्ने शब्दको गीत ताजपुरियामा गाएँ। अलिकपछि त ‘गौरादहको बजारमा’ भन्ने गीत रेकर्ड गराइहालें। यो गीत गाएपछि ओहो, कति हिट भएँ-भएँ! अनि ४२ सालमा ‘छिटको साडी’ गीत रेकर्ड गराएको थिएँ। यि दुवै गीत हिट भए। सबैको प्रतिक्रिया राम्रो थियो।  

मैले रेडियो नेपालमा बोल्नेमै २३ वर्ष काम गरें। बिहान र बेलुका कार्यक्रमहरू चलाउने गर्थें। 'तपाईंको फर्माइस्, गीत बहार’ यस्तै-यस्तै कार्यक्रमहरू थिए। रेडियो नेपालमै मुखियाबाट सुरू गरेको जागिर अहिले प्रतिष्ठित गायन अधिकृतसम्म भएँ। रेडियो नेपालमा गीत गाउन निकै गाह्रो थियो, मान्छेहरूले दिदैनन् भन्ने सुन्नमा आउँथ्यो। तर, गलत रहेछ। रेडियो नेपालमा स्वर, शब्द पास नभईकन गीत गाउन दिँदैन थिए। मैले पनि त परीक्षा दिएरै पास गरेको हो। ठुलै कलाकार भए पनि स्वर पास नगरिकन रेडियो नेपालमा गीत पाउँदैन थियो। 

गीत रेकर्ड हुनका लागि पहिला गीत सेन्सरबाट पास भएपछि मात्रै हो। सबै कलाकारहरूले मेहनत गर्थे। गीत राम्रो पनि बन्थ्यो। स्वर पास गरिसकेपछि छाप लाग्थ्यो। अनि मात्रै हो, गीत गाउन पाउने। अहिले त त्यस्तो छैन। पैसा भयो भने जो पनि कलाकार भइहाल्छन्। कतिका गीतका शब्द पनि पो म बुझ्दिनँ। के हो, के हो! 

घरको ढलान गर्नलाई मसँग पैसा भएन। पैसा नभएपछि मैले ‘गौराहदको बजारमा’ गीतलाई ५० हजारमा बेचें। इटहरीको एकजना भाइले किन्नुभयो। यो बाहेक मैले कुनै गीतलाई रि-रेकर्ड गर्नेदेखि बेच्ने काम गरिनँ। पैसा अभाव हुँदा आफ्नै सिर्जना बेच्न पुगियो।

रानी ऐश्वर्यको नाच असाध्यै राम्रो
हामी नारायणहिटीमा रहेको मन्दिरमा भजनकृतन गाउनका लागि जान्थ्यौँ। तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहदेव र ऐश्वर्यलाई भजनकृतन खूब मन पर्ने। त्यहाँबाट बेलाबेलामा भजनकृतन गाउन बोलाउने गर्थे। राजपरिवारलाई मैले ‘जय गणपति मंगल काली’ भजन गाउँदा खूब राम्रो लाग्थ्यो रे!

भजन बाहेक राजालाई मेरो गीत ‘गौराहदको बजारमा’असाध्यै मन पर्दो रहेछ। राजपरिवार बेलाबेलामा देशका विभिन्न स्थान जाने गर्नुहुन्थ्यो। एकदिन राजारानी हेटौडा जाने हुनुभयो। त्यसमा मैले पनि जाने मौका पाएँ। त्यतिबेला रानी ऐश्वर्य नाच्नुभएको थियो। उहाँको नाच हेर्ने मौका पाएँ। उहाँ नाच्दा यति राम्रो नाच्नुभएको थियो नि, त्यस्तो नाच मैले अहिलेसम्म देखेको छैन। त्यति राम्रो नाच्नुभएको थियो।  

उहाँ गीत लेख्नु हुने भएकाले हाम्रो कुराकानी भेटघाट चलिरहन्थ्यो। रानीका थुप्र गीतहरू रेडियो नेपालमा रेकर्ड भएका छन्। त्यो क्रममा उहाँसँग नजिक हुने र बोलचाल गर्ने मौका पाएको हो। निकै सरल मान्छे लाग्थ्यो।

यही क्रममा मलाई राजाको हातबाट नारायणहिटीमा ५७ सालमा राष्ट्रिय गायकका रुपमा सम्मानित गरियो। राजा वीरेन्द्रले मलाई सम्मान गर्ने क्रममा कुममा धाप मार्दै 'कलाकार रैछौँ, आजबाट तिमी पनि राष्ट्रिय कलाकार भयौँ' भन्नुभयो। यो भनेपछि र राष्ट्रिय कलाकार भयौं भन्दै सम्मान पाउँदा उडौँ-उडौँ जस्तै लाग्यो। त्यति खुशी भए। म जस्तो केही नभएको मान्छेलाई राजाले सम्मान गर्दै राष्ट्रिय कलाकार भयौँ भन्नु त कति ठुलो-ठूलो नि!

राजनीतिक विषय के होला म जान्दिनँ, तर राजाले कलाकारहरूलाई धेरै माया गर्नुहुन्थ्यो। अनि सम्मान पनि। अहिले त म ति दिनहरू सम्झँदा सपना जस्तै लाग्छ।

कात्तिक २१, २०८१ बिहीबार १७:४६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।