उपनिर्वाचनका लागि रास्वपाले तोक्यो सातै प्रदेशमा ‘कमाण्डर’, अन्य दलसँग गठबन्धन नगर्ने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
बुधबार केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य सांसद गणेश पराजुलीको सभापतित्वमा बसेको बैठकले सातै प्रदेशमा चुनावी अभियान अघि बढाउन विभिन्न नेताहरूलाई जिम्मेवारी दिनुका साथै प्राइमरी निर्वाचनको कार्यतालिका पनि फाइनल गरेको हो।
जसअनुसार कोशी प्रदेशमा केन्द्रीय सदस्य तथा सांसद निशा डाँगीले कमान्ड सम्हाल्नेछिन्। मधेशमा डा.चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार कमाण्डर तोकिएका छन्। यस्तै, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिममै विष्णुकुमार श्रेष्ठले जिम्मेवारी पाएका छन्।
पार्टीले उम्मेदवारीका लागि आवेदन दिन ‘गुगल फारम’ वा निर्वाचन परिचालन समितिमा उपलब्ध आवेदन फारम भर्न समेत सूचना जारी गरेको छ। केन्द्रीय निर्वाचन संयोजन समितिबाट स्थानीय तह उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन कार्यतालिका समेत तयार गरेको कार्यबाहक प्रवक्ता मनिष झाले बताए।
यता, संयोजक पराजुलीले आजदेखि उम्मेदवार आह्वान गरेर केही दिनमा टुङ्गो लगाउने बताए। पराजुलीका अनुसार उम्मेदवार छनोट सर्वसम्मत प्रक्रियाबाट टुङ्गो लगाइने छ। यदि एकभन्दा बढी आकांक्षी भएमा ‘प्राइमरी’ मतदानमार्फत उम्मेदवार चयन गरिने छ।
उनले पार्टी संयन्त्र नभएका स्थानमा स्वतन्त्र उम्मेदवारदेखि मधेशमा राजनीतिक दलसँग सहकार्यको तयारी रहेको जानकारी दिए।
'सबै स्थानमा उम्मेदवार उठाउने कुरा हो, तर भुगोलअनुसार उपस्थिति नपुग्न सक्छ। हाम्रो संयन्त्र नभएका स्थानमा कसलाई सहयोग गर्ने भन्नेबारे छलफल गर्दैछौँ, उनले भने।
उनले स्थापित राजनीतिक दलसँगै सहकार्य हुने सम्भावना भने कम रहेको स्पष्ट पारे। रास्वपाले उम्मेदवार छनोट प्रक्रियाको प्राविधिक पाटो टुङ्गो लागेपछि चुनावी कार्यक्रममा ध्यान केन्द्रित गर्ने जनाएको छ।
संयोजक पराजुलीले यस उपनिर्वाचनबाट पार्टीको मुद्दा स्थापित गर्न सहयोग पुग्ने बताए।
'उपनिर्वाचनलाई हार र जित भन्दा जनतामाझ हाम्रो पार्टीको मुद्दा स्थापित गर्ने गरी कार्यक्रम तय गर्दैछौँ, उनले भने।
विभिन्न कारणले स्थानीय तहमा ४४ रिक्त पदका लागि आगामी मङ्सिर १६ मा उपनिर्वाचन हुँदैछ।
कार्यतालिका :
प्रारम्भिक उम्मेदवारहरूको नामावली प्रकाशन, कात्तिक २५ , साँझ ८ः०० बजेसम्म
प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोध, कात्तिक २६, साँझ ५ः०० बजेसम्म
उम्मेदवारसँग छलफल, कात्तिक २७, साँझ ५ः०० बजेसम्म
उम्मेदवारको अन्तिम नामावली प्रकाशन, कात्तिक २७
मतदान/निर्णय, कात्तिक २८, साँझ ७ः०० बजेसम्म
नतिजा प्रकाशन, कात्तिक २९, दिउँसो १ः०० बजे
कात्तिक २२, २०८१ बिहीबार १६:३३:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।