नेपालले कुवेतलाई १०८ रनले हरायो

नेपालले कुवेतलाई १०८ रनले हरायो

काठमाडौं : आईसीसी यु१९ टी-२० महिला विश्वकपको एसिया छनोटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ।

युएईमा जारी छनोटमा बिहीबार नेपालले कुवेतलाई १ सय ८ रनले पराजित गरेको हो। नेपालले पहिलो खेलमा बुधबार थाइल्यान्डलाई ६७ रनले हराएको थियो।

१ सय ३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा अल आउट हुँदै २२ रनमा समेटियो। कुवेतका लागि ओपनर जिफाले १२ रन बनाइन्।

नेपालकी रचना चौधरी र सिमाना केसीले समान २ तथा कप्तान पुजा महतो, कृष्मा गुरुङ र मनिशा उपाध्यायले समान १ विकेट लिए।

अजमानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रनको योगफल तयार गरेको थियो।

कप्तान पुजाले ३८ बलमा ४ चौकाको सहयोगमा ३४, ओपनर साना प्रविनले १८ बलमा ५ चौकाको सहयोगमा २५ तथा ज्योत्सिका मरासिनीले १८ बलमा २३ रन जोडिन्।

अलिशाकुमारी यादवले १० बलमा १५ तथा सोनी पाख्रिन र सावित्री धामीले समान ६ रन बनाए।

कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ। तेस्रो खेलमा कात्तिक २४ गते घरेलु टोलीसॅंग खेल्ने नेपालको चौथो खेल कात्तिक २५ गते थाइल्यान्डसॅंग हुनेछ।

पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसॅंग खेल्ने नेपालको‌ अन्तिम खेलमा कात्तिक २८ गते युएईसॅंग रहेको छ। छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ। विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ।

कात्तिक २२, २०८१ बिहीबार १४:१७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।