ट्रम्प राष्ट्रपतिमा विजयी भएसँगै बाइडेनले गरे फोन, सत्ता हस्तान्तरणबारे छलफल गर्न ह्वाइट हाउसमा निम्तो
एजेन्सी : रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचनमा जित हात पारेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्पलाई फोन गरी बधाई दिएका छन्।
ट्रम्पको राष्ट्रपति निर्वाचन अभियानका प्रवक्ता स्टिभन चाङले यसबारे जानकारी दिएका हुन्। बाइडेनले सत्ता हस्तान्तरण प्रक्रियाबारे छलफल गर्न ह्वाइट हाउसमा आउन आमन्त्रण गरेको उनको भनाइ छ।
चाङले भने, ‘ट्रम्प ह्वाइट हाउसमा छिट्टै हुने बैठकको प्रतिक्षामा छन् र उनले बाइडेनको आह्वानको प्रशंसा समेत गरेका छन्।’
अमेरिकी राष्ट्रपति निर्वाचनपछि वर्तमान राष्ट्रपतिले ह्वाइट हाउसमा आगामी राष्ट्रपतिलाई निम्तो दिएर भेट्ने र बधाई दिने परम्परा छ।
यसरी बोलाइसकेपछि दुवै जना सपथ ग्रहण समारोहका लागि राजधानी वासिङ्टन डिसी प्रस्थान गर्नेछन्।
तर, सन् २०२० मा अमेरिकी राष्ट्रपति चुनावमा पराजयपछि डोनाल्ड ट्रम्पले यो परम्परालाई पालना गरेनन्।
कात्तिक २२, २०८१ बिहीबार १२:२३:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।