नयाँ ठेक्का लगाइएको बुटवलको मुख्य सडकको काम शुरू

नयाँ ठेक्का लगाइएको बुटवलको मुख्य सडकको काम शुरू

बुटवल : आठ वर्षसम्म पनि काम सम्पन्न नभएपछि ठेक्का रद्द गरी नयाँ ठेक्का लगाएपछि बुटवलको मुख्य सडकको काम शुरू भएको छ।

तिहार लगत्तै निर्माण कम्पनी बावुल दर्शन मालिका जेभीले बुटवलको मुख्य सडक राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम शुरू गरेको हो।

पुरानो ठेकेदार कञ्चनजङ्घा बिरुवा जेभी काठमाडौंसँग सम्झौता तोडेर सडक विभागले बावुल दर्शन मालिका जेभीले निर्माणको जिम्मेवारी दिएको थियो।

बावुल दर्शन मालिका जेभी भैरहवाका कोओनर टउफिक रहमान खानले कामलाई तीव्र रूपमा अघि बढाइएको बताए। अहिले बुटवलको ईलाका प्रशासनबाट गोलपार्क तर्फको सर्भिस एरियामा काम थालिएको छ।

सडक कार्यालय बुटवलका प्रमुख जिवेन्द्र मिश्राका अनुसार बुटवलको चौराहादेखि गोलपार्कसम्मको ३.२५ किलोमिटर सडक ६ लेनमा विस्तार गर्न लागि भ्याटसहित ३३ करोडमा बावुल दर्शन मालिका जेभीले ठेक्का पाएको हो।

कञ्चनजङ्घा बिरुवा जेभीसँग २०७३ साल चैत्र १७ गते २०७६ सम्ममा सडक विस्तार सक्नेगरी ५३ करोड ९७ लाख ९९ हजार ४०० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। तर, ८ वर्षसम्म पटक–पटक म्याद थप्दासमेत सडक विस्तार सम्पन्न नभएपछि गत वैशाखमा सडक डिभिजन कार्यालय बुटवलले उक्त ठेक्का रद्द गरेको थियो।

अब चौराहदेखि चिडिया खोलासम्म निर्माण गर्दा सर्भिस लेन ठुलो र पार्किङ व्यवस्थापनसमेत मिल्ने गरी नयाँ डिजाइन गरेर काम अगाडि बढेको छ।

यहाँ फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रीनबेल्ट साथै स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुनेछ। सडकमै नाइट स्टल राख्न मिल्ने पनि बनाइँदैछ।

कात्तिक २२, २०८१ बिहीबार ११:५५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।