जर्सी सार्वजनिक गर्दै पोखरा एभेन्जर्स
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को सबैभन्दा महंगाे टिम पोखरा एभेन्जर्सले आज आफ्नो जर्सी सार्वजनिक गर्दैछ।
तीन वर्षको सम्झौतासहित पोखरा एभेन्जर्समा आवद्ध भएका जोन्टी रोड्स नेपाल आएसँगै टिमले जर्सी सार्वजनिक कार्यक्रम राखेको हो।
रोड्स हिजो काठमाडौं ओर्लिएर सिधै पोखरा पुगेका थिए। त्यहाँ उनलाई पोखरामा प्रशंसकहरूले भव्य स्वागत गरेका थिए।
त्यहा आज विहान भएको ‘राइड विथ जोन्टी रोड्स’ कार्यक्रममा सहभागी भएर रोड्स आजै काठमाडौं फर्किने तालिका छ।
काठमाडौंमा उनले नेपालमा उपलब्ध टिमका खेलाडीहरूलाई काेचिङ दिने र जर्सी सार्वजनिक गर्ने कार्यक्रम रहेको पाेखरा एभेन्जर्सका प्रबन्ध निर्देशक मनोबल श्रेष्ठले जानकारी दिए।
पूर्व दक्षिण अफ्रिकी क्रिकेटर रोड्सले यसअघि आईपीएलको मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्ससँग काम गरिसकेका छन्। उनले दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट र २४५ एकदिवसीय खेलमा प्रतिनिधित्व गरेका छन्।
नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्किरहेको पोखरा एभन्जर्समा चार विदेशी खेलाडीहरू इंग्ल्यान्डका म्याट क्रिचली, वेस्ट इन्डिजका एन्डर्सन फिलिप, अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डि लिडे अनुबन्ध भइसकेका छन्।
त्यस्तै टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत छनोट भइसकेका छन्।
त्यस्तै आईपिएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ।
एनपीएल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ।
कात्तिक २२, २०८१ बिहीबार १०:२६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।