यु१९ टी२० महिला विश्वकप छनोटमा नेपाल र कुवेत भिड्दै

यु१९ टी२० महिला विश्वकप छनोटमा नेपाल र कुवेत भिड्दै

काठमाडौं : १९ वर्षमुनिको टी२० महिला विश्वकपको एसिया छनोटमा आज नेपाल र कुवेत भिड्दैछन्।

खेल नेपाली समयअनुसार दिउँसो सवा ११ बजे युएईको सेभेन डिस्टिक्ट क्रिकेट मैदानमा हुनेछ।

यसअघि बुधबार भएको पहिलो खेलमा १९ वर्षमुनिका नेपाली महिला टोलीले थाइल्यान्डलाई ६७ रनले हराएको थियो।

उक्त खेलमा नेपालकी कप्तान पुजा महतो प्लेयर अफ दि म्याच बनिन्। ४० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाएकी पूजाले बलिङतर्फ तीन ओभरमा १५ डट राख्दै ३ रन खर्चिएर २ विकेट लिएकी थिइन्।

कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्यान्डको सहभागिता छ।

कात्तिक २४ गते घरेलु टोली युएईसँग खेल्ने नेपालको चौथो खेल कात्तिक २५ गते थाइल्यान्डसॅंग हुनेछ।

पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसॅंग खेल्ने नेपालको‌ अन्तिम खेलमा कात्तिक २८ गते युएईसॅंग रहेको छ।

४ टोली सहभागी छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ। विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ।

कात्तिक २२, २०८१ बिहीबार ०९:३९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।