छठको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मले दिए शुभकामना

छठको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मले दिए शुभकामना

काठमाडौं : छठ पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत उच्च पदस्थ व्यक्ति तथा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना व्यक्त गरेका छन्।

पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक लगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने विश्वास व्यक्त गरे।

शुभकामना दिँदै प्रधानमन्त्री ओलीले प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको र सूर्यलाई ग्रहहरूले गर्ने परिक्रमाबाट नै समयको मापन शुरू भएको स्मरण गराउँदै पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई इष्टदेवका रूपमा पुजिदै आएको बताए।

पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनोपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपालका विविध संस्कृति र पर्वहरू क्रमशः सम्पूर्ण नेपालीका साझा संस्कृति र परम्परा बन्दै गएको बताए।

सभामुख देवराज घिमिरेले समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र धार्मिक भावनाको प्रवर्द्धन गर्नतर्फ जोड दिँदै साझा उद्देश्यका लागि सामूहिक रूपमा पूजा गर्ने र समाजमा समानता र भाइचारा बढाउन सहयोग गरिरहेको स्मरण गराए।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने विश्वास व्यक्त गर्दै हरेक समुदाय, जाति र क्षेत्रमा आफ्नो संस्कार एवं आस्थाअनुसार चाडपर्वहरू मनाउनु र यस्ता समुदाय विशेष चाडपर्वलाई सम्मान गर्नु नेपालीहरूको सांस्कृतिक विशेषता भएको र यो नेपाली समुदायका लागि गर्वको विषय भएको उल्लेख गरे।

उपसभामुख इन्दिरा रानाले व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको रक्तसञ्चार गर्न, राष्ट्रलाई एकताबद्ध तुल्याउँदै समृद्धिको राष्ट्रिय आकाक्षा पूरा गर्न छठले सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्। हरेक समुदाय र क्षेत्रमा आफ्नो आस्थाअनुसार चाडपर्व मनाउनु र सबैको चाडपर्वलाई सम्मान गर्नु नेपालीको मौलिक सांस्कृतिक विशेषता रहेको भन्दै भूगोल र क्षेत्रफलको हिसाबले सानो भए पनि भाषा, कला, संस्कृति, चाडपर्व, वेषभूषा र सभ्यताका दृष्टिले नेपाली विश्वमै विशाल र वैभवशाली रहेको उल्लेख गरिन्।

राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले न्यायपूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्दै शुभकामना व्यक्त गरेकी छन्। परिवारको कल्याण, सन्तान सुख र मनोकामना पूरा हुने विश्वाससाथ मनाइने छठले विविध जातजाति, भाषाभाषी र समुदायमा छरिएर रहेका नेपालीबीच सामाजिक-सांस्कृतिक सद्भाव, सहिष्णुता, भाइचारा र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको बताए। प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा भएको समेत उनले स्मरण गराए।

यसैबीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संस्कृति र रीतिरिवाजको संरक्षणबाट आपसी सद्भाव र एकतालाई मजबुत बनाउन मद्दत मिल्ने भन्दै शुभकामना व्यक्त गरे।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनातथ आचार्यले मौलिक चाडपर्वहरुले आपसी सद्भाव थप सुदृढ पार्न सहयोग गरेको भन्दै छठ पर्वले सामाजिक र सांस्कृतिक एकता बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। यस पर्वले समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुग्ने उनको विश्वास छ।

सूर्य देवता र छठी माताको पूजाअर्चना र व्रत बसी रातभर खोला तथा पोखरीको किनारमा जाग्राम बसी धुमधाम तथा हर्षोल्लासका साथ छठ पर्व मनाइन्छ। खासगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल आएर काठमाडौं उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रद्धा एवं भक्तिपूर्वक मनाउने चलन बढ्दै गएको छ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास रहेको छ।

सम्पूर्ण प्राणीलाई समान शक्ति, ताप र प्रकाश दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर पूजाआराधना गरी यो पर्व मनाइन्छ।

कात्तिक २२, २०८१ बिहीबार ०९:२३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।