कानुनमन्त्रीसँगै जापान हिँडेका तीनै जनाको परिचय पत्र नक्कली, डिपोर्ट भएका मन्त्रीले ढाँट्दै भने ‘आफैँ फर्किएको हुँ’
काठमाडौँ : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारी बनेर जापान गएका खोटाङका दावा शेर्पा र कञ्चन देवकोटा नक्कली कर्मचारी रहेको पुष्टि भएको छ।
उनीहरू कानुन मन्त्री लिलाबल्लभ अधिकारीसँगै जापान जानेक्रममा अध्यागमनबाटै डिपोर्ट भएका थिए। डिपोर्टपछि प्रहरीले त्रिभुवन विमानस्थलमै उनीहरूलाई नियन्त्रणमा लिए पनि मन्त्री अधिकारी भने उम्किएका थिए।
प्रहरीले यी दुबैजनाको साथबाट मन्त्रालयको कर्मचारीको परिचय पत्र फेला पारेको थियो। परिचय पत्रमा उनीहरूको पद सहायक लेखिएको छ।
प्रहरीले दुबैजनाबाट बरामद भएको परिचय पत्र सक्कली हो या हैन भनेर लिखित रूपमा मन्त्रालयसँग जानकारी मागेको थियो। अनुसन्धानस्रोतका अनुसार मन्त्रालयबाट दुवै मन्त्रालयको कर्मचारी नभएको र उनीहरूको साथमा रहेको परिचय पत्र पनि नक्कली भएको लिखितै जानकारी गराएको छ।
अर्का जनक राईको साथबाट प्रहरीले ऐसेलुखर्क गाउँपालिकाको दुई नम्बर वडाको वडा सदस्य भएको परिचय पत्र फेला पारेको थियो। प्रहरीले गाउँपालिकासँग यसबारे बुझ्न पत्राचार गरेकोमा त्यताबाट पनि सो परिचय पत्र नक्कली भएको र उनी वडाको सदस्य नभएको लिखितै जानकारी आएको अनुसन्धानमा संलग्नस्रोतले उकेरालाई जानकारी दियो।
उनी आन्तरिक तथा कानुन मन्त्री भए पनि जापानको टोकियोमा नगरपालिकाको आयोजनामा हुन लागेको आर्ट सम्बन्धी कार्यक्रममा मन्त्री अधिकारी सहभागी हुने तयारीमा थिए।
उनीसहित चारै जनाको भिसा लागेपछि सबै सँगै जापान गएको तर अध्यागमनले शङ्का गरेर डिपोर्ट गरेको देखिएको अनुसन्धानरतस्रोतको दाबी छ।
बुधवार अधिकारीले मन्त्री पदबाट राजीनामाको घोषणा गर्न पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रममा सहभागी हुन आफू एक्लै गएको, हङ्कङमा ३ जना मान्छे भेटिएपछि शङ्का लागेर फर्किएको र आफैँले प्रहरीलाई जानकारी गराएको दाबी गरेका थिए।
तर विमानस्थल प्रहरीस्रोतका अनुसार मन्त्री अधिकारीसहित चारै जनालाई जापानको अध्यागमनका सुरक्षाकर्मीले तीन जनाको कागजपत्र शङ्कास्पद रहेको र मन्त्री अधिकारी समेत सँगै रहेकाले उनी समेत संलग्न रहेको शङ्कामा डिपोर्ट गरेको थियो।
अवैध रूपमा जापान जाने प्रयासमा रहेका चार जना डिपोर्ट भएको सूचना विमानस्थलको प्रहरीले पाएपछि सोही अनुसार उनीहरूलाई नियन्त्रणमा लिने तयारी गर्यो।
विमानसम्मै पुगेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिँदा एक जना बहालवाला प्रदेश मन्त्री नै रहेको खुलेपछि उपत्यका प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयमा जानकारी गराएर छाड्न आदेश आएपछि छाडेका थिए।
बाँकी तीन जनालाई थप अनुसन्धानका लागि काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा पठाए पनि घटना निकै गुपचुप राखियो। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखियो।
बयानका क्रममा उनीहरूले परिचय पत्र मन्त्रीको कार्यकक्षमै बनाएको र कागजपत्र बनाउन संलग्न व्यक्तिहरूको नाम लिएपछि धादिङका ३४ वर्षीय महेश पाण्डे, नुवाकोटका २३ वर्षीय जुगल रिजाल र दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार पक्राउ परे।
उनीहरूको बयानबाट जापानको कार्यक्रम खोजेर निमन्त्रणा पत्र बनाउने, त्यसमा सहभागी हुन सरकारी कर्मचारी भए सहज हुने भएकाले नक्कली परिचय पत्र बनाउने र मन्त्रीलाई समेत सँगै लैजाँदा शङ्का नहुने भन्दै महेशसहितको योजनामा काम भएको देखिएको अनुसन्धानरतस्रोतले भन्यो।
स्रोतका अनुसार मन्त्री अधिकारीले पक्राउ परेकाहरूलाई नेपालमा भेटेको, कार्यक्रममा सहभागी हुन जानेहरूको सूचीमा रहेको नामबारे मन्त्री अधिकारीलाई जानकारी भएको देखिन्छ।
मन्त्रीको विदेश भ्रमण मन्त्रीपरिषद्बाट स्वीकृत गर्नुपर्नेमा उनले स्वीकृत नगराएको, निमन्त्रणा पत्र आएपछि उनले राहदानी बुझाएर भिसा समेत लागिसक्दा पनि मन्त्रालयमा समेत जानकारी नगराएको र काठमाडौँ जान्छु भनेर जापान गएको देखिएकाले रकम असुलेर अवैध रूपमा तीन व्यक्तिलाई जापान लैजाने योजनामा उनको संलग्नता देखिन्छ। अधिकारी एमालेबाट निर्वाचित सांसद हुन्।
मानव तस्करीसम्बन्धी अनुसन्धान भएकाले अहिले यसबारे प्रहरीको मानव बेचबिखन ब्युरोले अनुसन्धान गरिरहेको छ। पक्राउ परेकाहरू भने जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासत कक्षमा छन्। राजीनामापछि मन्त्री अधिकारी भने मोबाइल अफ गरेर सम्पर्हिन भएका छन्।
कात्तिक २१, २०८१ बुधबार २१:५७:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।