कानूनमन्त्री अधिकारी मानव तस्करीमा मुछिएपछि कोशी सरकारको प्रवक्तामा भूपेन्द्र राई

कानूनमन्त्री अधिकारी मानव तस्करीमा मुछिएपछि कोशी सरकारको प्रवक्तामा भूपेन्द्र राई

विराटनगर : कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईलाई दिएको छ। आज बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले मन्त्री राईलाई प्रवक्ताको जिम्मेवारी दिएको हो। 

यसअघि कोशी सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी मानव तस्करीमा जोडिएपछि पदबाट राजीनामा दिएका थिए। त्यसपछि प्रवक्ताको जिम्मेवारी मन्त्री राईले पाएका हुन्।  

बैठकले संघीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण कार्यदलको समयावधि थप गर्ने निर्णय गरेको छ। 

त्यस्तै, खोरेँत रोग नियन्त्रण आयोजना सञ्चालनसम्बन्धी कार्यविधि-२०८१ स्वीकृत गर्ने, नोभेम्बर ११ मा अजरबैजानको राजधानी बाकुमा हुने संयुक्त राष्ट्रसंघीय प्रारूप महासन्धीको पक्ष राष्ट्रहरूको बैठक (कोप २९) मा पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल र सचिव विशाल घिमिरेलाई सहभागी गराउने र १० औँ राष्ट्रिय खेलकुदको तयारी तथा व्यवस्थापनका लागि थप नौ करोड बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता मन्त्री राईले जानकारी दिए।  

कात्तिक २१, २०८१ बुधबार २०:५१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।