भिआइपीहरूले काकाकुल बनाएको रेक्चालाई पानी खुवाउन पद नै दाउमा राखेर संघर्ष गरिरहेका वडा सदस्य तपेन्द्र

भिआइपीहरूले काकाकुल बनाएको रेक्चालाई पानी खुवाउन पद नै दाउमा राखेर संघर्ष गरिरहेका वडा सदस्य तपेन्द्र

सुर्खेत : चौकुने गाउँपालिका-५ रेक्चाका ४४ वर्षीय तपेन्द्र बुढाक्षेत्री त्यही वडाका वडा सदस्य हुन्। २०७९ को निर्वाचनमा एमालेबाट वडा सदस्यमा विजयी भएका उनी सशस्त्र प्रहरीका पूर्व हवल्दारसमेत हुन्। 

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरदेखि करिब ९० किलोमिटर पश्चिमको पहाडको खोँचमा एउटा बस्ती छ, जसको नाम हो रेक्चा। दशकौंदेखि काकाकुल रहेको रेक्चामा खानेपानीको समस्या समाधान गर्ने बुढाको ठूलो धोको छ। त्यसका लागि उनी कम्मार कसेर लागेका छन् पनि। 

त्यसैले पनि होला, कहिले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरिरहेका हुन्छन् त कहिले आफ्नो वडा सदस्य पद नै दाउमा राखेर आन्दोलनको नेतृत्व गर्छन्। उनकै संयोजकत्वमा रेक्चा खानेपानी समस्या समाधान संघर्ष समिति गठन भएको छ। 

हुन त रेक्चाको माटोले भिआइपीहरू नजन्माएको भने हैन। शिवराज जोशी नेपाल सरकारको तीन पटक मन्त्री, पदमलाल देवकोटा मध्यपश्चिम विश्वविद्यालयका पहिलो उपकुलपति, नेपाल विद्युत प्राधिकरणको निमित्त निर्देशक भइसकेका टिकाराम विसी अनि २०५४ देखि २० वर्षसम्म साविक गाउँ विकास समितिका अध्यक्ष भएका गोपाल विसी पनि रेक्चाकै स्थानीय हुन्। तर, यी भिआइपीहरूले रेक्चालाई काकाकुल हुनबाट रोक्न केही नै गरेनन्। 

यता, वडा सदस्य मात्र भएका तपेन्द्र भने दिनरात संघर्ष गरिरहेका छन्। गएको जेठ ३२ मा उनकै नेतृत्वमा चौकुने गाउँपालिकामा गाग्रीसहित ल्याएर धर्ना कार्यक्रम सम्पन्न भयो। त्यसले गाउँपालिकालाई त दबाब दियो नै। तर, आफैं वडा सदस्य भएर आन्दोलनको नेतृत्व गर्ने भनेर उनलाई पार्टी र पालिकाका जनप्रतिनिधिले आन्दोलन नगर्न चेतावनी दिए। 

तथापि तपेन्द्रले आफ्नो पद नै गएपनि रेक्चावासीले तिर्खा मेट्ने गरी पानी खान नपाउँदासम्म निरन्तर आन्दोलन गर्ने अडान लिए। उनी भोलिपल्ट नै पालिकाका अध्यक्ष लगायतको टोलीसँग कर्णाली प्रदेशका तत्कालीन जलस्रोत तथा उर्जा विकास मन्त्री रणसिंह परियारलाई भेटे। परियारले उनीहरुलाई विद्युतका लागि पोल उपलब्ध गराउने र खानेपानी समस्या समाधान गर्ने प्रतिवद्धता जनाए। 

तर, केही महिनापछि कांग्रेस-एमाले गठबन्धन बनेर सरकार फेरिँदा मन्त्री परियार पनि पदमुक्त भए। अनि रेक्चा खानेपानी समस्या ओझेलमा पर्यो।

केन्द्र सरकारबाट सडकका लागि पहल भएपनि खानेपानी समस्या समाधानका लागि भने कुनै योजना आएको छैन। अब तपेन्द्रले प्रदेशको मुख्यमन्त्री कार्यालयमा नै गाग्रीसहित आन्दोलन गर्ने तयारी गरिरहेका छन्। त्यसमा उनलाई रेक्चाका स्थानीयले पुर्णरुपमा साथ दिएका छन्। 

‘म जब शसस्त्र प्रहरीको जागिर छोडेर गाउँ फर्किएँ। यहाँको खानेपानी समस्याप्रति निकै चिन्तित भएँ। जनप्रतिनिधि भएर केही गर्न सकिन्छ की भनेर वडा सदस्य पदमा चुनाव लडें। जनताले पनि पत्याइदिए। तर, सदस्य भएर पनि यहाँको समस्या समाधान गर्न सकिएन,’ तपेन्द्रले भने, ‘त्यसपछि आफ्नै नेतृत्वमा संघर्ष समिति गठन गरेर निरन्तर आन्दोलन गरिरहेको छु। सदस्य भएर सरकारकै विरोध किन गरेको? भन्दै मेरै पार्टीका मान्छे र पालिकाका जनप्रतिनिधि भन्छन्। तर, मलाई सदस्य पदको कुनै वास्ता छैन। जबसम्म यहाँका मान्छेको तिर्खा मेटिँदैन तबसम्म म निरन्तर आन्दोलनमा होमिन्छु।’

कर्णाली प्रदेश सरकार र चौकुने गाउँपालिकाको संयुक्त लगानी एक करोड २७ लाखमा ठेक्का दिएको रेक्चा लिफ्ट खानेपनीसमेत अलपत्र अवस्थामा छ। सडक र विद्युतको अभाव देखाउँदै ठेकेदार उम्किरहेका छन्। यदि आयोजना सम्पन्न भएपनि पानी आउने सम्भावना नरहेको तपेन्द्र बताउँछन्। त्यसबाट पानी आउन सक्ने सम्भावना नदेखेपछि छिटोभन्दा छिटो समस्या समाधान गर्नका लागि हङ्कङ्गको कादुरी नामक संस्थाले डिप बोरिङ्ग मार्फत बनाउनेगरी प्रक्रिया अगाडि बढाएको छ। 

यो संस्थासँग समन्वय गर्नेमा पहिलो हात तपेन्द्रकै हो। संस्थाले स्थानीयको सहभागितामा जनश्रमदान र संस्थाले प्राविधिक, सामग्री र सम्पूर्ण लागत सहयोग गर्ने गरी ०८१ साउन ८ मा सम्झौतासमेत गरिसकेको छ। ट्याङ्कीका लागि तपेन्द्रले रेक्चा खानेपानी निर्माण उपभोक्ता समितिलाई आफ्नो जग्गासमेत निःशुल्क दिइसकेका छन्। 

तर, कादुरीले बाटो र विद्युतको बन्दोबस्त गर्ने जिम्मा स्थानीय र प्रदेश सरकारलाई दिएको छ। ३ वर्षमा काम सक्ने गरी संस्थाले समितिसँग सम्झौता गरेपनि सडक र विद्युतका कारण समयमा काम नहुने चिन्तामा छन् तपेन्द्र। त्यसैको पहलमा अहिले उनी पालिका, प्रदेश सरकार र संघ सरकारका सांसदसँग समन्वय गरिरहेका छन्।

‘विदेशी संस्थाले खानेपानी खुवाउँछु भनेको छ। तर, बाटो र बत्तिको काम स्थानीय र प्रदेश सरकारले गर्नुपर्ने छ। त्यसमा खासै ध्यान दिएको पाइँदैन,’ उनले भने, ‘पहिलो चरणमा पालिकासम्म आन्दोलन गर्यौं। अब प्रदेश हुँदै केन्द्र सरकारसम्म जान्छौं।’ 

डोको र खाली गाग्री लिएर आन्दोलन गर्ने र समस्या समाधान नगरे आगामी निर्वाचनमा सबै पार्टीलाई बहिष्कार गर्ने तपेन्द्रको चेतावनी छ। 

सम्बन्धित समाचार :

कात्तिक २१, २०८१ बुधबार १९:३४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।