कानुन मन्त्री नै मानव तस्कर ! ६ जना प्रहरी हिरासतमाहुँदा मन्त्री स्वतन्त्र
काठमाडौँ : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी मानव तस्करीमा जोडिएका छन्। कसैलाई पत्तै नदिई जापान हिँडेका उनी नक्कली कागज बनाएर तीन जनालाई सँगै लिएर गएपछि जापानको अध्यागमनले डिपोर्ट गरेको थियो। उनी जापान गएको सार्वजनिक भएपछि प्रदेश मन्त्रीपरिषद्बाट भ्रमण स्विकृती नै नभएको खुलेपछि विवाद शुरु भएको थियो।
आलोचनाकैक्रममा उनले बुधवार राजीनामा दिए। पहिला नैतिकताको आधारमा राजीनामा दिएको दाबी आयो तर राजीनामाको कारण भ्रमण स्वीकृत नगराई जापान जानुभन्दा पनि गम्भीर अपराध मानव तस्करी जोडियो।
अधिकारी मानव तस्करीमा जोडिएको घटनाबारे अहिले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
अनुसन्धानमा रहेकाहरूमा नक्कली कागजको आधारमा मन्त्री अधिकारीसँग जापान गएर उतै लुक्ने उद्देश्यले गएका तीन जना समेत छन्। अधिकारी भने पक्राउ परेका छैनन्।
प्रहरीले औपचारिक रूपमा यस घटनाबारे केही बोलेको छैन। खोटाङका ३६ वर्षीय दावा शेर्पा, जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटा नक्कली कागजका आधारमा मन्त्रीसँगै जापान गएको देखिएको र उनीहरुसहित ६ जना प्रहरी हिरासतमा रहेको पुष्टि भने भयो।
जापानबाट डिपोर्ट भएका तीन जनाको बयानको आधारमा प्रहरीले धादिङका ३४ वर्षीय महेश पाण्डे, नुवाकोटका २३ वर्षीय जुगल रिजाल र दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवारलाई समेत समातेको छ।
अनुसन्धानरत स्रोतका अनुसार उनीहरू मन्त्रीको सचिवालयका कर्मचारी बनेर कात्तिक १४ मा मन्त्री सहित जापान पुगेका थिए। तर उनीहरूलाई टोकियोस्थित जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरिदियो।
डिपोर्ट भएर नेपाल फर्काइएका चारै जनालाई त्रिभुवन विमानस्थलमा रहेको प्रहरीले नियन्त्रणमा लिएका थिए। अधिकारी मन्त्री भएको खुलेपछि उनलाई छाडियो। तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइयो।
अनुसन्धानमा उनीहरू प्रदेश मन्त्रालयको नक्कली कागजपत्र बनाएर जापान गएको खुलेपछि थप तीन जना पक्राउ परे। पक्राउ परेका ६ जनासँगको बयान र प्राप्त कागजपत्र अनुसार मानव तस्करीमा मन्त्री रहेका अधिकारीको प्रत्यक्ष संलग्नता देखिने एक प्रहरी अधिकारीले जानकारी दिए।
‘अहिले हिरासतमा ६ जना छन्, अनुसन्धान भइरहेको छ। नक्कली कागजपत्रहरू मन्त्रालयमै बनेको, मन्त्रीको जापानको भ्रमण ब्यक्तीगत नभई सरकारीतहको देखिएको तर स्विकृती नै नगरी हिँडेको देखिएकाले अधिकारी अनुसन्धानको दायरामै छन्। आज राजीनामा दिए। अब औपचारिक अनुसन्धानमा आउलान्’ एक प्रहरी अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने।
कात्तिक २१, २०८१ बुधबार १९:१७:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।