पूर्णबहादुरको सारङ्गीको शो सङ्ख्या तीन सय पुग्यो, तर टिकटकमा आएको क्लिपले खल्लो बनाउँदै फिल्म
काठमाडौँ : रिलिज भएको सातौँ दिन पुग्दा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ८० वटा शोबाट तीन सय शोमा पुग्यो। प्रारम्भमा निकै सुस्त ओपनिङ गरेको फिल्मको सकारात्मक समीक्षा अनि फिल्म हेरेका दर्शकहरूको सकारात्मक प्रतिक्रियाले एकाएक हलमा दर्शकको सङ्ख्या बढायो।
देशभरका करिब पाँच सय शोमध्ये तीन सय शो पाएको छ फिल्मले बुधवार। प्राय सबै शोहरु प्याक छन्। मध्यरातको शोमा समेत ८० प्रतिशत बढी अकुपेन्सी देखिन्छ।
तर प्रारम्भमा फिल्म हेर्न हल पुगेका दर्शकहरू जति उत्साहित देखिएका थिए पछि फिल्म हेर्न जानेहरूमा पनि त्यो उत्साह र प्रतिक्रिया कम हुँदै गएको देखिन्छ। यसको कारण हो टिकटक लगायतका सामाजिक सञ्जाल।
फिल्ममा रहेका महत्त्वपूर्ण सिनहरू दर्शकले हलमा खिचेर टिकटकमा राखिदिएका छन्। एकाध घण्टा टिकटकमा बिताउने हो भने लगभग फिल्मका सबै महत्त्वपूर्ण क्लिपहरू फेला पर्छन्। फिल्मको मूल सस्पेन्सका क्लिपहरू हेरेर हलमा पुगेका दर्शकहरू उत्साहित देखिएनन्। उनीहरूका लागि फिल्मका कुनै पनि दृश्य भावुक लागेन। मङ्गलवार बेलुका सिटी सेन्टरको हलमा फिल्म हेरेका दर्शकहरूले यस्तै प्रतिक्रिया दिइरहेका थिए।
टिकटकमा सार्वजनिक भएका क्लिपले फिल्मको हाइप बनाउनेभन्दा पनि फिल्म हेर्ने दर्शकहरूलाई खल्लो बनाए पनि निर्माण टिमले भने वास्ता गरेको देखिएन। महत्त्वपूर्ण सिनहरू नै सार्वजनिक हुँदा पनि निर्माण टिम हलमा बढेको शो सङ्ख्या अनि अकुपेन्सीमै मक्ख देखिए।
हलमा फिल्मको क्लिप खिचेर सामाजिक सञ्जालमा राख्दा भ्यूज त आउँला तर साइबर अपराधमा उजुरी पर्यो भने प्रहरीले पक्राउ गरेको न्युज पनि आउँछ भनेर सम्झाउन निर्माण टिम चुकिरहेको छ।
कात्तिक २१, २०८१ बुधबार १६:२६:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।