भारतलाई कप्तानी गरेर २०१२ मा यू-१९ विश्वकप जिताएका उन्मुक्त लुम्बिनी लायन्समा सामेल
काठमाडौं : भारतीय यू-१९ विश्वकप विजेता कप्तान तथा आईपीएल स्टार उन्मुक्त चन्द नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्समा अनुबन्धित भएका छन्।
उन्मुक्त चन्दले भारतलाई कप्तानको रुपमा २०१२ यू-१९ विश्वकप जिताएका थिए। उक्त फाइनल खेलमा उनले शतकसमेत प्रहार गरेर ऐतिहासिक जित दिलाएका थिए।
उनले दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डियन्स जस्ता ठूला फ्रेन्चाइजहरूका लागि आईपीएलमा खेल्दै आफ्नो ब्याटिङ कलाको प्रदर्शन गरेका छन्। हाल अमेरिकाको मेजर लिग क्रिकेटमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
यस बारेमा आफ्नो उत्साह व्यक्त गर्दै उन्मुक्त चन्दले भने, ‘नेपाल प्रिमियर लिगको यस पहिलो सिजनमा लुम्बिनी लायन्सको खेलाडीको रुपमा म मैदानमा उत्रिन आतुर छु। विश्वका विभिन्न क्षेत्रहरूमा क्रिकेट खेलप्रतिको माया बढेको देख्न पाउँदा म निकै खुसी छु।’
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले पनि खुसी व्यक्त गरे।
उन्मुक्त चन्दले ६७ फस्ट क्लास खेलहरूमा ३३७९ रन बनाएका छन् जसमा उनको औसत ३१.५७ रहेको थियो। उक्त खेलहरूमा उनको ८ शतक पनि समावेश रहेका छन्।
लिस्ट ए क्रिकेटमा उनले ४५०५ रन बनाएका छन् जसमा ४१.३३ को औसतका साथ ७ शतक समेत समावेश छन्। टी-२० मा पनि उनको कीर्तिमान प्रभावशाली छ, जहाँ उनले ८४ खेलमा १५६५ रन बनाएका छन् भने उनको ११६.०९ को उत्कृष्ट स्ट्राइक रेट छ।
नेपाल प्रिमियर लिग २०२४ आगामी मंसिर १५ देखि सुरू भई पौष ६ सम्म चल्नेछ। जसमा ८ वटा फ्रेन्चाइज टिमहरू प्रतिस्पर्धा गर्नेछन्। नेपाली र अन्तर्राष्ट्रिय खेलाडीहरूको मिश्रणले यो प्रतियोगितालाई थप रोमाञ्चक बनाउने भएको छ।
कात्तिक २१, २०८१ बुधबार १५:५१:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।