पाल्पामा हावाबाट बिजुली : १५० घरमा बालिने गरेकोमा अहिले पालिका र एउटा वडा कार्यालयमा मात्र सीमित

पाल्पामा हावाबाट बिजुली : १५० घरमा बालिने गरेकोमा अहिले पालिका र एउटा वडा कार्यालयमा मात्र सीमित

बुटवल : पाल्पाको निस्दी गाउँपालिका स्थित रुप्से डाँडाबाटमा जडान गरिएको वायुपंखा जडानबाट बिजुली उत्पादन भएको छ।

०७६ सालमा नेपाल विद्युुत् प्राधिकरणको राष्ट्रिय प्रशारण लाइन बिस्तार नभएको समयमै त्यहाँ हावाबाट बिजुली निकालिएको थियो। त्यस क्षेत्रका सांसद दलबहादुर रानाको पहलमा हावाबाट बिजुली निकाल्ने सम्भाव्यता अध्ययनपछि रुप्से डाँडामा हावाबाट बिजुली उत्पादन शुरु भएको हो।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र नेपालको एक करोड ८० लाख र निस्दी गाउँपालिकाको ४२ लाख १३ हजार आठ सय रुपैयाँ सहित स्थानीयको जनश्रमदान समेत गरि साढे दुई करोड बढी लगानीमा हावा र सोलारबाट २५ किलोवाट विद्युत उत्पादन भएको थियो।

हावाबाट १५ किलोवाट र सौर्य ऊर्जा हाइब्रिड प्रणाली मार्फत १० किलोवाट गरी २५ किलोवाट विजुली उत्पादन भईरहेको निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताए।

उक्त बिजुली निस्दी गाउँपालिकाको कार्यालय, वडा नम्बर ४ को कार्यालयमा मात्र वायु ऊर्जाको बिजुली प्रयोग गरिएको उनको भनाइ छ।

‘पहिले विद्यालयहरूमा पनि बिजुली थियो। तर, सामुदायिक बिजुली आएपछि यसको आवश्यकता परेन। गाउँपालिका र वडा कार्यालयले सामुदायिक बिजुली पनि जडान गरेको छ’, उनले भने।

दुई वर्षसम्म बिजुली उत्पादन राम्रो भएपनि बीचमा एक वर्ष भने बिजुली उत्पादन ठप्प भएको थियो। बिग्रिएका पंखाको मर्मत समयमै हुन नसक्दा बिजुली एक वर्षसम्म उत्पादन रोकिएकोमा अहिले भने पुनः सञ्चालनमा आएको अध्यक्ष सारुले बताए।

‘प्राधिकरणको बिजुली नभएको समयमा वैकल्पिक रूपमा उक्त बिजुली प्रयोग गर्ने गरेका छौँ,’ उनले भने, ‘बत्ती बाल्न, इन्टरनेट चलाउन लाइन नभएको अवस्थामा यसको प्रयोगले सहज भएको छ।’

दुई वर्ष लगाएर निर्माण सम्पन्न भएको उक्त बिजुलीको परियोजना विराटनगरको कृष्ण ग्रिल एण्ड इन्जिनियरिङ वर्क्स प्रालि गरेको थियो।

शुरूवाती दिनमा उक्त बिजुली हुमिसरा सँगै निस्दी गाउँपालिका–४ का मित्याल, रुप्सेभन्ज्याङ्, मौलाथर र याल्टुङका एक सय ५० बढी घर र सरकारी कार्यालयहरूमा बालिएको थियो।

निर्माण कम्पनीले समयमा मर्मत सम्भार नगर्दा जनश्रमदान गरेर उत्पादन गरिएको बिजुली उपभोग जनताले राम्रोसँग उपभोग गर्न नपाएको गुनासो स्थानीयको छ।

‘विकट क्षेत्रमा हावा बाट बिजुली बल्यो। खुसीले स्थानीय गदगद थिए। तर, विद्युत् उत्पादन भएको तीन वर्ष नपुग्दै पंखा बिग्रियो। मर्मत हुन लामो समय लायो। धित मरुन्जुले बिजुली बाल्नै पाएनौँ। अहिले त विद्युत् प्राधिकरणको लाइन जडान गरिसकेका छौँ’, स्थानीय अमर सिंजापतीले भने।

एकपटक जडान गरेपछि निःशुल्क रूपमा विद्युत् उपभोग गर्न पाइने भए पनि विभिन्न समयमा वायुपंखा र सोलारमा समस्या आउने र मर्मतको लागि बाहिरबाट प्राविधिक बोलाउनुपर्दा झण्झटिलो रहेको उनको भनाइ छ।

हावाबाट बिजुली निकाल्नका लागि प्रतिसेकेण्ड ६ मिटर गतिमा हावा चल्नुपर्छ। अग्ला डाँडामाथि जडान गरिएका टावरमा राखिएको वायुपंखामा हावा ठोक्किएपछि त्यसले भित्रको टर्बाइन घुमाउँछ।

वायुपंखा, कन्ट्रोलर र ब्याट्री जडान गरेर हावाको गति अनुसार विद्युत् उत्पादन हुने गर्छ। यसबाट निस्कने एसी विद्युत् ब्याट्रीमा सञ्चय गरेर डिसीमा परिवर्तन गरी घरायसी प्रयोग गर्न सकिन्छ।

सोलारबाट विद्युत् उत्पादन गर्दा प्यानल जडानकै लागि धेरै जमिन आवश्यक पर्ने भए पनि वायु ऊर्जाको लागि उपयोग नभएका अग्ला डाँडाको थोरै जमिन भए पनि पुग्छ।

बाह्रै महिना हावा चल्ने अग्ला पहाड र डाँडा रहेको निस्दीमा वायु ऊर्जाको प्रशस्त सम्भावना रहेको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले गरेको अध्ययनले पनि निस्दीमा वायु ऊर्जाको प्रशस्त सम्भावना रहेको देखिएको थियो।

हावाबाट बिजुली निकाल्दा आकर्षक देखिने भएकोले पर्यटकीय हिसाबले राम्रो देखिने भए पनि मर्मत सम्भार नै प्रमुख समस्या रहने उनले बताए।

पूर्व मन्त्री समेत रहेका त्यस क्षेत्रका नेता दलबहादुर राना पनि टावर र वायुपंखा निर्माणको जिम्मा लिएको कम्पनीको बेवास्ताको कारण नमूनाको रूपमा निर्माण गरेको वायु ऊर्जाको प्रयाप्त सदुपयोग हुन नसकेको बताए। 

कात्तिक २१, २०८१ बुधबार १०:०३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।