मनाङे-चक्रे दुश्मनीको कथा : चुफाङ रेस्टुरेन्टमा २०६१ मा घटेको त्यो घटना, जसले मनाङे २० वर्षपछि जेल जाँदैछन्
काठमाडौँ : २०६१ साल। काठमाडौँको चक्रपथलाई अपराधको आधार क्षेत्र बनाएर सक्रिय रहेका गोर्खाका चक्रे मिलन (मिलन गुरुङ) अनि ठमेललाई अपराधको आधार क्षेत्र बनाएर सक्रिय रहेका दीपक मनाङे (राजीव गुरुङ) बिचको दुस्मनी चरम चुलीमा थियो।
दुवै समूहका सदस्य एक अर्काको आधार क्षेत्रमा आएकी कुटाई खाइहाल्थे। काभ्रेका गणेश लामाको साथ पाएर मनाङे त्यो बेलामा निकै बलिया भएका थिए। लामालाई च्यापेको रिसमा कुमार घैँटे ( कुमार श्रेष्ठ) भने चक्रेतिर लागेका थिए।
वैशाख ३१।
इटहरीबाट आएका आफ्नो समूहका केही सदस्यहरू पानीपोखरीमा रहेको चुफाङ रेस्टुरेन्टमा रहेकाले चक्रे मिलन त्यही रेस्टुरेन्टमा गए। उनी आफ्ना समूहका सदस्यसँग गफ गरेर बसिरहेको बेलामा एकाएक हेलमेट लगाएका १५ जना जतिको समूह रेस्टुरेन्टभित्र छिरे।
चक्रे आफ्नै आधार क्षेत्रमै थिए। त्यसैले त्यति वास्ता गरेनन्। तर एकाएक आफ्नै इलाकामा हेलमेटधारी समूहको आक्रमणमा परे चक्रे। एक्कासि तरबार हानेपछि उनले देब्रे हातले छेक्न खोजे, हात पुरै काटियो। छाला मात्र बाँकी रह्यो। आक्रमणकारी समूह भाग्यो ।
चक्रेका सहयोगीले उनको छिनेको हात बोके। उनी गाडीमा बसेर शिक्षण अस्पताल, महाराजगन्ज पुगे। समयमै पुगेकाले चिकित्सकहरूले उनको छिनेको हात जोडिदिए। तर प्राकृतिक रूपमा झैँ बलियो भने भएन त्यो हात।
त्यो बेलामा चक्रेमाथि आक्रमण गर्न सक्ने हैसियत भएको समूह उनै मनाङेको थियो। प्रहरीले पनि त्यही निष्कर्ष निकाल्यो। अनुसन्धानबाट प्रहरीले मुख्य योजनाकार मनाङे देखायो। फिल्ड कमान्डर गणेश लामा अनि सहयोगीहरू रेवत कार्की, रमेश सुनुवार र उमेश लामा लगायतका।
प्रहरीले २०६१ चैत १८ मा मनाङेसहितलाई पक्राउ गर्यो। हत्या प्रयासको अभियोगमा मनाङेसहित पाँच जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भयो।
अदालतको आदेशमा मनाङे २०६२ वैशाख १३ मा पुर्पक्षका लागि कारागार पुगे। अदालतले हात छिनेको घटनालाई हत्या प्रयास भने स्वीकार नगरी कुटपिट ठहर गर्दै दुई वर्ष कैद सजाय तोक्यो। तोकिएको कैद सजाय कटाएर उनी २०६३ माघ २८ गते कारागार मुक्त भए।
OOO
०६५ असारतिर घरमै भेटिए चक्रे मिलन। उनी हालसालै कारागारबाट मुक्त भएका थिए। त्यो बेलामा म ‘नयाँ पत्रिका’मा काम गर्थेँ।
पहिला मनाङेकै अन्तर्वार्ताको प्रयास गरेको, मानेनन्। भर्खर जेलबाट पनि निस्किएको, कतै मान्छन् कि भनेर चक्रेलाई एक सहयोगीमार्फत प्रस्ताव पठाउँदा उनले घरमै बोलाए तर फोटो पत्रकारबिना। उनले ‘फोटो मैँ दिन्छु’ भनेका थिए।
कुराकानी लामै भयो। उनले आफूलाई गुन्डा भनेको फिटिक्कै मन पराएनन्। ‘मैले कहिले गुन्डागर्दी गरेँ?' भन्दै जंगीहाल्ने। उनी आफूलाई समाजसेवी र एमालेको खाँटी कार्यकर्ता भएको दाबी गरिरहे। पेलपाल गर्ने अवस्था थिएन।
प्रश्नबाट संवाद सुरु गर्दा उनले ठाडै भने 'क्या यार, यो भाइलाई इन्टरभ्यु लिन आउँदैन कि क्या हो? मेरो बारेमा हल्का बुझेर आउनु त पर्छ नि, ठाडै गुन्डा रे,' भन्दै हाँसे।
उनले जति अस्वीकार गरे पनि हालैको जेल बसाई अनि प्रहरी कार्यालयमा रहेको अपराधको फेहरिस्तले उनलाई सङ्गठित अपराधमा संलग्न नै देखाउँथ्यो।
OOO
४० वर्ष पछाडि फर्कने हो भने मिलन गुरुङ(चक्रे) हुन् या दीपक गुरुङ (राजीव, मनाङे) को परिचय टोले गुन्डा नै थियो। मनाङे ठमेलको धोबीचौरमा बस्थे। पूर्व गोर्खा सैनिकका छोरा चक्रे चक्रपथमा। त्यो बेलाका गुरु चैँ दिवाकर घले।
ठमेल क्षेत्रमा रात्रिकालीन व्यवसाय बढिरहेको थियो। मनाङे त्यतैतिर लागे। बिस्तारै केटाहरू जम्मा पारेर समूह बनाउँदै उनी टोलेबाट सङ्गठित गुन्डा बन्दै गए। दीपक गुरुङबाट उनी दीपक मनाङेको रूपमा परिचित हुन थाले।
सुरो स्वभावका मिलन उता चक्रपथमा चक्रे मिलनको रूपमा परिचित हुन थाले। उनी पनि केटाहरू जम्मा पार्ने, बालुवा ठेक्काहरूमा हस्तक्षेप गर्न थाले।
चक्रपथमै थियो ज्ञानेन्द्र शाहको बसाई। तत्कालीन राज परिवारका सदस्यहरूसँग समेत चक्रेको उठबस सुरु भइसकेको थियो। त्यसैको आडमा उनको शक्ति बढ्न थाल्यो।
२०४६ को राजनीतिक परिवर्तनसँगै चक्रे अनि मनाङे राजनीतितिर पनि लागे। मनाङे राप्रपातिरहुँदा चक्रे भने एमालेतिर लागे। मनाङे पशुपति शमशेर राणाको सहयोगी भए। उता चक्रे त्यो बेलाका एमालेका प्रभावशाली नेता प्रदीप नेपालको घरकै सदस्य समान थिए।
बिचमा चाबहिल क्षेत्रमा नेपाली कांग्रेसको आडमा राजु गोर्खाली लगायतकाहरु सक्रिय भए। गोर्खालीले आफ्नै समूह विस्तारभन्दा पनि चक्रे र मनाङे दुबैसँग मिलेर काम गर्थे। त्यो बेलामा पहिलो छनौट रात्रिकालीन व्यवसाय थियो। दोस्रो काठमाडौँको रिङरोड बाहिर रहेका बालुवा खानीका ढिस्को।
ठमेलबाट सुरु भएको मनाङेको क्षेत्र बढेर सामाखुसी र दरबारमार्गसम्म पुग्यो। चक्रेको प्रभाव गोङ्गबु, बुढानीलकण्ठ, चाबहिलक्षेत्र। गोर्खालीको सहयोगमा चक्रेको प्रभाव मूलपानी, जोरपाटीसम्म फैलियो।
मनाङे आफ्नै डिस्को र रेस्टुरेन्ट खोल्नतिर लागे। झिटीगुन्टा अनि ट्रेकिङ व्यवसायमा समेत संलग्न भए। यो उनको देखिने काम भयो नै। उनको आम्दानीको अर्को स्रोत सलामी शेयर ( सित्तैमा दिनुपर्ने सेयर) पनि थियो।
उनको प्रभाव क्षेत्रमा कसैले, कुनै व्यवसाय सुरु गरे उनलाई निश्चित प्रतिशत शेयर नदिई सम्भवै थिएन। गोर्खाली मनाङेलाई मनाएर दरबारमार्ग छिर्न सफल भए। अन्यले सकेनन्।
चक्रेले पनि दरबारमार्गतिर प्रभाव बढाउन नखोजेका हैनन्। तर सकेनन्। उनी मैतीदेवी, कालोपुल, विशालनगर, बालुवाटारहुँदै सुन्धारासम्म आइपुगे। तर त्यति जमेन। उनी बालुवाखानितिरै लागे।
त्यो बेलामा चक्रेसँग साजन महर्जन, मनराज गुरुङ, भीम गुरुङ, आफ्नै भाइ तेजेन्द्रलगायतको साथ थियो। पहिला मनाङे समूहमा भएका कुमार श्रेष्ठ ( कुमार घैँटे) पनि चक्रेतिर लागे। समूहका सदस्यको आधारमा मनाङे केही कमजोर भए।
त्रिचन्द्रमा खुकुरीकाण्ड भएसँगै नाम आयो गणेश लामाको। निकै सुरो केटा भन्दै चर्चा सुरु भएपछि नयाँ सदस्यको खोजीमा रहेका मनाङेले आफ्नो समूहमा ल्याए। लामासँगै काभ्रेबाट काठमाडौँ आएर बसेकाहरू पनि मनाङेको समूहमा पुगे।
विष्णु लामा, उमेश लामा, रमेश सुनुवार, चन्द्र लामा पहिल्यै मनाङेसँग थिए नै।
निर्वाचनहरू हुन थालेपछि उनीहरूको प्रभाव बढ्दै गयो। नेताहरूको सहयोगी भएपछि प्रहरीको पनि केही जोर चलेन।
बालुवाखानीसँगै सरकारी ठेक्का पनि यो समूहको प्रवेश भयो। रात्रिकालीन व्यवसाय त थियो नै। उनीहरूले काठमाडौँमा मात्रै हैन, काठमाडौँ बाहिरका जिल्लामा समेत जिल्ला संयोजक बनाउन थाले।
रात्रिकालीन व्यवसायमा मनाङे अनि निर्माण सम्बन्धी क्षेत्रमा चक्रे सक्रिय थिए।त्यहीबिचमा गोङ्गबुमा नयाँ बसपार्क बन्ने भयो। चक्रे र मनाङे दुवैको नजर पर्यो त्यसमा। चक्रे हाबी भए। त्यसले काठमाडौँमा ग्याङवारको सुरुवात गराएर हात काटिने अवस्थासम्म पुर्यायो।
त्यही ग्याङ वारको परिणाम थियो २०६१ वैशाख ३१ को घटना।
OOO
अभिषेक गिरी, दिनेश अधिकारी 'चरी', विश्वक्रान्ति लगायतकाहरु मनाङेसँग। गणेश लामा थिँदै थिए। चक्रेसित रहेका कुमार घैँटे लगायतहरु भने आफ्नै समूह बनाउनतिर। चक्रेमाथि मनाङे हाबी भए।
राजनीतिमा पनि मनाङे चक्रेभन्दा अगाडि नै थिए। चक्रे एमालेका नेता विशेषको सहयोगी नै हुँदा उता मनाङे भने राप्रपामा युवक सङ्गठनको केन्द्रीय सदस्य हुँदै कांग्रेस प्रवेश गरेर तरुण दलको मनाङ जिल्ला अध्यक्ष भइसकेका थिए।
आफ्नो सङ्गठन पनि बलियो हुन थालेको मौका छोपेर मनाङेले चक्रेमाथि आक्रमण गर्ने योजना बनाएका थिए। त्यही रणनीति अनुसार पानी पोखरीमा चक्रे मनाङे समूहको आक्रमणमा परेका थिए।
यसले काठमाडौँमा ग्याङवार बढाउने जोखिम देखियो। दुवै समूहका सदस्यहरू पक्राउ पर्न थाले। यहीबीचमा चक्रे मिलन कुटपिटमा तोकिएको सजाय भुक्तानका लागि पक्राउ परे। राजिव शाहीलाई कुटेको घटनामा जिल्ला प्रशासन कार्यालयले उनलाई डेढ वर्ष कैद सजाय तोकेको थियो। उनी ०६४ मा डेढ वर्ष जेल गए। सजाय कटाएर स्वतन्त्र भएपछि युथफोर्सतिर सक्रिय भए।
यो बीचमा उनी बुटवलमा हतियार र लागुऔषधसहित पक्राउ परेको अभियोगमा पक्राउ परेका थिए। हतियारसम्म हुनसक्छ। तर शनिका भक्त चक्रे मिलन मदिरा अनि चुरोट खाँदैनथे। लागुऔषधमा पक्राउ परेको समाचार बाहिरिँदा उनलाई अली लामै समय जेलमा राख्ने सुरक्षा रणनीति देखियो। पाँच वर्ष जेल बसे।
उता चक्रेको हत्या प्रयासको अभियोगमा मनाङे करिब दुई वर्ष जेल परे। दुवै जेल परेपछि दुवैको दुस्मनी घट्दै गयो। रात्रिकालीन व्यवसायमा मनाङेको पकड फुत्कँदै थियो। प्रहरीले इन्काउन्टरको रणनीतिमा लाग्दै पहिला दिनेश अधिकारी चरीलाई ढाल्यो। दोस्रो नम्बरमा कुमार घैँटे मारिए।
यी दुवै अनि यीनका चेलाहरू समेत अब आपराधिक गतिविधिमा निस्क्रियहुँदै राजनीतितिर सक्रिय हुन थाले। मनाङे मधेशवादी दल हुँदै राप्रपामा पुगेर पुन स्वतन्त्र उम्मेदवारको बन्दै मनाङबाट प्रदेश सांसद भएर मन्त्री समेत भए।
उता चक्रे पनि एमालेको राजनीतिमा सक्रिय भए। २०७९ को निर्वाचनमा उनको नाम उम्मेदवारको रूपमा गोर्खाबाट सिफारिस भयो। तर टिकट पाएनन्।
गणेश लामा कांग्रेसतिर लागेर केन्द्रीय सदस्य भए। प्रदेश सांसदको टिकट पाए तर पराजित भए। अन्य अहिले कोही स्थानीय तहको अध्यक्ष छन् त कोही होटेल व्यवसायी।
OOO
हत्या प्रयासमा अदालतले तोकेको जेल सजायमा डिल्लीबजार कारागारमै रहेको बेलामा ‘दीपक मनाङे, दीपक मनाङे हैनन्’ भनेर बन्दी प्रत्यक्षीकरणको मुद्दा पर्यो।
उनको नागरिकतामा नाम राजीव गुरुङ थियो। तर प्रहरी मिसिल अनि फैसलामा दीपक मनाङे भन्ने दीपक गुरुङ मात्र लेखिएको थियो।
शम्भु थापा लगायतका वकिलहरूले सर्वोच्चमा बहस गर्दै दीपक मनाङे भनेर कारागारमा राखिएका व्यक्ति राजीव गुरुङ हुन् भनेर बहस गरे। अदालतले रिहा गर्न आदेश दिए लगत्तै कारागारबाट हतार हतार छुटेका उनी भूमिगत भए।
भूमिगत भएकै समयमा उनीसँग टेलिफोन अन्तर्वार्ता लिँदा उनी चक्रेसँगको दुस्मनीबारे त्यति खुलेर बोल्न चाहेनन्। उनले आफू समाजसेवी र व्यवसायी भएको र अहिलेसम्म बारमा आएर दुख दिने प्रहरी र सेनाबाहेक कसैलाई नकुटेको दाबी गरेका थिए।
हेडलाइन त्यही बन्यो ‘सेना र प्रहरी बाहेक अन्यलाई कुटेको छैन।’ संयोग, अन्तर्वार्ता छापिएको केही दिनपछि उनी समातिए।
जिल्ला प्रहरी कार्यालय काठमाडौँको हिरासतमा रहेको बेलामा सेना र ‘प्रहरी बाहेक अरूलाई कुटेको छैन भन्ने यही हैन’ भन्दै प्रहरीले भकुरेछन्। भेट्न जानेहरूलाई त्यो पत्रकारका कारण कुटाइ खाइयो भन्ने रहेछन्।
दीपक मनाङे र राजीव गुरुङ एकै हो भन्ने प्रमाण सङ्कलन गरेपछि उनी पुन जेल चलान भए।
डिल्लीबजार कारागारमा काम विशेषले जेलर भेट्न जाँदा उनी कारागार बाहिर कुर्सीमा बसेर मस्त भेट्न आउनेहरूलाई गफ दिइरहेका थिए।
मलाई देखेपछि ‘ओ पत्रकार भाइ’ भन्दै बोलाएर थर्काए ‘हाम्रो दुख लेख्ने कि जेलर मात्र भेटेर पर्खने, ल मेरा कुरा लेख’ भन्दै आधा घण्टा नेता शैलीमा भाषण दिए।
OOO
जव उनी प्रदेश सांसदमा निर्वाचित भयो अनि मनाङे चक्रे मिलनको हत्या प्रयासको घटनामा अझैँ तीन वर्ष कारागार बस्न बाँकी रहेको तथ्य सार्वजनिक भयो। चक्रेलाई फोन गरेर सोधेको थिएँ ‘तपाईँमाथि साङ्घातिक आक्रमण गर्ने मनाङे अझैँ जेल बस्नुपर्ने रहेछ नि? उनी सांसद भएका छन्। तपाईँको प्रतिक्रिया?’
चक्रेले भने ‘त्यो पुरानो कुरा किन कोट्याउनु। यसमा मेरो केही भन्नु छैन। नेताहरूको चक्करमा म किन फस्ने। मेरो केही भन्नु छैन।
कुनै समय चक्रे कुनै हालतमा मनाङेसँग बदला लिने रणनीतिमा देखिन्थे। मनाङे भने प्याचअपको रणनीतिमा। समयसँगै बदलाको घाउ पनि पुरिने रहेछ। चक्रेको मनमा लागेको घाउ पनि पुरिएछ। २०७४ मा यी दुवै एकै समय काठमाडौँ प्रहरीको हिरासतमा परेका थिए। कतै त्यतै पो प्याचअप भएछ कि !
यो बिचमा चक्रे एमालेको राजनीतिमा केन्द्रित भए। मनाङे प्रदेश सांसद हुँदै पटक-पटक मन्त्री। यसो मनमा आयो गुन्डाको प्रेम जीवन कस्तो हुन्छ होला है ! ‘भ्यालेन्टाइन डे’ को दिन स्टोरी गर्न तीन वर्ष अगाडि फोन गरेको थिएँ।
‘ह्या यो भाइ पनि के-के भन्छ यार। मेरो बुढी मान्दिन’ भन्दै कल काटेका थिए।
सोमबार सर्वोच्चबाट उच्चको फैसला सदर भएपछि उनको प्रतिक्रिया के रहेछ भन्ने बुझ्न पटक-पटक कल गरेको उठेन। मेसेज पठाउनासाथ ‘ए नयाँ पत्रिकाको भाइ’ भन्दै कल ब्याक आउँथ्यो, आज आएन।
कात्तिक २०, २०८१ मंगलबार २१:२९:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।