चाडपर्वका बेला बागमतीमा २३० वटा दुर्घटना, २४ जनाको मृत्यु

चाडपर्वका बेला बागमतीमा २३० वटा दुर्घटना, २४ जनाको मृत्यु

चितवन : बागमती प्रदेशमा पर्ने उपत्यकाका तीन जिल्लाबाहेकका जिल्लामा चाडपर्वका समयमा सवारी दुर्घटनामा परी २४ जनाको मृत्यु भएको छ। 

काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका जिल्लामा दशैंको घटस्थापना अर्थात् असोज १७ देखि कात्तिक २० को बिहानसम्म दुई सय ३० दुर्घटना भएकामा २४ जनाको मृत्यु भएको हो।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार ती दुर्घटनामा परी छ सय २८ जना घाइते भएका छन्। 

दशैंको घटस्थापनादेखि असोज मसान्तसम्म प्रदेशका १० जिल्लामा एक सय १६ वटा दुर्घटना भएका थिए। ती दुर्घटनामा परी १५ जनाको मृत्यु भएको थियो भने चार सय १६ जना घाइते भएका थिए। 

यस्तै, कात्तिक १ देखि २० को बिहानसम्ममा एक सय १४ वटा दुर्घटना भएका र ती दुर्घटनामा नौ जनाको मृत्यु हुनुका साथै दुई सय १२ जना घाइते भएका छन्।

चाडपर्वको समयमा वर्षा हुँदा ग्रामीण क्षेत्रका सडकमा समस्या हुने गरेकाले दुर्घटना बढेको हो। 

एसपी सुवेदीले भने, 'सडकको कमजोर अवस्थामा जोखिम मोलेर सवारी चलाउने परिपाटीले गर्दा दुर्घटना बढेको हो। ट्राफिक नियमको पालनामा चालक र यात्रु सचेत नहुँदा पनि दुर्घटना हुने गरेका छन्।' 

कात्तिक २०, २०८१ मंगलबार २१:००:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।