समीर भट्ट र विजय बराल : दशै र तिहारमा नेपाली फिल्म क्षेत्रले पाएको दुई उपहार

समीर भट्ट र विजय बराल : दशै र तिहारमा नेपाली फिल्म क्षेत्रले पाएको दुई उपहार

काठमाडौँ : नेपाली फिल्ममा गतिलो कथा अनि पटकथाको अभाव त छ नै, मूल चरित्रमा अभिनय गर्ने गतिलो अभिनेताको पनि खडेरी नै छ। त्यसैले कुनै एक  अभिनेताको फिल्म चल्यो कि उनैको अभिनय भएको फिल्मको लाइन लाग्छन् हलमा।

हरेक हप्ता रिलिज हुने फिल्ममा फरक-फरक चरित्रमा एकै अभिनेताको अभिनय देख्दा दर्शकलाई मनोटोनस हुनु सामान्य नै हो। यस्तै भइरहेको थियो पछिल्लो समय।

केही फिल्म व्यापारिक रूपमा सफल भएपछि दयाहाङ राई सबैभन्दा धेरै व्यस्त भए। एकै खालको क्यारेक्टर भए पनि हप्तैपिच्छे मात्रै हैन, एकै हप्तामा दयाहाङकै दुई फिल्मसम्म रिलिज भए। उनले दुबै फिल्म बलियो छ भन्दै हेरिदिन दर्शकलाई आग्रह त गरे। तर दुबै फिल्म आर्थिक रुपमा डुबेको रेकर्ड पनि बने। आर्थिक रूपमा कमै फिल्मका लगानीकर्ताको लगानी सुरक्षित भयो।

बढी व्यस्त हुने अर्का अभिनेतामा सौगात मल्ल छन्। अभिनयमा भेरियसन दिने प्रयास गरे पनि निर्देशकले उनको अभिनय क्षमता अनुसार अभिनय नै गराउन नसक्दा प्राय फिल्म खल्लै हुने गरेका छन्।

प्रदीप खड्का, अनमोल केसी पर्दामा देखिइरहने अभिनेता हुन्। प्रदीपको अभिनयमा केही भेरियसनको प्रयास भए पनि यी दुवैको छवि उही लभर ब्वाय नै हो। विपिन कार्की बलिया कलाकार हुन्। तर फिल्म अनि चरित्र छान्न चुक्दा उनी बिस्तारै ओझेल पर्दै गएका छन्। उनी अब एक्सन अवतारमा देखिने तयारीमा छन्। यो फाप्ला, नफाप्ला भोलि नै देखिन्छ।

नाबालिग बलात्कारमा जेल परेर उच्चबाट सफाइ पाएसँगै अभिनयमा कमब्याक गर्ने पल शाहको प्रयास सफल भएन। उच्चले सफाइ दिए पनि नेपाली दर्शकले उनलाई सफाइ दिएका छैनन् भन्ने रावायणको हालतले नै देखायो। त्यसमा सर्वोच्च अदालतमा उनको मुद्दा ब्यूँतिसकेको छ।

नाजिर हुसेनले राम्रो सङ्केत देखाएका छन्। तर ‘ल स्टारको जन्म भयो’ भन्ने तहको अभिनय अझै देखिएको छैन। 'मिसिङ : केटी हराएको सूचना' बाट त्यो अभाव पुरा गर्छन् कि ! मुकुन भुसाल अझै प्रयासरत देखिन्छन्। हरिहर अधिकारीले हिरो हुने रहर त गरिरहेका छन् तर आफ्नै अभिनयले साथ दिएको छैन। जति ग्रह दशा मिलाए पनि फिल्म 'ह्रस्व दीर्घ'ले गतिलो सङ्केत देखाएको छैन।

चरित्र अनुसारको अभिनेता छान्न कम विकल्प भएकैले नचाहेर पनि फिल्म निर्माता अनि निर्देशक मुख्य पात्रको खोजी गर्दा दयाहाङ, सौगात, अनमोल, प्रदीपलाई नै पहिलो रोजाइमा राख्न बाध्य छन्। यी नभए मात्र विपिन अनि नाजिरहरुको पालो आउने गरेको देखिन्छ।

तर यो दशैँ अनि तिहारले भने नेपाली फिल्म क्षेत्रमा नयाँ दुई अभिनेताको जन्म गरायो जसले अब मुख्य भूमिकामा दयाहाङ अनि प्रदीप र अनमोलको एकल वर्चस्व तोड्न सक्छन्।

दशैँमा रिलिज भएको १२ गाउँबाट ‘हिरो’ अवतारमा नेपाली फिल्ममा प्रवेश गरे समीर भट्टले। फिल्मको कथा अनि निर्देशक क्षमताका आधारमा यो निकै कमजोर फिल्म भए पनि समीर बलियो कलाकारका रूपमा उदाए यही फिल्मबाट।

निखिल उप्रेती अनि उनै समीरका बाबु बिराजको एक्सन फिल्महरू हेरेका दर्शकले त्यस्तै एक्सनले भरिएको फिल्म नहेरेको लामै समय बितिसकेको थियो। यो खडेरीमा निकै कमजोर फिल्म बने पनि दर्शकले भव्य माया गरिदिए। समीरको अभिनयको बोहनी बलियो भयो।

भोलिका दिनमा समीरले अनमोलले जस्तै आफ्नै पारिवारिक फिल्म पर्खेन नबसी दायरा फराकिलो बनाउने हो भने उनको आगामी यात्रा सकारात्मक देखिन्छ।

एक्सन फिल्मका लागि उनी एकल पात्र बन्न सक्छन्। तर फिल्म सधैँ डाङडुङे एक्सनले मात्र चल्दैन। त्यसमा गतिलो कथा, अनुभवी निर्देशक अनि बलियो प्राविधिक टिम पनि चाहिन्छ। यसमा उनी सचेत बनेर फिल्म छान्न सक्ने हो भने एकै अभिनेताको पछि लाग्नबाट निर्माता तथा निर्देशक पनि मुक्त हुने छन्।

समीरले ध्यान दिनुपर्ने अर्को पक्ष अभिनय र उनको शरीरको लचकता हो। यति धेरै मिहिनेत गरेर ज्यान बनाएका छन्। मार्सल आर्ट्स सिकेका छन्। अभिनयमा चाहिने इमोसन सिक्न उनले केही समय अनुप बरालसँग क्लास लिए पुग्छ नै।

१२ गाउँ रिलिज हुनु अगाडि नै निश्चल बस्नेतले एक्सनमा आधारित फिल्म बनाउने घोषणा गरिसकेका छन्। अभिनय मध्यम भए पनि निर्देशनमा भने उनी बलिया छन् भन्ने उनले निर्देशन गरेको फिल्मले देखाइसकेका छन्। समीरले निश्चल जस्ता बलिया निर्देशकका लागि पनि आफ्नो ढोका खुल्ला राख्न सक्नुपर्छ।

कि अब गीतमा नाच्ने रहर छाड्नुपर्यो, हैन भने मार्सल आर्टसमा मात्र ध्यान दिँदा अलि बढी नै कक्रिएको शरीरलाई नृत्यका लागि लचक बनाउन समीरले एरोबिक्स गरे भइहाल्यो। यती दुई पक्ष सुधारे मात्र पनि उनले नेपाली फिल्ममा लामै समय राज गर्न पक्का छ।

तिहारमा नेपाली फिल्म क्षेत्रमा साइड रोलबाट मेन रोलमा दह्रो प्रवेश भयो विजय बरालको। नेपाली फिल्म हेर्ने दर्शकहरूका लागि विजय अपरिचित कलाकार हैनन् तर उनी फिल्महरूमा चटनीको भूमिकामा मात्र थिए, मेन कोर्समा हैन। चटनी प्राय मीठो नै हुन्छ। उनी पनि सहायक भूमिका त्यस्तै अमिलो, पिरो मिलेको ट्वाक्कको अचार बनिरहे। दर्शकले मन पराइरहे।

तिहारमा पूर्णबहादुरको सारङ्गीबाट उनी चटनीबाट प्रमोसन भएर फिल्मको मेन कोर्स अर्थात् मुख्य भूमिकामा प्रवेश गरे। उनलाई मुख्य भूमिकामा दर्शकहरुले पनि भव्य स्वागत गरिसके।

विजयले जुन प्रकारको चरित्रमा अभिनय गरेका छन् त्यसमा दयाहाङको एकछत्र राज चल्दै आएको छ। सायद पात्रको चरित्र चित्रण अनुसार हुनसक्छ अधिकांश फिल्महरू भने जनजातिको परिवेशमा केन्द्रित भए। राई, मगर अनि लिम्बुको धार्मिक तथा सांस्कृतिक पक्षमा केन्द्रित भएर फिल्महरू बने।

रङ्गेली अनि नाङ्गो गाउँमा उनले अलि फरक अभिनय गर्ने प्रयास नगरेका हैनन्, तर दर्शकले त्यति रुचि देखाइदिएनन् दुवै फिल्मलाई। निर्माताको लगानी त जोगियो होला तर यादगार फिल्म बनेन उनको। तर जे भए पनि सामाजिक कथामा बन्ने फिल्मको मूल भूमिकामा दयाहाङको अर्को विकल्प नदेखिँदा निर्माता अनि निर्देशक उनीबाट पर जान सकेनन्।

फरक समाज अनि फरक परिवेशमा उस्तै सामाजिक कथाका लागि बलियो अभिनेताको रूपमा उदाए विजय बराल ‘पूर्णबहादुरको सारङ्गी’बाट। भोलिका दिनमा मुख्य भूमिकाको अफरको सङ्ख्या बढ्ने पक्का छ।

पूर्णबहादुरको सारङ्गीको अफर स्वीकार गर्न उनले जति दिमाग लगाए आगामी दिनमा पनि सङ्ख्यात्मक लोभ त्याग्न भने आवश्यक छ। एक पटक दर्शक रोए भन्दैमा सधैँ नरुन पनि सक्छन्। उनले फिल्मको मूल चरित्रमा अभिनय गर्दा एक्लै फिल्म बोक्ने ल्याकत राख्छन् भन्ने पुष्टि गरे। उनको जोखिम भनेको उही ‘दयाहाङ’ पथ र चरित्रमा भेरियसन नै हो।

‘चलेको बेलामा आएको अफर किन छाड्ने’ भन्दै एकै हप्ता आफैंले अभिनय गरेका फिल्मबिचै प्रतिस्पर्धा गराउनुपर्ने विडम्बनापूर्ण अवस्थाबाट उनी मुक्त हुन नसके मेन कोर्सबाट पुन चटनीमा फर्कन समय लाग्दैन।

दशैँ अनि तिहार नेपाली फिल्म क्षेत्रका लागि व्यापारिक रूपमा निकै उत्साहजनक त भयो नै समीर र विजयको बदलिएको भूमिकाले पनि उत्तिकै उपलब्धिपूर्ण भएकोमा शङ्का रहेन। समीर अनि विजयलाई  दर्शकले त भव्य स्वागत गरिसके। दर्शकको भरोसा कायम राख्दै भोलिका दिनमा यो उपलब्धिलाई ‘विडम्बना’ नबनाउने जिम्मा अब यी दुवैमा छ।

कात्तिक १९, २०८१ मंगलबार १७:५८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।