कुशल मल्लको कीर्तिमान तोडेका लोफ्टी-इटन चितवन राइनोजमा अनुबन्ध
काठमाडौं : चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी सिजनका लागिजान निकोल लोफ्टी-इटनलाई अनुबन्ध गरेको छ।
चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोजमा अनुबन्ध हुने लोफ्टी चौथो विदेशी खेलाडी हुन्।
यसअघि चितवनले मर्रस्यन्ट डी ल्याङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन र हसन इसाखिललाई अनुबन्ध गरिसकेको छ।
बायाँ हाते २३ वर्षीय ब्याट्सम्यानले गत फ्रेबुअरीमा टी-ट्वेन्टी आईमा सबैभन्दा छिटो शतकको कीर्तिमान बनाएका थिए (अहिले सबैभन्दा छिटो शतक बनाउने सूचीमा उनी दोस्रो स्थानमा छन्) । नेपालमा भएको घरेलु टोली, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय शृंखलाको उद्घाटन खेलमा उनले सो कोसेढुङ्गा पार गरेका हुन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालविरुद्ध खेल्दै उनले ३३ बलमा शतक बनाएका थिए। एक बल कम खेल्दै उनले नेपाली अलराउन्डर कुशल मल्लको (हाल सबैभन्दा छिटो शतक बनाउने सूचीमा चौथो स्थानको) कीर्तिमान तोडेका हुन्।
कुशलले गत वर्ष चीनको हन्झाउमा भएको १९औं एसियाली खेलकुद प्रतियोगितामा मंगोलियाविरुद्ध ३४ वर्षमा शतक पूरा गरेका थिए।
दुवैले चितवन राइनोजबाट एनपीएल खेल्नेछन्। चितवन राइनोजमा अनुबन्ध हुन पाउँदा लोफ्टी-इटने खुसी व्यक्त गरेका छन्।
'त्रिवि क्रिकेट मैदानको सम्झना मेरो हृदयमा कोरिएको छ। यो मैदानले मलाई टी-ट्वेन्टी क्रिकेटको सबैभन्दा अविस्मरणीय इनिब्स खेल्ने अवसर दिएको छ। अब नेपाली क्रिकेट समर्थकका अगाडि चितवन राइनोजबाट त्यस्तै प्रदर्शन गर्ने समय आएको छ’ उनले भने।
चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानेले लोफ्टी-इटन र मल्ल एकै टोलीमा भएको कारण एनपिएल थप रोमाञ्चक हुने विश्वास व्यक्त गरे।
कात्तिक २०, २०८१ मंगलबार १७:०८:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।