स्थानीय तहको निर्वाचनमा सत्ताधारी एक्लाएक्लै भिड्ने, कांग्रेसबाट राजकुमारको श्रीमतीको नाम पनि सिफारिस
काठमाडौँ : मङ्सिरमा हुने स्थानीय तहको निर्वाचनका लागि सत्ताधारी दल एमाले र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको मेयरको उम्मेदवार टुङ्गो लगाएका छन्। उता अर्को सत्ताधारी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुङ्ग्याउन सकेको छैन।
कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको निधनपछि मंसिर १६ मा उप-निर्वाचन हुन लागेको हो। एमालेले मेयरमा एमालेले डा सुरेन्द्र मानन्धरको नाम तय गरिसकेको छ।
उता माओवादी केन्द्रले प्राडा शिवशरण महर्जनलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ। माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको नेतृत्वमा बसेको कीर्तिपुर नगर समितिको बैठकले महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो।
उता कांग्रेसले भने अझैँ उम्मेदवारको नाम तय गर्न सकेको छैन। नगर समितिले उपनिर्वाचनका लागि ११ जनाको नाम क्षेत्रीय समितिमा पठाएको छ। सो नाममा नकर्मीको श्रीमती जमुना नकर्मीको नाम समेत छ।
सिफारिस गरिएकाहरूका नगर समिति सभापति कृष्णमान डङ्गोल, बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना, सङ्गीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जन रहेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मेयरमा ध्रुव महर्जनको नाम तय गरिसकेको छ। वडा नम्बर १ र ४ मा समेत उप-निर्वाचन हुँदैछ।
यस्तो थियो अङ्क गणित
गत स्थानीय तहको निर्वाचनमा कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मी ९ हजार ४३ मत ल्याएर निर्वाचित भएका थिए। उनको निकटतम प्रतिद्वन्द्वी थिए एमालेका केशरत्न बज्राचार्यले। उनले ५ हजार ५ सय ७ मत ल्याएका थिए।
उपप्रमुखमा भने रुख चुनाव चिह्न लिएर जनता समाजवादी पार्टीबाट शुभलक्ष्मी शाक्य उम्मेदवार बनेर ८ हजार ६ सय ६५ मतसहित विजयी हुँदा उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी बिन्दु महर्जनले ७ हजार २ सय ६ मत ल्याएकी थिइन्।
१० वटा वडा रहेको नगरपालिकाका वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवारले जितेका थिए। बाँकी नौ वटै वडामा कांग्रेसका उम्मेदवारले जितेका थिए। यो आधारमा सो नगरपालिकामा कांग्रेस बलियो देखिन्छ।
कात्तिक २०, २०८१ मंगलबार १५:२३:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।