इंग्ल्यान्डका ‘हिस्ट्री मेकर’ क्रिकेटर म्याट क्रिचली पोखरा एभेन्जर्सबाट खेल्ने
पोखरा : इंग्ल्यान्डका अलराउन्डर क्रिकेटर म्याट क्रिचलीले नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखराले आफ्नो चौथो विदेशी खेलाडीका रुपमा क्रिचलीलाई टिममा अनुबन्ध गरेको हो।
यसअघि पोखराले वेष्ट इन्डिजका एन्डरसन फिलिप, अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडेलाई टोलीमा अनुबन्ध गरिसकेको छ।
नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका २८ वर्षीय अलराउन्डर क्रिचली डर्बिशायर काउन्टी क्रिकेट क्लबाट एसेक्स काउन्टी क्रिकेट क्लबका लागि खेल्छन्।
सन् २०१५ ३ मे को कन्टी क्रिकेट च्याम्पियनसिपमा ग्लेमरगनविरुद्ध आफ्नो पहिलो फस्ट क्लास डेब्यु गरेका क्रिचली दोश्रो खेलमै डर्बीशायरका लागि शतक बनाउने सबैभन्दा कान्छो उमेरको खेलाडी बनेका थिए।
एनपिएलकै सबै भन्दा मंहगो टिम पोखराले सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई पनि अक्सनबाट आफ्नो टिममा छनोट गरेको छ।
यो टिममा दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर जोन्टी रोड्स मेन्टर र सल्लाहकारका रुपमा अनुबन्ध भइसकेका छन्। त्यस्तै आइपिएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ।
एनपिएपल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ।
कात्तिक २०, २०८१ मंगलबार ०८:५७:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।