युट्युबमा फण्डागर्दै फैलिएको सुजनको ठगी जालो, पूर्व अर्थमन्त्री र गृहमन्त्रीलाई समेत बनाए ‘ठगीको हतियार’

युट्युबमा फण्डागर्दै फैलिएको सुजनको ठगी जालो, पूर्व अर्थमन्त्री र गृहमन्त्रीलाई समेत बनाए ‘ठगीको हतियार’

काठमाडौँ : सिंगापुरमा रोजगारीको लोभ देखाएर ४० जनाबाट पाँच करोड सङ्कलन गरेर कम्बोडिया भागेकी सिन्धुपाल्चोककी बिनु शाक्य उतै बस्दै आएकी थिइन्।  यता नेपालमा उनी विरुद्ध वैदेशिक रोजगार ठगीमा मुद्दा थियो। उता उनी मस्त थिइन्।

उनी भागेर कम्बोडिया पुगेको प्रमाणको आधारमा नेपालमा रहेको इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) ले कम्बोडियामा रहेको इन्टरपोलको एनसिबीसँग समन्वय गरेपछि बिनु उनै पक्राउ गरिन् र सोमबार नेपाल आइपुगिन्।

नेपालले पठाएको प्रमाण र कानुनी कारबाही सम्बन्धी कागजपत्रको आधारमा उनलाई कम्बोडियाको सुरक्षा निकायले पक्राउ गरेर नेपाल डिपोर्ट गरेको थियो। उनी सोमबार त्रिभुवन विमानस्थलमा उत्रिए लगत्तै नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रहरीले नियन्त्रणमा लिएका थिए।

प्रहरीका अनुसार बिनुमाथि वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रुपैयाँ ठगी गरेको अभियोग छ।  

रोजगारको लोभमा फसेकाहरुसँग सुजन।यो ठगी जालोको मास्टरमाइन्ड शाक्य एक्लो हैनन्, अर्का छन् युट्युबमा जन पक्षीय भिडियो बनाउँदै, टेलिभिजन हुँदै ठगीमा छिरेका नटवरलाल सुजन आचार्य।

आचार्य पनि यही ठगीमा जोडिएपछि भागेर कम्बोडिया पुगेका थिए। उनलाई बिनुभन्दा अगाडि नै प्रहरीले

कम्बोडियाबाटै पक्राउ गरेर नेपाल ल्याएको थियो।

कहिले नागमणि भनेर ठगी गरेको आरोपमा पक्राउ पर्ने गरेका छन् त कहिले अन्य ठगी आरोपमा।आफूलाई आर्थिक रूपमा सम्पन्न देखाउँदै राजनीतिक पहुँच बढाउने गरेका उनी यही प्रकरणमा भागेर कम्बोडिया पुगेका थिए।

इन्टरपोलको सहयोगमा कम्बोडियाबाट नेपाल ल्याएको बिनु।उनीहरू कम्बोडियामा रहेको सूचनाको आधारमा इन्टरपोल शाखाको अनुरोध इन्टरपोलले २०८० माघ १९ मा रेड नोटिस जारी गरेको थियो। त्यसैको आधारमा पहिला आचार्य समातिएर नेपाल डिपोर्ट गरियो।

बिनु पनि आचार्यसँगै असोज १ मै पक्राउ परेकी थिइन्। कम्बोडियाले आवश्यक अनुसन्धानपछि आचार्यलाई असोज ९ मा नेपाल पठायो तर बिनुलाई उतै नियन्त्रणमा राख्यो। ठगीमा बिनुको संलग्नताबारे नेपालले बुझाएको प्रमाणको आधारमा उनी पनि संलग्न देखिएपछि आइतबार नेपाल पठायो। प्रहरीले उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा बुझाएको छ।

पीडितहरूले सुजन आचार्यविरुद्ध विभिन्न ठाउँमा दिएको उजुरीसाथै सुजनविरुद्ध २०७९ जेठ १३ गते जिल्ला प्रहरी परिसर काठमाडौँमा विद्युतीय कारोबार (साइबर अपराध) सम्बन्धी कसुरमा र २०८० वैशाख २५ गते प्रहरी वृत्त, महाराजगन्जमा ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरको जाहेरी विचाराधीन छ।

सुजनको ठगी यात्रा युट्युबमा फण्डा भिडियो हुँदै ब्ल्याकमेलिङसम्म

उदयपुर त्रियुगाका सुजन आचार्य कुनै समय मजाक छ युट्युब च्यानलमा भिडियो राख्थे। सरकारी गाडी रोकेर लाइसेन्स माग्ने जस्ता फण्डा गर्दै उनी नेपालको कान्छो पत्रकार भन्दै चर्चामा आएका थिए। जुन बेलामा उनी आफू नेपालकै कान्छो पत्रकार दाबी गर्दै युट्युबमा अन्तर्वार्ता दिन सक्रिय थिए त्यो बेलामा उनको उमेर थियो १६ वर्ष। त्यो बेलामा नै उनी अन्तर्वार्ता दिन पनि दुई जना बडीगार्डसहित उपस्थित हुन्थे।

उनको यो आफू चर्चामा आउने फण्डा थियो जसको बलमा उनी अपराधको योजनाहरू बुनिरहेका थिए। सोनिका रोकायाबाट सुरु भएको उनको फन्डा प्राइम टिभीका सञ्चालक ऋषि धमलासँग गएर जोडियो। सुजन र ऋषिबिच साला-भेनाको सम्बन्ध कायम भयो। उनले एलिजासँग टिकासमेत लगाए तिहारमा।

धमलासँग जोडिएपछि उनी रवि लामिछानेले राखेको सबैभन्दा लामो समय टेलिभिजन टक शो चलाएको रेकर्ड तोड्ने भन्दै हिँडे। अमेरिका पलायन भएका रवि ‘सबैभन्दा लामो समय टेलिभिजनमा टक शो चलाउने’ भनेर नेपाल आएर न्युज२४ मा कार्यक्रम चलाएर रेकर्ड पनि राखेका थिए।

कान्छो पत्रकार भनेर युट्युबहरूमा अन्तर्वार्ता दिँदै हिँडेका उनी २०७६ चैत ९ मा मकवानपुरको कैलाश गाउँपालिका–५, चौकीटार गोगनेमा रहेकी ७० वर्षीया धनलक्ष्मी गुरुङको हीरा लुटेको आरोपमा पक्राउ परे। चार जना समातिएकोमा तीन जना त प्रहरी थिए। उनी धरौटीमा छुटेका थिए त्यो बेलामा।

उनी नयाँ-नयाँ फण्डा बनाएर ठगी गर्न सक्रिय भइरहे। त्यहीबिचमा  ‘एस ग्लोबल प्रालि’ नामक कम्पनी खोलेर विश्वका विभिन्न देशमा ब्रान्च खोल्ने र नेपालमा वैदेशिक लगानी भित्र्याउने गफ समेत दिँदै हिँडे।

इन्टरपोलको सहयोगमा नेपाल ल्याएर पक्राउ गरिएका सुजन।सामाजिक सञ्जालमा उनी प्रभावशाली नेता, कलाकार अनि प्रहरीसँग उभिएको तस्बिर खिचेर सामाजिक सञ्जालमा राख्थे। आफ्नो जन्म दिनमा पाँच तारे होटलमा पार्टी लिएर गेस्टको रूपमा नेतासहित प्रभावशाली व्यक्तिहरू बोलाएर तस्बिर सार्वजनिक गर्थे।

उनको सामाजिक सञ्जालको प्रोफाइल हेर्ने हो भने नवधनाढ्य भन्दा कम पनि देखिँदैन गतिविधि।

यही रवाफको भरमा उनी ठगी धन्दामा सक्रिय हुँदै गए। दोस्रो पटक उनी पक्राउ परे सात करोडको काण्डमा एक भिडियो क्लिपको आधारमा एक व्यवसायीसँग उनीसहितको समूह नै मिलेर ब्ल्याकमेल गरेको आरोप लाग्यो।

एक व्यवसायी र चर्चित मोडलको अन्तरङ्ग भिडियो क्लिपका आधारमा उनीहरूले धम्क्याएको घटना प्रहरीसम्म पुगेपछि २०७९ जेठमा उनीसहित सात जना पक्राउ परे। सबै धरौटीमा छुटे। आचार्यको ठगी जालोबारे उकेराले निरन्तर समाचार प्रकाशित गरिरहेको थियो।

त्यसपछि उनले नेपालमा एभरेस्ट स्प्रिङ वाटर कम्पनी खोलेर विदेशमा निर्यात गर्ने ठगी स्किम ल्याए। यो कम्पनीको उद्घाटन र आफ्नो जन्मदिनको पार्टी एकै दिन पारेर होटेल याक एन्ड यतिमा भव्य पार्टी दिएर प्रमुख अतिथि बनाए तत्कालीन श्रममन्त्री श्रममन्त्री शेरबहादुर कुँवर।

कार्यक्रममा केक काटेर सुजनलाई खुवाउँदै मन्त्री कुँवरले रोजगार बढाउन शुभकामना दिँदै विदेशमा १५ वर्षका युवा बिलिनियर बनेको पढेकोमा आफ्नै देशमा २२ वर्षका युवा व्यवसायी देख्दा खुसी लागेको बताए।

पूर्व परराष्ट्रमन्त्री एनपी साउद, पूर्व गृह तथा अर्थमन्त्री जनार्दन शर्मा, पूर्व अर्थमन्त्री प्रकाश शरण महत लगायतकासँग निकै आत्मीय पारामा खिचिएका तस्बिरहरू उनी सामाजिक सञ्जालमा राख्थे। यही तस्बिरलाई उनले ठगीमा प्रयोग गरे।

उनले विभिन्न देशमा नेपाल कर्नर नामक रेस्टुरेन्ट खोल्ने दाबी समेत गर्दै आएका थिए। यसैलाई आवरण बनाएर उनले अब सिंगापुरमा रोजगारी, मासिक ४० लाखसम्म कमाइ हुने भन्दै पैसा उठाउन थाले। ४० जनाबाट पाँच करोड बढी पैसा उठाए। उनले सिंगापुरमा पठाउन सक्ने अवस्थै थिएन। अनि भागे विदेश।

सम्बन्धित समाचार

कात्तिक १९, २०८१ सोमबार २०:४५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।