सहकारी पीडितको बचत फिर्ता माग्न ‘युवा संकल्प यात्रा’ गर्दै कांग्रेस नेताहरू

सहकारी पीडितको बचत फिर्ता माग्न ‘युवा संकल्प यात्रा’ गर्दै कांग्रेस नेताहरू

काठमाडौं : नेपाली कांग्रेसका नेता भूपेन्द्रजङ्ग शाहीको नेतृत्वमा मेचीनगरदेखि महेन्द्रनगरसम्म युवा संकल्प यात्रा हुने भएको छ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाहीले यही कात्तिक २३ देखि यात्राको सुरुआत कोशी प्रदेशको झापा जिल्लाको मेचीनगरबाट हुने र यात्राको समापन सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको महेन्द्रनगरमा हुने जानकारी गराए।

युवालाई रोजगारीको सुनिश्चितता ,योग्यता र सीप अनुसारको रोजगारी सुनिश्चित नभएका कारण अवसरका नाममा वर्षेनी लाखौं नेपाली युवा विदेशिन बाध्य भएका, स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारीको सुनिश्चितताका लागि युवा संकल्प यात्राले आवश्यक पहल र दवावको अगुवाई गर्ने उनको विश्वास छ।

उनले देशमा पटक पटक राजनीतिक परिवर्तन भएपनि पनि जनताको जिवन शैलीमा कुनै परिवर्तन नहुनुको मुख्य कारण बेथिति, बेरोजगारी र भ्रष्टाचार रहेको भन्दै यात्रा मार्फत तीनै तहका सरकारका व्याप्त भ्रष्टाचार उन्मुलन र सुशासनको स्थापनाका लागि आवश्यक पहल र खबरदारी गर्ने पनि बताए।

नेपाल तरुण दलका पूर्वमहामन्त्रीसमेत शाहीले भने, 'कांग्रेसले युवा उद्यमशीलता प्रवर्द्धनमात्र होइन, देशको अवस्था बदल्ने तागत राख्नुपर्छ । कृषिप्रधान देशमा कृषिको आधुनिकीकरणमार्फत लाखौँ युवालाई स्वदेशमै रोजगार बनाउन सकिन्छ।'

यात्राले युवालाई राजनीतिक आन्दोलनको मात्र नभएर आर्थिक विकासको पनि साझेदार बनाउने उद्देश्य लिएको जनाउँदै नेता शाहीले लोकतान्त्रिक मूल्य मान्यताको प्रवर्द्धन, दण्डहीनताको अन्त्य, भ्रष्टाचारको उन्मूलन, सुशासन,  युवा उद्यमशीलताको प्रवर्द्धन र राष्ट्र निर्माणको नेतृत्व गर्न पनि अभियान सार्थक हुने दाबी गरे। 

पहिलो दिन मेचीनगरको काँकडभिट्टाबाट सुरू  भई इटहरी, लहान, जनकपुर,  लालबन्दी, वीरगञ्ज,  भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै यात्रा मङ्सिर ४ मा महाकाली पुगेर समापन हुनेछ।

सहकारी पीडितलाई तत्काल राहत र बचत फिर्ता गराउन पहलकदमी लिने तथा विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाही गर्न दबाब सिर्जना गर्ने बताइएको छ। 

हरेक क्षेत्रमा युवाको अर्थपूर्ण प्रतिनिधित्व, नागरिकमैत्री सरकार  तथा नागरिकलाई सहज जीवनयापनका लागि राहत तथा सहुलियतका लागि  अग्रसरता लिइने पनि त्यस अवसरमा जानकारी दिइयो।

महासमिति सदस्य प्रेमीका रानाले युवा पुस्ताले नकारात्मक भाव बोकेर अरूको आलोचनामै समय खर्चिने नभई समाजमा उठेका विषयवस्तुको समाधान र सफलताको सन्देश प्रवाह गर्न सक्नुपर्नेमा जोड दिइन्। 

यात्रामा नेता शाहीसहित रञ्जित कर्ण, धर्मेन्द्र नेम्वाङ, प्रेमिका राना, नरेश यादव, शेख ओकिल, मेदनी सिटौला, चन्द्रादेवी जोशी, राधिका हमाल, उदिराम खड्का, लेलिया विश्वकर्मा, सुनिल थापा, विनोद खनाललगायत ४० जना केन्द्रीय प्रतिनिधिका रूपमा सहभागी हुने छन्।  

कात्तिक १९, २०८१ सोमबार १६:३९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।