छठ पर्व नजिकिएसँगै प्रसादका रूपमा प्रयोग हुने सामग्रीको मूल्य आकाशियो
राजविराज : सप्तरीको राजविराजसहित जिल्लाका विभिन्न ताल तलाउ, खोला, नदी किनार र नहर छठ पर्वका लागि आजदेखि सजाउन थालिएको छ।
दशैं र तिहार सकिएलगत्तै छठ पर्व सुरू भएपछि जलाशय, पोखरी किनारमा पूजाघाट बनाउन बिहानदेखि स्थानीय सरसफाइमा जुटेका छन्।
राजविराजमा रहेको कल्टु पोखरी, तुरुन्ती र भगवती पोखरीसहितका पोखरीमा वर्षौँदेखि थुप्रिएका फोहोर सफाइ गरी छठ मनाउन घाट निर्माण गरिरहेको राजविराज नगरपालिका-३ निवासी लालु रजकले बताए।
सफाइ गरिएका पोखरीमा कागज, केराको थाम र असोकको पत्ता तथा विद्युतीय बत्तीबाट सजाउने काम भइरहेको छ।
ग्रामीण क्षेत्रका जलाशयहरुमासमेत पूजाघाट बनाइ सजाउने काम भइरहेको छ। हनुमानगर बजारमा युवाहरु आज बिहानदेखि पोखरी सफाइमा लागेको स्थानीय राजेन्द्र मिश्रले बताए।
भारदहस्थित कोशी ब्यारेजमा सफाइ तथा घाट सजाउने काम भइरहेको छ। यहाँ भारतको सुपौल जिल्लाको वीरपुर, भीमनगरलगायत विभिन्न सहरका सर्वसाधारण छठ पर्व मनाउन प्रत्येक वर्ष आउने गरेका छन्।
छठ सुरू भएपछि बजार तथा ग्रामीण क्षेत्रमा रेडियो र साउन्ड सिस्टमबाट छठी मैयाको महिमाका भोजपुरी र मैथिली गीत गुन्जिन थालेका छन्।
छठमा प्रयोग गरिने वस्तुको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन्। छठ पर्वमा प्रसादका रूपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँसको बत्तीबाट बनेको नाङ्लो, कोनियाँ र माटाको भाँडाकुँडाको सामानको मूल्य दोब्बर भन्दा बढीले आकाशिएको छ।
मूल्य वृद्धिमा कुनै निकायले चासो नदेखाएको स्थानीयको गुनासो छ।
निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवं मानव जातिको उत्थान गर्न र आरोग्यताका लागि यो पर्व मनाइने गरिन्छ। सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ।
कात्तिक १९, २०८१ सोमबार १५:१९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।