निधार पाएका हात अनि हात पाएका निधार, दुवै मक्ख
काठमाडौँ : दिदीबहिनी खोज्दै दोलखादेखि काठमाडौँ रानीपोखरी पुगेका पूर्ण शेर्पा तिहारको टिकाको दिन निधारमा सप्तरङ्गी टीका लगाउन पाउँदा खुसी देखिए। उनी तिहारमा भाइटिका लगाउनकै लागि दोलखादेखि काठमाडौँ आएका थिए। उनको निधार रित्तै भएको दुई वर्ष भइसकेको थियो।
यसपालि उनलाई निधार रित्तै राख्न मनै मानेन। अनि छोरालाई पनि आफूसँगै लिएर काठमाडौँ आए। आइतबार उनी छोरासहित रानीपोखरी गए अनि त्यहाँ निधारको पर्खाइमा रहेका दिदीबहिनीको हातबाट टीका लगाए।
‘दुई वर्षसम्म निधार खाली रह्यो, अहिले भने छोरा दागेल्जी शेर्पासँग यहाँ आएको,’ रङ्गीचङ्गी फूल र टीका लगाएर मक्ख परेका उनले भने, ‘रमाइलो लागेको छ।
सुर्खेत घर भएको विशालजंग मगर एकान्तकुनाबाट कमलपोखरी आए टीका लगाउन। तिहारमा निधार रित्तै हुने भयो भनेर उनी निकै चिन्तामा थिए। उनी बस्ने घरका घरबेटीले दिदी बहिनी नभए पनि रानीपोखरीमा भाइटिका लगाउन पाइन्छ भनेपछि उनी साइतभित्रै मन्दिर पुगे। निधारमा सप्तरङ्गी टिका लगाउन पाउँदा उनी पनि खुसी देखिए।
रानीपोखरी पुग्दा पूर्ण अनि विशालजंग जस्तै दिदीबहिनीको हात खोज्दै आइपुगेका दाजुभाइहरू टन्नै थिए। दाजुभाइ नभएकाहरू त्यहाँ उनीहरूलाई सप्तरङ्गी टिका लगाउन पर्खाइमा थिए। वर्षमा एकचोटी मात्र खुल्ने मन्दिरमा टिका लगाउने र लगाइदिने दुवै खुसी देखिन्थे।
कात्तिक १८, २०८१ आइतबार २२:१६:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।