दशैंमा चलेका फिल्मका कलाकार : कसैको चर्चै-चर्चा, कसैको गुमनामका पर्चा
काठमाडौं : नेपाली निर्माताहरू चाडपर्वका समयमा आफ्नो फिल्म प्रदर्शन गर्न तछाडमछाड नै गर्छन्। अघिल्ला वर्ष झैँ यस वर्ष पनि दशैंमा तीन वटा रिलिज भए।
यही असोज २४ गते दशैंको फूलपातीबाट प्रदर्शनमा आएका फिल्म ‘१२ गाउँ’ देखि ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’ले राम्रै पैसा छापेका छन्। यी तीन फिल्ममध्ये ‘१२ गाउँ’मा दर्शकको ओइरो लागेको छ।
फिल्मले तीन हप्तामा पनि दर्शक हलबाट हटाउने छाँटकाँट देखाएको छैन। दुई फिल्ममध्ये ‘१२ गाउँ’को शो अझै थपिने क्रममा छन्। यस फिल्मले ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’को तुलनामा यसका कमाई उल्लेख्य रहेको छ।
विराज भट्टको निर्माण तथा निर्देशनमा बनेको यो फिल्मबाट तीन कलाकारको उदय भएको छ। बिराज भट्टकै छोरा अभिनेता समिर भट्ट, न्यान्सी खड्का र सनिशा भट्टराई।
यी तीनमध्यै अझ समिर भट्टलाई हेर्नका लागि हलमा दर्शक तानिएका छन्। चर्चा पनि उनकै बढी देखिन्छ, अन्यको तुलनामा। यो फिल्म अघिपछि चलेको भए के हुन्थ्यो थाहा छैन। राम्रा ब्यानरका दर्शकले आफ्नो फिल्मलाई दशैं लक्षित नै प्रदर्शनमा ल्याउने गरेका छन्।
फिल्मले समिर भट्ट र उनका बुवा बिराज भट्टको उचाइ र चर्चा बढे पनि अभिनेत्री न्यान्सी खड्का र सनिशा भट्टराईको त्यति चर्चा छैन। समिरलाई हेर्नका लागि भए पनि दर्शक हलमा ओइरिएका छन्।
०००
गत वर्ष गायकबाट नायक बनेका प्रकाश सपुतले खेलेको फिल्म ‘परदेशी २’ हिट भएको थियो। उनको यो डेब्यु फिल्म थियो। अरु कलाकारको तुलनामा उनको बढी चर्चा भयो। यस फिल्ममा पुराना कलाकारहरू रहेका थिए।
पछिल्लो पुस्ताकी चर्चित अभिनेत्री वर्षा शिवाकोटी लगायतको अभिनय थियो। तर गायकमा एक खालको छाप बसाइसकेका प्रकाश सपुतको अभिनय हेर्न हलमा दर्शक पुगेका थिए।
‘दोहोरी ब्याटल’देखि लोकलयका ‘बदला बरिलै’, ‘बोल माया’, ‘पिर’, ‘गलबन्दी’, ‘दमाई महाराज’, ‘कुरा बुझ्न पर्च’ लगायतले दर्शकमाझ बेग्लै छाप बनाएका उनले फिल्ममा गरेको काम हेर्नकै लागि भए पनि दर्शक हलसम्म गए।
त्यसैले पनि होला उनको पहिलो फिल्म चल्यो। नारायण रायमाझीको निर्देशनमा बनेको यो फिल्ममा अर्का लोक गायक तथा सर्जक रमेश बिजीले लेखेका हुन्।
अब दोस्रो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’हलमा प्रदर्शनको तयारीमा छ। यो फिल्मको प्रचारमा खासै नहिँडेको प्रकाशको अर्को फिल्म कतिको चल्छ भन्नेमा पनि लेखाजोखा राख्छ। पहिलो फिल्म चलेपछि आफ्नै लेखन तथा निर्देशनमा ‘बसन्त’ नामक फिल्मको छायांकनमा छन्, त्यो पनि गृहजिल्ला बागलुङमा।
दशैंमा प्रदर्शनमा आएको फिल्म ‘प्रेम गीत ३’बाट कृष्टिना गुरुङको हिरोइनमा उदय भएको थियो। निर्माण पक्षले दुई वर्षअघि दशैंको घटस्थापनाको दिन अर्थात असोज ७ गतेबाट प्रदर्शनमा ल्याएको थियो। यही फिल्मबाट अभिनेत्रीका रूपमा कृष्टिना गुरुङले डेब्यु गरेकी थिइन्।
सन्तोष सेनको टिमले निर्माण गरेको यो फिल्मबाट अभिनेत्री गुरुङलाई २७ सय जनाको अडिसनबाट फाइनल भएकी थिइन्। उनको फिल्मको चर्चा भयो। उनको पनि केही हदसम्म चर्चा चल्यो तर फिल्मले सोचे अनुसारको व्यापार गरेन। सन्तोष सेनको असफल फिल्म नै यही बन्यो।
जसको दशैंमै भएन चर्चा
दशैंको छेको पारेर प्रदर्शनमा आएका फिल्मलाई दर्शकले नपत्याएका थुप्रै फिल्महरू रहेका छन्। फिल्म चले पनि कलाकार नचलेको उदाहरण थुप्रै रहेका छन्। यसको बलियो उदाहरण हो ‘बाबरी’का अभिनेता धिरज टोटलानी।
दुई वर्षअघि असोज १४ गतेबाट प्रदर्शनमा आएको थियो। अदिती बुढाथोकीले निर्माण गरेको यो फिल्ममा धिरजका अलवा अर्का धिरज मगरले अभिनय गरेका थिए।
सबैको चर्चा हुँदा तृप्ती नाटकरको छोराको चर्चा रहेन। उनी यसपछि अर्को फिल्ममा अभिनय गरेको सुनिएको छैन। यो फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका थिए भने अदितीकी आमाले लगानी गरेकी थिइन्।
पुराना फिल्म निर्माता तथा निर्देशक अशोक शर्माको फिल्म ‘रातो टीका निधारमा’बाट आफ्नै छोरा अंकित शर्मालाई अभिनेतामा डेब्यु गराएका थिए। पाँच वर्षअघि दशैंमा रिलिज भएको यो फिल्मले हलमा पानी समेत भन्न पाएन। न यो फिल्मबाट डेब्यु गरेका अंकितलाई दर्शकले चिने। उनी गुमनाम जस्तै भए।
त्यस समयकी चल्तीकी हिरोइन् साम्राज्ञी राज्यलक्ष्मी शाह राखेर निर्देशक शर्माले फिल्म निर्माण गरेका थिए। त्यसयता उनले दोस्रो फिल्ममा काम गर्ने आँटसमेत गरेका छैनन्।
कात्तिक १८, २०८१ आइतबार ०८:५९:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।