हङकङ सिक्सेस प्रतियोगिता : नेपाल क्वाटरफाइनलमा श्रीलङ्कासँग ४० रनले पराजित
काठमाडौँ : हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलबाट नेपाल बाहिरिएको छ। आज शनिवार भएको खेलमा नेपाल श्रीलङ्कासँग ४० रनले पराजित भएको हो।
हङकङको मिसन रोड क्रिकेट मैदानमा भएको क्वाटरफाइनल खेलमा श्रीलङ्काले दिएको एक सय २४ रनको लक्ष्य पछ्याएको नेपालले पाँच ओभरमा सबै विकेट गुमाउँदै ८३ रन मात्र बनायो। नेपालका लागि राशिद खानले सर्वाधिक ५५ रन बनाए। उनले १८ बलमा आठ छक्का र एक चौका हाने। यस्तै नारायण जोशीले १३ रन बनाए।
बलिङतर्फ श्रीलङ्काका लागि थरिन्दु रत्नानायके र लाहिरु समराखोनले दुई दुई तथा धनञ्जय लक्शन र कप्तान लिहुरु मदुसन्काले एक एक विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलङ्काले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँदै एक सय २३ रन बनायो। श्रीलङ्काका लागि सदुन विराकोडीले १४ बलमा पाँच छक्का र चार चौकाको मद्दतमा ५० रन बनाए। यसैगरी कप्तान लिहुरु मदुसन्काले अविजित ३१, लाहिरु समराखोनले अविजित २२ र थनुका डबारेले १८ रन बनाए।
बलिङतर्फ नेपालका लागि नारायण जोशी र प्रतिश जिसीले एक एक विकेट लिएका थिए। यसअघि समूह चरणको खेलमा नेपालले इङ्गल्यान्ड र अस्ट्रेलियालाई हराएको थियो।
कात्तिक १७, २०८१ शनिबार २१:१९:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।