दुखेको चित्त बुझाएर पूर्णबहादुरको सारङ्गीको प्रचारमा मिसिए प्रकाश सपुत
काठमाडौँ : गायनहुँदै अभिनयमा प्रवेश गरेका प्रकाश सपुतको सपना थियो ‘दलित सम्बन्धी आफैँ पहिला फिल्म बनाएर अभिनय गर्ने। अनि मात्र अन्त।’
आफ्नै गीति भिडियोमा अभिनय गरेर कला क्षेत्रमा आफूलाई निखार्दै गएका उनले परदेशी-२ बाट डेब्यु गरे तर गैर दलित पात्रबाट। दलित पात्र बनेर अभिनय गरेको पहिलो फिल्म बनाउन उनी ‘वसन्त’मा लागे।
बिचमा पूर्णबहादुरको सारङ्गीमा अफर आयो। वसन्तपछि रिलिज गर्ने सर्तमा उनी अनुबन्धित भए। उनको सुटिङ नै नसकिएपछि पहिला ‘पूर्णबहादुरको सारङ्गी’ नै रिलिज हुने भएपछि चित्त दुखाउँदै केही अन्तर्वार्ता र सामाजिक सञ्जालमा पोखिए।
आफ्नो दलित चरित्र भएको पहिलो फिल्म वसन्त हुन नसक्ने भएपछि वाचा तोडियो भन्दै चित्त दुखाएका उनी आफ्नै फिल्मको सुटिङमा व्यस्त भए। यता पूर्णबहादुरको सारङ्गीको प्रचारको कमान्ड लिए विजय बराल, बुद्धि तामाङ अनि मुकुनले।
दुई चर्चित ब्रान्ड भुलभुलैया अनि सिंगमसँग भिड्न तयार हुनु साहसै थियो। दुवै फिल्मको क्रेज नेपालमा छ नै। फिल्म डब्बा हुनसक्ने जोखिम लिएर बिहीबार फिल्म रिलिज भयो। पहिलो दिन ठिकठिकै चलेको फिल्मले पिकअपलिँदै दुवै हिन्दी ब्रान्डलाई टक्कर दिँदै पाएका शोहरु हाउसफुल हुन थालेपछि शुक्रवारबाट प्रकाश सपुत पनि फिल्मको प्रचारमा मिसिए।
निर्माण टिमका एक सदस्यका अनुसार प्रकाश शुक्रवारबाट क्युएफएक्सबाट फिल्मका अन्य कलाकारसँगै प्रचारमा सहभागी भइरहेका छन्। उनी केही दिन पूर्णबहादुरको सारङ्गीको प्रचारमा रहने छन्।
फिल्म वसन्तको सुटिङ सकाएका छन् उनले। त्यसले उनलाई प्रचारमा हिँड्न सहयोग गरेको पक्कै हो। उनलाई दुखेको चित्त बुझाउँदै हलमा हिँडिरहेका कलाकार टिमसँगै हिँड्न फिल्मले पाएको सकारात्मक प्रचारले पक्कै घचघच्यायो।
पहिलो फिल्म फ्लप समान हो उनको। यदि पूर्णबहादुरको सारङ्गी पनि फ्लपको सूचीमा चढेमा उनको वसन्त फिल्मको व्यापारमा धक्का पर्न सक्थ्यो। उनी सकेसम्म आफ्नो लगानीको फिल्म अगाडि पूर्णबहादुरको सारङ्गीको रिलिज रोक्ने प्रयासमा लाग्नुको दोस्रो कारण यो पनि हुनसक्छ। फिल्म चल्यो, यसले उनलाई वशन्त चलाउन पनि सहयोग पक्का हुन्छ नै।
तर विजय बरालको म्याजिकल अभिनय, निर्देशकको मिहेनतले दर्शकले फिल्म रुचाए। फिल्म हेर्न गएका बालकदेखि प्रौढसम्म हलबाट आँसु खसाल्दै निस्किएको दृश्य अनि सकारात्मक समीक्षाले दर्शकको मनमा कौतुहलता बढायो। बिहीबारबाट फिल्मका शोज्हरु हाउसफुल हुन थाल्यो।
शोसंख्याहरु हेर्ने हो भने फिल्मले अहिले ८० हाराहारीमा पाइरहेको छ। जित शो पाएको छ ती हाउसफुल देखिन्छन्। बिस्तारै हलमा टिकिरहेका छक्कापञ्जा ५ अनि १२ गाउँका शोहरु कटेर पूर्णबहादुरको सारङ्गीको बढिरहेको देखिन्छ।
फिल्मबारे जुन खालको माउथ पब्लिसिटी भइरहेको छ अनि जस्तो सकारात्मक प्रतिक्रिया आइरहेको छ यो सोमबारसम्म कायम रह्यो भने अब हलमा शो सङ्ख्या काटिनेको सूचीमा भुलभुलैया र सिंगम पर्न सक्छन्। दर्शक नै ओइरिएपछि हल सञ्चालकले शो सङ्ख्या खुम्च्याएर के बस्लान् र! जुन फिल्मबाट व्यापार हुन्छ त्यही चलाउने त हुन्।
कात्तिक १७, २०८१ शनिबार १६:३३:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।