‘माफ गर्नुहोला, तपाईँले सम्पर्क गर्न खोज्नु भएको सरकार अहिले तिहार मनाउन व्यस्त छ’
धुलिखेल (काभ्रेपलान्चोक) : तिहार, फूल र बत्तीको झिलिमिलीको पर्व। मनभरि हर्ष र उमङ्गको पर्वका रूपमा परिचित तिहारमा काभ्रेपलान्चोकका अधिकांश परिवारको घरमा न फूलको बास्ना छिर्यो न त झिलिमिली नै।
गत असोजको १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढी पहिरोले घरै बगाएका काभ्रेवासीलाई तिहारको रमझमले छोएन यस पटक।
सरकारले राहतका नाममा केही रकम दियो। मृतक परिवारलाई दुई लाख दिएको सरकार पुनर्निर्माणमा मौन छ। स्थानीय तहले लगत सङ्कलन त गरेको छ तर गत वर्षको भूकम्प पीडितले अहिलेसम्म आवाज राहत पाएका छैनन्। काभ्रेका बाढी पीडित पनि सरकारले राहत देला र घर बनाउँला भन्ने आसमा देखिएनन्।
बरु तिहारको रमझम छाडेर केही त बगरमै गच्छे अनुसारको घर-टहरा बनाउन कस्सिएको भेटिए।
रोशी बजारका शङ्कर तामाङ मजदुरी गर्छन्। ढुङ्गा माटोले बनेको आफ्नो दुई तले घर खोलाले बगाएर बगर बनायो। सरकारले घर बनाउन पाँच लाख दिने 'गफ' दिएको छ। तर उनी तिहारको रमझममा पनि मजदुरीबाट जम्मा भएको पैसाको भरमा बाढीले बगाएको घर बनाउन खोलामा ढुङ्गा खोज्न व्यस्त छन्।
सरकारबाट राहत कहिले आउने पत्तै छैन। सरकारी पुनर्निर्माण नकुरी उनी आफ्नो घर आफैँ बनाउन जुटेका छन्। घर नै नभएपछि चाडपर्व खुसीले मनाउने अवस्था नरहेको उनले बताए।
‘घर बनाउन पैसा छैन, छ जनाको परिवारको जीविकोपार्जन गर्नु छ। दूध बेचेर आम्दानी गर्ने भैँसी बाढीले बगायो। अहिले ज्यालामजदूरी गरी अरूको घरमा बस्न बाध्य छौँ, तामाङले भने।राजेन्द्र श्रेष्ठले भित्र्याइसकेको धान र मकै सबै बगाएपछि कोठा लिएर बसेका छन्। दशैँ पनि अर्काको घरमा बिताएको र तिहार पनि त्यस्तै भएको भन्दै स्थानीय तहले विवरण लिएर गए पनि वासको व्यवस्था नभएको बताए उनले।
घर गोठ दुवै बगाएपछि पनौतीमा डेरा गरी बस्दै आएकी पनौती–१२ पचारेका सुमिना श्रेष्ठले वडा र नगरबाट केही राहत पाए पनि चाडपर्वका लागि पर्याप्त नभएको गुनासो गरिन्।
बाढीले भएको जग्गाजमिन सबै बगाएको भन्दै उनले बरु जग्गाको नाप, नक्सा छुट्टाएर दिए आफ्नै टहरा बनाएर बस्ने बताइन्।
अमरबहादुर केसीको बाढीले बगाएर घर र शौचालयको भाग थोरै मात्रै बाँकी रहेको देखाउँदै पाक्दै गरेको धान भित्र्याउन नपाउँदै करिब नौ मुरी धान फल्ने खेतसहित बगाएको बताए।
पनौती नगरपालिका–१२ माथिल्लो रोशी बजारका भवानी केसी मनभरि पीडा बोकेर तिहार मनाउन नसकिएको बताउँछिन्। एक्कासि गएको बाढी पहिरोले घर खेत सबै बगाएर सुन्दर बस्ती उजाड बगर बनाएको छ। बगर बिचमा ढलिरहेको घर देख्दा पीडाले मनमा सताइरहने उनले बताइन्।
‘यहाँ बस्ने ठाउँ छैन, खेती गरेको धान बगाएर थोरै बाँकी थियो, त्यही जोगाउन भनेर आएकी हुँ’, भवानीले भनिन्, ‘अहिले बनेपामा कोठा लिएर बस्दै आएका छौँ।’
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले सुरक्षित बसोबासका लागि सङ्घीय सरकारले सहयोग नगरी सम्भव नभएको बताए। उनले यसका लागि आवश्यक पहल गरिरहेको बताए।
स्थानीयदेखि केन्द्रसम्मले बाढी तथा पहिरो पीडितको राहतका लागि काम गरिरहेको दाबी गरे पनि अझैसम्म क्षतिको विवरण समेत सङ्कलन नगरेको देखियो।
जिल्लाको विकट डाँडापारिस्थित बागमती खोलाको बाढीले सबै बगाएपछि खानीखोला गाउँपालिका–६ चनौटेका तामाङ बस्तीका बासिन्दा बगाएको बस्तीमाथि त्रिपालको आश्रय लिएर बस्दै आएका छन् ।
अस्थायी वासस्थान निर्माणका लागि क्षतिको विवरण आवश्यक पर्ने भएकाले प्रहरी विवरण सङ्कलन गरिरहेको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए। क्षतिको सम्पूर्ण विवरण सङ्कलन भएपछि राहत र पुनः स्थापना प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।
---
पेमा लामा/रासस ( सम्पादनसहित प्रकाशित)
कात्तिक १७, २०८१ शनिबार १५:२५:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।