नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउने
भक्तपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउने बताए। शङ्खधर साख्वाः प्रतिष्ठानले आज शनिवार मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः चोकमा आयोजना गरेको नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण गरेपछि उनले भाषा संस्कृति, सभ्यतालाई जोगाउन व्यक्तिगत र प्रधानमन्त्री दुवै हैसियतमा आफू तयार रहेको बताए।
प्रधानमन्त्री ओलीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न प्रक्रिया अगाडि बढाउने बताउँदै प्रतिष्ठानका केही जायज माग राज्यको क्षमताअनुसार क्रमशः पूरा गरिने बताए।
‘नेपाल भाषालाई पाठ्यक्रममा ऐच्छिक विषयका रूपमा समावेश गर्न माग गर्नुभएको छ, त्यो पूरा गर्न नसकिने माग हो जस्तो लाग्दैन, मैथिली, भोजपुरी जस्तै यसलाई पनि ऐच्छिक विषयका रूपमा पाठ्यक्रम समावेश गर्न सकिन्छ । निर्णय नगरी यहाँ मैले बोल्न मिल्दैन’ उनले भने।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शङ्खधर साख्वाःले त्यतिबेला नै देशभक्ति र राष्ट्रियताको परिचय दिएको बताए।
कात्तिक १७, २०८१ शनिबार १४:१०:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।