नागढुङ्गा सहकारीको पाँच करोड हिनामिना गरेर अध्यक्ष फरार, कोषाध्यक्ष पक्राउ

नागढुङ्गा सहकारीको पाँच करोड हिनामिना गरेर अध्यक्ष फरार, कोषाध्यक्ष पक्राउ

पर्वत :  फलेवास नगरपालिका–१ कार्किनेटामा सञ्चालित नागढुङ्गा बचत तथा ऋण सहकारी संस्थाको झन्डै पाँच करोड हिनामिना भएको छ। ग्रामीण क्षेत्रका नागरिकले सहकारीमा बचत गरेको चार करोड ८० लाख हिनामिना भएको हो।

रकम हिनामिना भएका बचतकर्ताको उजुरीपछि सहकारीका कोषाध्यक्ष दीर्घनारायण शर्मा पक्राउ परेका छन्। तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकामा सहकारीका अध्यक्ष गिरीनारायण श्रेष्ठ र व्यवस्थापक अनिलबहादुर केसी फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए।

सहकारी रजिस्टारको कार्यालय गण्डकी प्रदेशले गरेको छानबिन अनुसार १९ जना प्रतिवादी छन्। उक्त सहकारीमा ६५० हाराहारीमा बचतकर्ता रहेको प्रहरीले जनाएको छ। सहकारी रजिस्ट्रारको कार्यालयले वित्तीय विश्लेषण गरी हिनामिना भएको रकम एक वर्षभित्र मिलाउन समय दिएको थियो।    

कृत्रिम खातामार्फत कारोबार गर्ने, बचत र शेयर रकमको सफ्टवेयरमा हिसाबै नदेखाउने र व्यक्तिगत रूपमा खर्च गरेर गाउँलेको रकम हिनामिना गरी फरार हुन थालेपछि प्रहरीले तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

गाउँलेले श्रमपसिना गरेर, बाख्रापाठा, अन्नपात बेचेर र विदेशमा कमाएर राखेको पैसा व्यवस्थापक तथा सञ्चालकले हिनामिना गरेका हुन्। व्यवस्थापक केसी दुई महिना अगाडि नै फरार भएका थिए भने अध्यक्ष गिरीनारायण श्रेष्ठ केही दिन अघिदेखि फरार भएका हुन्।    

प्रहरी नायब उपरीक्षक विष्टले अन्य सञ्चालकविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्ने तयारी भएको बताए। विसं २०६९ माघ ३ गते डिभिजन सहकारी कार्यालय बागलुङमा दर्ता भई सञ्चालनमा आएको सहकारी डुबेपछि करिब ६५० बचतकर्ता समस्यामा परेका छन्।

कात्तिक १६, २०८१ शुक्रबार १४:१०:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।